‘लाइफटाइम लेगसी एन्ड लिडरसिप अवार्ड २०२६’ बाट भुटानी समुदायका गुरुङ र पोख्रेल सम्मानित
झापा ३० भाद्र/भुटानी समुदायका डा. कुमार गुरुङ र डा. नारद पोख्रेललाई भुटानी-अमेरिकी समुदायमा शिक्षा, उद्यमशीलता, मानवीय सेवा, सामाजिक नेतृत्व, साहित्य तथा सांस्कृतिक जागरणका क्षेत्रमा पुर्याएको योगदानका लागि ‘लाइफटाइम लेगसी एन्ड लिडरसिप अवार्ड २०२६’ प्रदान गरिएको हो।
नेब्रास्काको ओमाहामा आयोजित भुटानी संयुक्त वार्षिक सम्मेलन २०२६ का अवसरमा उनीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘सर्टिफिकेट अफ अनर’ सहित उक्त सम्मान प्रदान गरिएको कार्यक्रम संयोजक भीम गुरुङले बताए । 
सम्मान ग्लोबल भुटानीज अर्गेनाइजेसन (जीबीओ), ग्लोबल भुटानीज लिटरेरी अर्गेनाइजेसन (जीबीएलओ), भुटानीज अमेरिकन म्युजिक एसोसिएसन (बामा), ग्लोबल फाउन्डेसन (जीएफ) र भुटानीज समाज नेब्रास्का (बीएसएन)का तर्फबाट संयुक्त रूपमा प्रदान गरिएको थियो ।
सम्मानपत्रमा जीबीओका अध्यक्ष डीबी. राई, जीबीएलओका अध्यक्ष पतालो अन्तरे, बामाका अध्यक्ष विश्वास गुरुङ, ग्लोबल फाउन्डेसनका अध्यक्ष प्रजा धिताल तथा भुटानीज समाज नेब्रास्काका अध्यक्ष बुद्धि एम. मोङ्गरको हस्ताक्षर रहेको छ ।
सम्मेलनको औपचारिक सत्र साहित्यकार ‘दियालो’ सुसन माझीको सञ्चालनमा सम्पन्न भएको थियो भने उपाध्यक्ष चन्द्रकला राईको स्वागत मन्तव्य तथा डीबी तामाङले स्वागत गीत प्रस्तुत गरेका थिए ।
सम्मेलनका प्रमुख अतिथिसमेत रहनुभएका डा. पोख्रेलले आफ्नो सम्बोधनमा भुटानी समुदायको भावी दिशा, नयाँ पुस्ताको सांस्कृतिक पहिचान तथा सामूहिक आर्थिक आधार निर्माणमा दीर्घकालीन सोच आवश्यक रहेको धारणा राखेका थिए । 
सांगीतिक तथा सांस्कृतिक सत्रमा विभिन्न कलाकारले गीत र नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा बीबी पौडेलको गीत विमोचन तथा भिडियो प्रिमियरसमेत गरिएको थियो ।
कार्यक्रममा हरि गजमेर, सुलभ भट्टराई, डीबी तामाङ, कमल भाइ, मनोज ढकाल, मुना लखन्द्री, क्रिसा गुरुङ, कमल राई, क्यासी तामाङ, आनन्द राई र शिव माप्चानलगायत कलाकारका प्रस्तुति समेटिएका थिए । मगर, तामाङ तथा अन्य सामुदायिक समूहका नृत्य प्रस्तुतिले सम्मेलनको सांस्कृतिक विविधतालाई उजागर गरेको थियो ।
सम्मेलनमा आयोजक तथा सहभागी संस्थाले आ-आफ्नो गतिविधि र भावी प्राथमिकताबारे कार्यपत्र तथा संस्थागत प्रस्तुति समेत राखेको थियोे ।