नेपालीको तिहार पर्व: दृष्टि र अनुभूति

गोविन्द शाण्डिल्य पोष्ट-दिलिप घिमिरे · माघ ११, २०८१ ६:४८ AM
Cover Image for News

निबन्ध 

नेपालीको तिहार पर्व: दृष्टि र अनुभूति 
                     - गोविन्द शाण्डिल्य 

     सनातन संस्कृति, अझ भन्नुपर्दा हिन्दू मतावलम्वीहरूको प्राचीनतम्  एवम् ‌महत्वपूर्ण पर्व हो तिहार,दिपावली अथवा प्रकाश‌ाेत्सवका रुपमा यसको महत्व र लोकप्रियताले आजभोलि समग्र विश्वलाई नै झन झन आकर्षित गर्दै आएको बुझिन्छ।

भारत,नेपाल,भूटान,मरिसस,इन्डोनेसिया जस्ता हिन्दू बहुल राष्ट्र अतिरिक्त अमेरिका, इङ्गल्यान्ड, इटाली, फ्रान्स, जर्मनी, सिंगापुर मात्र नभएर आरबीय तथा अफ्रिकीय मुलुकमा पनि त्यहाँका सनातनी समुदायका साथै स्थानीय इसाई, इहुदी , इस्लाम जस्ता गैर सनातनी समुदायले समेत यस प्रकाश उत्सवप्रति गहिरो आग्रह र अभिरुचि राख्दै आएको बुझिन्छ। हो पनि। प्रकाश या उज्यालो भन्नु नै ज्ञानको प्रतीक हो।" तमसोमा ज्योतिर्गमय"को यस पारम्परिक प्रवाहमा प्रज्ञा छ।प्रशान्ति छ। आनन्द,उत्साह, उमंग र असीम आशावादीता छ।


        तिहार पर्वको पौराणिक आख्यान पनि निकै रोचक र अर्थपूर्ण रहेको बुझिन्छ। जुन कथा यमराज, यमुना र चित्रगुप्त सँग जोडिएको छ  यसरी - भगवान् सूर्यदेवका सन्तान यम र यमुना। यम यमलोकका मुख्य दण्डाधीश 'यमराज'! दिदी (बहिनी ?) 'यमुना ' नीरव गोलोकवासीनी ,नदी स्वरूपा। युगौंदेखि कसैसँग कसैको थाहा पत्तो ,आदान प्रदान केही छैन। आफ्नो कर्मव्यस्थताबीच एकचोटि अचानक यमलाई आफ्नी चेली यमुनाको याद आयो। उनले लगत्तै आफ्ना दूतहरूलाई यमुनाजीलाई खोज्न पठाए। तर दूतहरूले अनेक वर्षसम्म प्रयास गर्दा पनि यमुनाको केही पत्तो लाउन सकेनन्। आखिर यमलोक छोडेर यमराज स्वयं यमुनाजीको तलासमा निस्किए। धेरै सोधखोजपछि गोलोकमा यमुनाको पत्तो लगाएर आफ्नी बहिनीका घरमा वास बस्न पुगे।यसरी आफ्नो दाईलाई अचानक भेट्दा यमुना अत्यन्तै हर्षित भइन् र दाइको दिव्य आरती गर्दै टिका लगाइ माला पहिराएर अलेख शुभाशिर्वाद प्रदान पूर्वक नाना मेवा मिष्ठान्न र अनेकौं स्वादिष्ट व्यञ्जनहरूले भव्य आतिथ्य प्रदान गरिन। युगौंको अन्तरालमा आफ्नी बहिनी भेटेर गद्गद् भएका यमराज बहिनीको पनि अनुरुप स्नेह- सत्कारले झनै प्रसन्न हुँदै यमुनालाई कुनै बर माग्ने आग्रह गरे। यमुनाले हरेक कार्तिक शुक्ल पक्षको द्वितीया तिथिका दिन यमुनामा(नदी)मा स्नान गरी आफ्नी दिदी - बहिनीका हातको टीका लगाउने कुनै पनि दाजुभाइले यमलोकको दैलो टेक्नु अथवा यातना भोग्नु नपरोस् भनी विन्ती गर्दा यमले "तथास्तु" भने। अनि यहींबाट हरेक कत्तिक कृष्णपक्ष त्रयोदशीदेखि कार्तिक शुक्लपक्ष द्वितीयासम्म यमपञ्चक मनाउने र भाइ टिका लगाउने प्रचलन प्रारम्भ भएकाे मानिन्छ। अनि यही नै लोकप्रिय नेपाली‌  पर्व तिहारको आरम्भ बिन्दु र समग्रता पनि हो।


    यमपञ्चक तिहारका पाँच दिन: प्राचीन कथा जे जस्तै भए पनि व्यवहारिक दृष्टिकोणले हेर्दा तिहार एक प्रकृति र कृषिप्रधान पर्व पनि हो। प्रकृति, कृषि र मानवीय मूल्य मान्यताको भरमार यहाँ देख्न पाइन्छ। तिहारको प्रथम प्रवेश यानि कार्तिक कृष्णपक्षको त्रयोदशीका दिन काग तिहार मनाइन्छ। वैदिक शास्त्र र सभ्यतामा कागको ठुलो महत्व छ। विशेषतः मृतकको काजक्रिया,सुद्ध्याँइ, श्राद्ध आदिमा निर्दिष्ट केही मन्त्रहरूको उच्चारण सहित कागलाई स्मरण, आह्वान र सम्मान गर्दै भोजनादि परिवेशन गरिन्छ। हुन पनि निकट अतीतसम्म संसारका निकृष्टतम फोहोरमैलाको निरन्तर परिशोधनका साथै विशिष्ट वार्तावाहकका रूपमा कागको महत्व कम थिएन। 

ठाउँ विशेषमा आज पनि छँदै छ। यसर्थ प्रकृति र मानवको अनन्य हितैषी कागको पूजनबाट नेपाली समाजमा तिहारको प्रारम्भ हुन्छ भने यसै तिथिलाई अन्य ठुलो सनातनी समुदायले "धन तेरस" का रूपमा पालन गरेर सुन-चाँदी, हीरा - मोति,तामा - पीतलजस्ता मूल्यवान धात द्रव्यहरूको किनमेल गर्नमा व्यापक उत्साह देखाएको पाइन्छ। 


   दोस्रो दिन - नरक चतुर्दशी, कुकुर तिहार। मानव सभ्यतामा कुकुरसँगको सहावस्थान निकै नै पुरानो हो। अनन्यतम् प्रभुभक्तका रूपले चिनिने कुकुरको सम्मान गर्नु निकै गभीर मानवीय सोच र संवेदनाको कुरा हो। कुकुरलाई नियमानुरूप स्नान,पूजन, माल्यार्पण गर्ने बीँडो आजसम्म एकमात्र नेपाली संस्कृतिले थामी ल्याएको छ। यो आफैंमा एउटा गौरवयोग्य र उदाहरणीय परम्परा हो लाग्दछ।


     तेस्रो दिन औंशी। गाई पूजन। दही,दूध,घिउ,गोबर,गोमुत्र(पञ्चगव्य) अतिरिक्त अन्य धेरै कारणहरूले गर्दा वैदिक हिन्दू संस्कृतिमा मातृ मात्र नभएर साक्षात देवी लक्ष्मीको मर्यादा मण्डित गौ माता र गोवंशको गरिमा बखानेर सकिन्न।अतह: यस दिन गाईको सामुहिक रूपमा विशेष पूजा अर्चना गरिन्छ भने यसै दिन बेलुकी एवम् मध्य रात्रीमा धनधान्य र सुख सम्पदाकी देवी महालक्ष्मीको पनि गभीर आस्था सहित पूजा एवम् उपासना गरिन्छ।अनि कन्याकुमारी अथवा अविवाहिता तरुनीहरूद्वारा भैलि खेल्ने प्राचीन परम्परा छ।तर आजभोलि नाबालिक कन्या कुमारी देखि लिएर वृद्धा आमा, हजुरआमाहरू झन दोब्बर उत्साहले भैलि र देउसीमा तम्सिँदै आएको देखिन्छ भने यदाकदा पुरुषवर्गले पनि दुई चार भाइ मिलेर भैलि भट्याइरहेको देखिन्छ । सायद यो समयकै आह्वान हो!... 

     चौथो दिन , कार्तिक शुक्ल प्रतिपदा - हलि तिहार। मानव सन्ततिलाई असभ्य,अघरी, शिकारजीविबाट कृषिजीवि हुँदै तथाकथित आजको आधुनिक सभ्यताको यो स्तरसम्म आरोहण गर्न गराउनमा गो वंशको अवदान अतुलनीय छ। पञ्चगव्यकी जननी गाइको पूजन र महिमा मण्डन गरेर मात्र ढुक्क बस्न सक्दैन सुसभ्य सनातनी समाज।हलो जोत्नका साथ साथै अजस्र भारी तानेर सभ्यताको शिखर समीप पुर्याउने गो वंशको पुरुष प्रजाति देवादिदेव महादेव शिवका वाहन स्वरूप नन्दी नाम ख्यात गोरुको पनि स्नान,पूजन र माल्यार्पण सहित  शाही आप्यायान हुन्छ।अनि , बलिराजाका आख्यानका आधारमा छोरा मानिसहरूले देउसी खेल्छन् जुन क्रम भोलिपल्ट द्वादशी तिथिको अन्तिम घडी अथवा स्थान - काल -पात्र र परिस्थिति अनुसार अलि पछिसम्म पनि जारी रहन्छ।भैलिमा देखिएको विचलन अनुरुप आजभोलि नारी समुदायले पनि धुमधामका साथ देउसी खेल्दै आएको देखिन्छ।


      पाँचौं दिन - भातृ द्वितीया। दिदी बहिनीद्वारा दाजुभाइको पूजन, भाइ टिका, आशीर्वाद,आप्यायन, दक्षिणा - उपहार , देउसी, सामुहिक नाचगान,जुवा - तास आदिको रमाइलो पछि भोलिपल्ट बिहान तिहार पर्वको विधिपूर्वक बिदाई। थुलमूलमा नेपाली समाजमा प्राचीन कालदेखि हालसम्म चलिआएका तिहार सम्बन्धि मूल सांस्कृतिक मूल्य - मान्यताहरू यिनैं हुन्।


       विचलन र विकृति (?): उल्लेखित परिपाटीहरू नेपालीको महान् चाड तिहारको परिप्रेक्ष्यमा आआफ्ना ठाउँमा ठिकै छन्। उत्कृष्ट छन्।महत्‌ छन्। तर आजको आधुनिक समाजमा बदलिँदै आएको जीवन शैली र अन्य कारकहरूले गर्दा विगत केही दशक यता गोर्खा समुदायले परम्परागत रूपमा मानिल्याएको यम पञ्चक यानि तिहार पर्वमा धेरै बिचलन र विसंगति र जटिललताहरू पनि देखापर्दै आएका छन् जुन कटुसत्यलाई हामी थाहा नपाए झैं बुझपचाउन सक्छौं । किन्तु, अस्वीकार गर्न भने कुनै उपाय देखिन्न।


 उदाहरण स्वरूप एक त आज प्राकृतिक तथा भौतिक प्रतिकुलताले कागको संख्या घट्दै गएको छ। अर्कोतिर प्रखर कर्म व्यस्थता अनि मोबाइलका फेसबुक, ह्वाट्सएप, टिकटकजस्ता मायावी सञ्जालमा रत्तिएको युवापुस्ता र आधुनिक नारी समाजले पत्तै पाउँदैनन् काग तिहार कहिले आएर कहिले गयो। नगर केन्द्रित समाजमा गाइ गोरुको झमेला बिहोर्ने जाँगर र फुर्सदको अभाव नौलो होइन। जसले गर्दा गाई पूजा र गोरु पूजाको संकेत केवल क्यालेन्डरमा झुन्डिएर सामाजिक सञ्जालमा झुत्ति खेल्न पुग्दैछ।सहर त सहर गाउँ तर्फ पनि गाइ पालनमा मानिसको अभिरुचि निरन्तर घट्दै गएको परिलक्षित हुन्छ। अँ,सहर र यसका उपकन्ठीय क्षेत्रमा हाम्रा ठुलाठालु र तथाकथित आभिजात्य श्रेणीमा पर्ने र पर्दै गरेको आत्मानुभव गर्ने परिवारले कुकुर भने सेखासेखले पाल्दै आएका छन् । झुठो होइन दुईमाउ कामधेनु पाल्दा लाग्ने मासिक लगानी भन्दा बढी खर्च गरेर एउटा गतिलो कुकुरको सेवा सत्कार गर्ने सौकिनहरूको उपस्थिति दिनदिनै बाक्लिँदै छ। यसरी  प्रभूभक्त कुकुर र कुकुर सेवक मानिसको बढोत्तरीलाई नियाल्दा अदूर भविष्यमा कुकुरले महान् यम पञ्चकको सिंहभाग सहुलियत बोनस सहित हासिल गर्ने सम्भावना माथि ठोकुवा लाउन सक्ने स्थिति देखिन्छ। पवित्र भाइ टिका प्रति दिदीबहिनी र दाजुभाइको पारस्परिक प्रेम, आस्था र आकर्षणमा त्यति शिथिलता हाम्रो समाजमा अहिलेसम्म देखिएको छैन्।यो निश्चय पनि सकारात्मक पक्ष हो हाम्रो संस्कृतिका निम्ति।


     समग्र तिहारका अवसरमा अन्तिमका तीन दिन गाइतिहारे औंसीदेखि भाइटिकाको दिनसम्म गरिने मानवीय रमाइलोको पक्षमा भने केही जटिलता भित्रिँदै गएको हो कि जस्तो मलाई भान हुँदैछ।किनकि गाइतिहारे औंसीका दिन साँझको लक्ष्मी पूजन पछि कन्या कुमारी र अविवाहिता तरुनी छोरी चेलीले भैलि खेल्ने प्राचीन चलन हो। भैलिको महत्व सामाजिक, सांस्कृतिक मात्र नभएर धार्मिक तथा आध्यात्मिक दृष्टिले पनि उत्तिकै प्रतिष्ठित मानिन्छ।तर तिहार आउनु सात दिन अघिदेखि आपसी सरसल्लाह र रिहर्सल गरेर तैयार भएका गाउँका सबै छोरी - बुहारी देखि लिएर जेठी- बाठी आमा, हजुरआमाहरूसमेत साझ पर्न पाउँदा नपाउँदै आफ्नो समुह लिएर भैलि खेल्न निस्कन्छन्। कसैको रोकटोक अथवा सरसल्लाह, सुझाव - परमर्श आजको सर्वाधुनिक नारी समाजले मान्दैन।कडीकडाउ त गर्नै मिलेन। धेरै बोल्दा संस्कृति विरोधी र नारी स्वतन्त्रताको दुश्मनको आरोप लाग्न कत्ति बेर लाग्दैन। बेर लाग्दैन सामाजिक तथा कानुनी विधानले कठोर दण्डित हुन पनि। डराउनु पर्छ।यो‌ मध्ययुग होइन,एकविंश शताब्दी हो।


 नारीको अग्राधिकार सर्वत्र स्वीकृत हुँदैछ,भलै अमेरिका झैं सुपर पावर मुलुकमा आजसम्म कुनै महिलाले राष्ट्रपति जस्तो सर्वोच्च पदमा विजय हासिल गर्न कठिन परिरहेको किन नहोस्। यो त हो प्रसिद्ध जम्बू द्वीपस्थ भारतवर्ष।जननी लोकतन्त्रकी। धेरै कुरा सोचेर घरका वृद्ध , रोगी र शारीरिक रूपमा अक्षम पुरुषले घरमा रातभरि आउने भैलि र देउसि टोलीलाई स्वागत सत्कार र दान - दक्षिणको जिम्मेवारी वहन गर्न वाध्य बन्छन। किनकि युवा पुरुष पुस्तालाई पनि तास - जुवा अथवा भैलि/देउसी खेल्ने विशेष अधिकार तिहारले दिएकै हुन्छ। मोबाइल, टिभि, कम्प्युटर र सामाजिक सञ्जालको अधिकार त जन्मसिद्ध नै भैहाल्यो अचेल। अनि बृद्ध र व्यवहारिक बन्धनमा आबद्ध हरूले जिम्मेवारी नलिएर धर ? विचित्र भारत खण्ड। विचित्र भारतीय संस्कार संस्कृति! उदेक पनि लाग्छ। प्रतिगामी कहलाइँन सक्छ,भनिहाल्न त नमिल्ने हो।तर पनि दुस्साहस गरेर बोल्नु पर्दा सनातन संस्कृतिले दान धर्मको मूल अधिकार नै मातृ समाजलाई दिएको छ। साधुसन्त सबैले मातृ तथा गृहलक्ष्मीहरूबाट दान स्वीकार्छन।

सीताले ससुरा दशरथलाई गयामा प्रतक्ष्य पिण्ड दान गरिन्।दुश्मति रावणले छद्मरूपमा वनवासीनी सीतासँगै भिक्षा माग्यो।किनकि यही परम्परा थियो। अरु त अरु उपनयनमा गुरुकुलमुखी बाल कुमारहरूले "भगवती भगवती भिक्षाम् देही भन्दै आफ्ना मातृसमुहमा भिक्षा याचना गर्दछन्। यस्ता धेरै धेरै उदाहरण र गौरवमय प्रथा - परम्परा भएरै होला यदाकदा कुनै संस्कृति सचेतक "बिहु नाच समुह " र कतिपयले  हामी पुरुष वर्गले दिएको अपूर्ण दान हम्मेसि लिँदै लिन्नौ भनेको पनि प्रत्यक्ष सुनेको छु। यी सुने जानेका कुरा मात्र हुन्।तर भोगेका असल कुरा के परे भने घरको जिम्मेवारी सकिनसकी लुरुक्क सम्हालेर बस्दा राति नौ बजेतिर एकहुल ठिटी केटीहरूको समुह आएर स्वर मिलाएर दोहोर्याइ तेहेर्याइ गाउँन थाले " भैलेनी आयौं आँगन ,गुन्यू चोली माँगन" !... मनमनै सोचेँ यो भैलि पर्व मुख्यत महिलाले महिलालाई सम्मान गर्ने पर्व रहेछ। आफ्नो सुत्ने कोठाको कुनामा रहेको सानो टेबलमा दशैं देखि तिहारसम्म विभिन्न उद्देश्यले भेला भएका नयाँ साडीको निकै ठुलो खात पनि झलक्क देखें। अनि मनमा कुरा खेलाए- यी भैलि‌नीहरू लक्ष्मीदूत या त साक्षात लक्ष्मी रहेछन्। यिनीहरूलाई गृहलक्ष्मीहरूले वस्त्र - अलङ्कार पहिराएर सेवा सत्कार गर्नुपर्ने रहेछ।

 यसोगर्दा सायद गृहस्थको धेरै सम्मान बढ्नुका साथै यिनीहरूबाट प्राप्त आशीष पनि छिट्टै फलीभूत हुन्थ्यो झैं मेरो पुर्ख्यौली आस्था रगेलिएको चेतना जागृत भयो।तर विफल ।कन्या कुमारीलाई इच्छा गरेर पनि म गुन्यू चोली फेराउन सक्दिनँ।यो छोरामन्छेका लागि असम्भव, लाजमर्दो अनि डरमर्दो काम हो। नीति विरुद्ध काम हो।आखिर एउटा थालमा थोरै चामल र केही रकम हालेर टाटो मारें। यही क्रम रात भरी चल्यो।

 भोलिपल्ट बिहान जसोतसो गोरु पुजेर थोरै केही अति जरुरी कामहरू निपट्याएर पेट पूजनपछि हिजो रातभरि भैली खेल्ने घरका महिला सदस्यहरू भरे त सात बजे अघि नै देउसीमा भेला हुनैपर्छ नत्र गाउँ आधि पनि हुँदैन भन्दै टन्न सुते।हलि‌ तिहार हो आज। असलकै देउसी खेल्ने दिन। बिहान नौ बजेदेखि चलेको धुइरो। चल्यो,चलिरह्यो दिनभरि, रातभरि। भोलिपल्ट भाइटिका। निकै टाढाका चेलिबेटी।कसोकसो औपचारिकता पुरा गरेर साँझमा घर आइपुग्दा नपुग्दा थाप्लोमा उही जिम्मेवारी,उही क्रम।किनकि देउसी सकिएको छैन। घरका महिलाहरू संलग्नित समुहले गाउँ छिचोलि सकेकै थिएन। भोलि उज्यालो नहुञ्जेलसम्म छिचोलिएला जरूर!घरमा रमाइलो गर्दै आउनेहरूको ख्याल आफुले राख्न नसक्नु असामाजिकता हो।यसो बुझें, माथ्ला घर दाहाल जेठ्दाइ, तल्लाघरे माष्टर भाइ,तल बस्नेत बा, अधिकारी बुडीबाउ,माइला काका, गाउँबुढा साँइला ,धेरैको हाल मेरैजस्तो रहेछ! माझगाउँले पौडेल भाइ, कार्की भाइहरू त झन् लगातार पन्ध्रवर्ष अघिदेखि यही नीतिका विशिष्ट उदारवादी र उदाहरणीय व्यक्तित्वका श्रेणीमा गनिँदै आएका रहेछन्।अरु त अरु घरमा श्रीमान नहुने अथवा सबै पुरुष सदस्य तास-जुवा या भट्टी पसल तिर अल्मलिने या टाढा देउसी खेल्न  जानेहरूका गृहिणीहरू त "आ.. वर्ष दिनको चाढ पो हो त , अहिले रमाइलो नगरे कहिले गर्ने ''भन्दै घरमा तीनै रात ताल्चा ठोकेर र कसैकसैले हलि खेतालालाई राखेर रमाइलो मनाउन हिँड्दा रहेछन्। सोच्दछु, यो पनि त राम्रै हो,घरको कौडी पनि खोट्टिएन ।

 आफुले मस्त रमाइलो गर्ने रहर पनि वाधित भएन। हुन त यो पनि सत्य हो कि भैलि कुमारी मात्र होइन, समग्र नारी मात्र होइन पुरुष वर्गले पनि धेरै दिनअघिदेखि खेल्दै आएका छन् , त्यसरी नै देउसी पनि सामुहिक रमाइलोका रूपमा नारीहरूले पनि खेल्दै आएका छन् ।के नारी के पुरुष सबैले काँधमा काँध मिलाएर प्रगतिशील बन्ने समयको माग छ। यो मागको परिपन्थी आजको गोर्खा समाज छ जस्तो लाग्दैन। तर संस्कृतिका आधारभूत मूल्य मान्यता लाई नै तिलाञ्जलि दिएर तथाकथित हक अधिकारको होडबाजी गर्नु सामाजिक तथा सांस्कृतिक भविष्यकै निम्ति कति जायज हो , त्यो चिन्तनीय छ। फेरि कताकता चित्त बुझ्दैन। पुनः पुनः सोच्दछु 'के यो हाम्रो महान् संस्कृतिमा महान् विचार र महान् परम्पराको नवीन संयोजन नै हो त?' हेरौं,समयले समयमा सही उत्तरको अन्वेषण गर्दै सही दिशा आफैं निर्णय गर्ला ।


     संस्कृति कै प्रसंगमा, सिँदुर र पोते नेपाली नारीहरूको मात्र नभएर समग्र नेपाली संस्कृतिकै विशिष्ट एवम् सम्वेदनशील उपादान हुन्। यी शृङ्गार साधनहरू प्रयोगको थालनी विशेष वैदिक एवम् सामाजिक विधिद्वारा हुने प्रचलन छ। तेत्तीसकोटि देवदेवी आह्वान गरिएको यज्ञ तथा अग्नि कुण्डको संयुक्त परिक्रमा गरेर जन्ती र घरगाउँलेहरूको उपस्थितिमा मुख्य पुरोहितको विधिवत् आज्ञानुसार निर्दिष्ट लग्नमा बेहुलाले बेहुली (कन्या/स्त्री)लाई  परम्परा अनुरुप हरियो पोते पहिर्याउँछ र क्रमानुसार रातो सिँदुर हाल्छ। बिहेमा पहिरिएको पोते पहिर्याउनेवाला अर्थात् पतिको मृृत्युमा मात्र खोलिन्छ। अन्यथा पोते खोल्नु अथवा खुसीले खोल्न र लाउन नपाउने चलन नै हामीलाई थाहा छ।किन्तु आजभोलि धेरै शिक्षिता एवम् तथाकथित आधुनिका विवाहिताले सिँदुर पोतेको  पारम्पारिक लोकमान्यताप्रति यथेष्ट उदासीनता प्रदान गर्दै आएको विपरीत  विभिन्न सांस्कृतिक बाहनामा अविवाहिता नारी र यदाकदा विधवाहरूसमेत अति गर्वकासाथ तिलहरी ,नौगेडी, मङ्गल सूत्र इत्यादि गरगहनाका साथमा पोते परिधान गर्न आग्रही देखिन्छन्। विभिन्न लोकनृत्य, आधुनिक नृत्य, भानुजयन्ती,तीज समारोहरूमा यो दृश्य प्रत्यक्ष भइआएको छ‌ भने यमपञ्चकको भैलि एवम् देउसी समुहमा पनि विशालकाय दोकाँधे तिलहरी र नौगेडीमा गाढ हरियो पोते अति हर्षित र गर्वित मुद्रामा पहिरेर  नाच्दै गाउँदै हिँड्ने कन्या कुमारी र अविवाहित नारीहरू प्रसस्तै देखिन्छन्।

 देख्दा सबैलाई राम्रो लाग्छ। राम्रो लान्नु स्वाभाविक हो।हुन त लोकतन्त्रमा कसैको व्यक्तिगत अभिरुचि र लुवाइ खवाइको स्वतन्त्रता माथि प्रश्न उठउनु  अनुचित हो।असलमा  कसैको शृङ्गार परिपाटीको आह्रिस गर्न चाहेको पनि होइन।अपितु विश्व प्रसिद्ध गोर्खा जातिको मौलिकतम् सांस्कृतिक मूल्य मान्यताको विषयमा खुलमखुल्ला लापरबाही हुनु सायद त्यति शुभ संकेत होइन होला कि भन्न खोजेको मात्र हो।घोत्लिँदै जाँदा कतकता खिन्नता जाग्दछ।विद्वानजरू भन्दछन्  संस्कृति भनेको बग्दो पानी हो। दीर्घ प्रवाहको कुनै मोडमा पानीको रङ  बद्लिन सक्छ।हुन सक्छ आयतनमा तलमाथि पनि।तर यसो भन्दैमा अनन्य मौलिकताको विसर्जन अहिल्यै स्वीकार्न गोर्खा चैतन्य वाध्य छ त? कि आवश्यक छ केही चिन्तन मनन् र व्याख्या विश्लेषणको पनि ?


   ‌‌ तिहारकै रमाइलोका निहुँमा तास जुवा खेलेर घरपरिवारलाई  ऋणमा चुर्लुम्मै डुबाउने अभिभावक र युवाको कमी मेरा छरछिमेकमा छैन। धेरै टाढासम्मको खबर मैले नराखेको भए पनि यो महामारीले सताएको भूगोल पक्कै ठूलो छ। भूक्तभोगीहरूले उपलब्धि गरिआएकै छन्  अकथ्य मर्म वेदना !
     ‌हो, चाडपर्व बिना मानव सभ्यता नीरस एवम् उर्जाहीन‌ बनिन्छ।यसर्थ हरेक चाडबाड सक्दो उत्साह र उमंगसाथ मनाउनै पर्छ। उत्तिकै जरुरी छ आधुनिकताको सुहाउँदो संजोजन पनि। अँ, यस्तै आधुनिकीकरण ,समयको आह्वान, परिवेश परिस्थितिगत वाध्यता या त कसैको अनुकरणकै होडमा‌‌ किन नहोस् आजभोलि कताकतै ( विशेष गरि असमतिर) तीहार सम्मेलन मनाउने प्रचलन पनि बढीरहेको छ।यस्ता सम्मेलनहरूले  जातिय पर्वलाई समारोहीकरण गर्नका साथसाथै हाम्रा महान् चाडपर्वहरूमा मूलभूत सांस्कृतिक ढाँचाको विरुपीकरण , विकृतिहरूको प्रवेश र  प्रभावलाई यथासम्भव नियन्त्रणको प्रयास गर्दै  लान सके  नेपाली समाज र संस्कृतिको मौलिक वैशिष्ट्यमा सजिलै आँच पर्ने  थिएन होला । अनि यथार्थमा यही नै आजका हर समाज सचेत समुदायको  आकाङ्क्षा र उत्तर दायित्व पनि‌  हो भन्ने कुरामा द्विमत रहन नसक्ला।
    ‌             -*- -*-

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
स्टेटस सिम्बल, मोनालिसाका आँखा र आह्रिसमानेको खसी
स्टेटस सिम्बल, मोनालिसाका आँखा र आह्रिसमानेको खसी
रुद्र बराल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २८ जनवरी २०२५