बिर्तामोडमा ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’ स्मृतिग्रन्थ लोकार्पण
झापा १९ भाद्र/बिर्तामोडमा आज गुरुभक्त नेउपानेको स्मृतिग्रन्थ ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’को लोकार्पण कार्यक्रम सम्पन्न गरिएको छ।
बिर्तामोडको कञ्चनजङ्घा अङ्ग्रेजी आवासीय मावि. तथा कञ्चनजङ्घा नमूना कलेजका संस्थापक कीर्तिशेष गुरुभक्त नेउपानेको प्रथम वार्षिक पुण्यतिथिका अवसरमा स्मृतिग्रन्थ ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’को एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो।
कार्यक्रम विद्यालयका सञ्चालक समितिका अध्यक्ष डिल्लीकुमारी नेउपानेको अध्यक्षता,गुरुभक्तका गुरु पोखरी मावि.छातेढुङ्गाका पूर्व प्रधानाध्यापक बद्रीप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको थियो ।
गुरुभक्तका बुबा नन्दलाल,आमा चन्द्रमाया नेउपाने, राष्ट्रिय सभाका पूर्व माननीय सदस्य हरिचरण शिवाकोटी, मेची वहुमुखी क्याम्पसका पूर्वप्रमुख उमानाथ ओली, स्मृति ग्रन्थका प्रधान सम्पादक राजेन्द्र सङ्ग्रौला, स्मृतिग्रन्थका समीक्षात्मक चर्चाकार हरिनारायण भट्टराई तथा लीलाप्रसाद अधिकारी लगायतले स्मृति ग्रन्थको लोकार्पण गरेका थिए ।
साहित्यकारद्वय हरिनारायण भट्टराई तथा सहप्राध्यापक लीलाप्रसाद अधिकारीले लोकार्पित स्मृतिग्रन्थको समीक्षात्मक परिचय प्रस्तुत गरेका थिए । 
कार्यक्रममा एक करोड राशिको अक्षयकोष राखेर गुरुभक्त नेउपाने स्मृति प्रतिष्ठान गठन गरी दर्ता गर्न लागेको र यसबाट हरेक साल बुबाको स्मृतिदिवसमा समाजमा साहित्य,संस्कृति, कला, खेलकुद या कुनै पनि क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने घोषणा परिवारको तर्फबाट गरिएको स्रष्टा डिल्लीराम परदेशी जानकारी दिएका छन्।
कार्यक्रममा छोरा डा.केशवराज नेउपानेले स्वागत तथा साहित्यकार डिपि सङ्ग्रौलाले सञ्चालन गरेको कार्यक्रममा झापाका साहित्यकार, शिक्षासेवी,समाजसेवी,विद्यार्थी,परिवारजन लगायतको उल्लेख उपस्थिति रहेको थिए ।