‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासी र आचार्यलाई पद्मश्री सम्मान प्रदान गरिने
झापा १ असोज/ खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानले विक्रम संवत् २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिमध्येबाट ‘सलह’लाई पुरस्कारका लागि छनोट गरेको हो । प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका पाँच कृतिमध्येबाट मूल्यांकन समितिले ‘सलह’लाई चयन गरेको प्रतिष्ठानले जनाएको छ ।
‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको प्रतिष्ठानको भनाइ छ । काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति–चित्रण र मार्मिक कथनशैलीलाई कृतिका प्रमुख विशेषता मानिएको छ ।

त्यस्तै, यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ।नेपाली,अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन् ।
