सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
कविता
✍️ टंक विकल्प
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
के भयो प्रकृतिलाई आज ?
घाम दिनमा उदाउँन त उदाउँछ
तर
घामसँग न्यानो उज्यालो उदाउँदैन
केवल उच्चाट उखुम मात्र उदाउँछ
रातमा आकाशभरि
जूनताराहरू त चम्कन्छन्
तर
प्रेममय शीतलता चम्कदैन
कहिले छिनभरमै बतास हुइँकन्छ
कहिले आँधीहुरी हुन्हुनाउँछ
तर
शीतल पवन सिरसिराउँदैन
वादल पटक्कै वृष्टिमूलक पर्जन्य लाग्दैन
एक्कासी अभियनमा उत्रिएर मडारिन्छ
वर्षाद बादल पग्लिएर वर्षेकोझैं लाग्दैन
छिन्छिन्मै बहुरूप बदल्छ
नदीहरू जीवन बहँदैनन्
वितण्डको हुँकार बहन्छन्
र
मृत्युको साम्राज्य छोडेर जान्छन्
वनस्पति प्राणीहरूलाई
जीवनदान दिने सामर्थ्यमा छैनन्
स्वयम् अवसानको त्रासादिमा काँपिरहेछन्
माटो जैवीकता र चेतना उमार्न सक्तैन
सायद
ऊ आफैं अर्धचेतमा छ
आफ्नै विनाशको विपत्मा गुज्रिरहेछ
प्राणीहरूको जीवन
प्राकृतिक शृङ्गार लयमा छैन अचेल
छिन्छिन्मै
रौद्र , भयानक , विभत्स र करूण रसमा
वर्णान्तर भएको छ
मानव ! मानवीयता फुक्लिएर
दया , करुणा भाँचिएर उखुण्डो भएको छ
हुनसक्छ भगवान् पनि
यतिखेर आफ्नो सक्कलीरूप
संग्राहलयको फायलमा थन्क्याएर
छायाकपिको अवतारमा छ
त्यसैले
लाग्छ अहिले
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा छ
र
सृष्टि विलयको लयमा छ ।
-झापा
©