गाउँ जाने बाटो

कवि-विराट किराती पोष्ट-दिलिप घिमिरे · असोज २, २०८३ १०:५९ AM
Cover Image for News

कविता
गाउँ जाने बाटो
                    ✍️ विराट किराती
धेरै वर्ष भएछ
छोडेर हिडेको गाउँ
आज फर्कदैछु ! 

छोडेर हिड्दा
छोडिदो रहेछ घर
आप्पा-आमा
श्रीमति
छोराछोरी
साथीसंगी/आफन्त अरू थुप्रै - थुप्रै । 

घर छोड्दा
मन भारी भएकै हो
सम्हालिएर हिड्नुको विकल्प थिएन
हिडेँ
हिड्नु त छदैथ्यो। 

लामो श्वास फेरेपछि
चालेको हूँ पाईला
एक
दुई
तीन ... क्रमश
अगाडि बढी रहे । 

भञ्ज्याङ छोड्नै लाग्दा
मन बतासियो पर परसम्म !
चौतारीमा बसेर गमे !
यहीँ ठाउँमा कति तरूनी तन्नेरीहरूले            भाका बसे होलान्
यहीँ ठाउँमा कति परदेशीहरूले                    आँशु झारे होलान्
यहीँ ठाउँमा कति पुर्खाहरूले                      खुईया मारे होलान् 

भञ्ज्याङ कटेर माथि पुगेपछि
एकपल्ट हेरे धित मरूञ्जेल गाउँ । 

गाउँ साच्चै मनमोहक छ। 

गाउँबाट हिड्ने
एक्लो हैन म
बस्तीका प्राय: युवा/युवतीहरू                    मजस्तै नै हिडेका छन्
सुखको सपना पालेर । 

थाप्लो मा पृथ्वी जत्रै भारी बोकेर
दु:खको महासागरमा हेलिदै -हेलिदै
आई पुगेको हूँ - यो विरानो मुलुकमा। 

कामको चाप
थकानको अनुभूति
गाउँको संझना
र सधैं लाग्ने बाडुल्की माझ गुज्रिरहेछ          -समय । 

मान्छे नै मेशिन
मेशिन नै मान्छे झैं लाग्ने
यो ब्यस्त मुलुकको उत्तरी ध्रुवबाट
प्रतेक घुड्की आँशुले मेट्छु
भेट्छु मुटु विहीन मष्तिकहरूलाई । 

उता, गाउँ जाने बाटो
गाउँलेहरू मिलेर बनाउँदैछन् रे!
खबर सुन्छु
मनै हिरिक्क हुन्छ। 

कहिले अर्म-पर्म चल्छ, गाउँमा
कहिले अैचो-पैचो चल्छ, गाउँमा
कहिले आलो-पालो चल्छ, गाउँमा।
कति आत्मियता
कति हार्दिकता
उडी पुगी जाउँजस्तो भैजान्छु। 

यता, दुखम-सुखम कोसँग बात गर्नु?
बिरामी हुँदा कोसँग साथ माग्नु?
साच्चै! दुख्दो रैछ
साच्चै! गल्दोरैछ पार गर्नै पर्दा
जीवनका यी अप्ठ्यारा गल्ली /गल्छेडाहरू ! 

अस्तिमात्र एउटा साथीको हात च्याप्यो-      मेसिनले धन्न! दिन बलियो
ज्यान बच्यो
हात नहँदो हो त कति नमिठो हुँदो हो जीवन?
हातले नै त समाउँनु पर्ने
जसरी सिकाउँछ
त्यसरी समाउँछ
समयको पोया र बाट्छ जीवनको लय। 

हो, संझनाकको घिर्लिङमा-
चल्छ बतास
आउँछ हुरी
दगुर्छ आँधीबेहरी
जस्तो कि, देउराली पुग्छ - मन
भञ्ज्याङमा सुस्ताउँछ
बेँसी झर्छ
उकाली/ओराली गर्छ
हाक्पारे, पालाम, ख्याली,                        उधौली-उभौलीमा रमाउँछ
प्रिय/अप्रिय खबरहरूमा अल्झिरहन्छ।

रै त, धेरै वर्ष भएछ
छोडेर हिडेको गाउँ
आज फर्कदैछु।
©
# १६ कार्तिक २०८० ,झापा ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
✍️ टंक विकल्प पोष्ट-दिलिप घिमिरे - बिहिबार १० सेप्टेम्बर २०२६
सम्झौता र मौनता
सम्झौता र मौनता
Admin - बिहिबार १० सेप्टेम्बर २०२६
भरोसा त मलाई
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६
तिमीभित्रको उज्यालो
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६