मोतीरामलाई सम्झिइयो
झापा, २७ भदौ । नेपाली गजलको उन्नयनमा २ दशकदेखि सक्रिय अनाममण्डलीले शुक्रबार १६१औँ मोतीजयन्तीमा मोतीरामको सालिकमा माल्यार्पण गरेर गजलवाचन गरेको छ।
२०७२ सालमा नेपाल प्रज्ञाप्रतिष्ठानमा अनाममण्डलीले स्थापना गरेको मोतीरामको सालिकमा प्रतिष्ठानका काव्य, संस्कृति, डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटा, अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कार, पूर्वअध्यक्ष घनेन्द्र ओझालगायतले माल्यार्पण गरी आदिगजलकार मोतीराम भट्टप्रति श्रद्धा अर्पण गरे।

उक्त अवसरमा काव्य विभाग प्रमुख दीपक सापकोटाले आदिगजलकार मोतीराम र गजलको सम्मानमा नयाँ प्राज्ञ परिषद्ले पहिलो बैठकबाटै कुशे औँसीलाई 'राष्ट्रिय गजल दिवस'का रूपमा मनाउने निर्णय गरेको उल्लेख गरे। तर, भोटेकोशी बाढीको विपद्का कारण यसपालि कुशे औँसीमा गर्ने भनिएको गजलको कार्यक्रम केही समय सारिएको उनले जानकारी दिए।
सापकोटाका अनुसार आगामी असोज १६ मा 'मोती-लय' आयोजना हुनेछ। उक्त कार्यक्रममा सातै प्रदेशबाट २१ जना नयाँ पुस्ताका र १० जना अग्रजका गजलको विशेष वाचन हुनेछ। ११ जना कलाकारले मोतीरामका चित्र बनाउनेछन् भने मोतीरामका गजलमा अभिनय पनि गरिनेछ।