कमल रिजालको ‘दर्शनागार’ कृति सार्वजनिक

दिलिप घिमिरे · भदौ ३१, २०८३ १:५२ PM
Cover Image for News

झापा ३१ भाद्र/आध्यात्मिक लेखक आचार्य कमल रिजालको २१ औं कृति ‘दर्शनागार’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ । 

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा दर्शनसम्बन्धी प्रामाणिक विषय समेटिएको छ । ३२० पृष्ठको पुस्तकमा पौरस्त्यदर्शन, पाश्चात्यदर्शन, इस्लामिकदर्शन, अन्तरसंयोजन दर्शनप्रकरण, प्रयोगात्मक प्रश्नवादी दर्शनप्रकरण जस्ता विषय र ती विषयसँग सम्बन्धित सामग्री समेटिएका छन् । 

कार्यक्रममा लेखक रिजालले १० वर्षको चिन्तनबाट पुस्तक तयार पारिएको जानकारी दिए । 
साहित्यकार डा. नवराज लम्सालले पौरस्त्यदर्शन निर्माणको जग वेद भएको उल्लेख गर्दै आफ्नै कर्ममाथि प्रश्न गरेर हेर भनी लेखकले पुस्तकमा सन्देश दिन खोजेको बताए ।अध्यात्म र भौतिकवादी दर्शनको तुलनात्मक अध्ययन पुस्तकमा गरिएको उनले सुनाए । 
 । 
पुस्तकमाथि समीक्षा गर्दै प्राडा. भागवत ढकालले पौरस्त्यदर्शनको शुरूआत नै जिज्ञासाबाट भएको बताए । पूर्वको आध्यात्मिकता, पश्चिमको वैज्ञानिकता र नेपालको बहु सांस्कृतिकतालाई संयोजन गरेर नयाँ दर्शन बन्न सक्ने विचार पनि उनले राखे । पौरस्त्य र पाश्चात्य दर्शनको तुलनात्मक अध्ययन गर्न पनि दर्शनागार कृति महत्त्वपूर्ण भएको ढकालले बताए ।
 नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले दर्शन विधामा फरक तरिकाले लेखिएको पुस्तकका रूपमा दर्शनागार सार्वजनिक भएको बताए । 
 रिजालको यसअघि प्रकाशन भएको शकुन्तला उपन्यास पनि फरक धारबाटै नेपाली साहित्यमा स्थापित भएको श्रेष्ठको भनाइ छ । रिजालले अध्यात्म, धर्म र दर्शनका विषयमा धेरै लेखे पनि मूल्याङ्कन कम भएको साहित्यकार श्रेष्ठको भनाइ थियो । 

समीक्षक शैलेन्द्र अधिकारीले दर्शनागार पुस्तकले दर्शनप्रति आम मानिसमा जिज्ञासा बढाउने बताए । जसबाट दर्शनका विषयमा जान्न र बुझ्न सहज हुने उनको भनाइ छ । 

 शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले लेखक रिजालका धर्म, दर्शन र अध्यात्मसम्बन्धी पुस्तक प्रकाशनलाई विगतदेखि नै निरन्तरता दिँदै आएको र आगामी दिनमा यस्ता कृति पढ्न पाइने विश्वास व्यक्त गरे । पुस्तकको मूल्य ७९५ रूपैयाँ तोकिएको छ ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।