स्रग्धरामा रमाऊँ
डाँफे मैना जुरेली मुजुर र मुनियाँ कोइली वा चमेरो
डुल्दा पाखा पखेरा प्रकृति कृति सधैँ स्वर्ग जस्तै छ मेरो
हावाखाई बिहानै वर र पिपलको बोटहेरी हराऊँ
लेखी राम्रा उज्याला सुमधुर कविता स्रग्धरामा रमाऊँ ।
खोलाका दिव्य नौला सरस धुन सुनी शैल आनन्द मान्छन्
राम्रा गाना तराना कलकल झरना कन्दरासाथ हाँस्छन्
जाई बेली चमेली वन र चउरमा फूल नौला लगाऊँ
लेखी राम्रा उज्याला सुमधुर कविता स्रग्धरामा रमाऊँ ।
आँखा खोलेर हेरी अनुपम धरती टाकुरामा बसेर
सन्ध्या बेला रमाईकन हरिणसँगै कुञ्ज भित्रै पसेर
आफैँ आह्लाद बन्दै उपवनबिचको निर्झरीमा नुहाऊँ
लेखी राम्रा उज्याला सुमधुर कविता स्रग्धरामा रमाऊँ ।
सल्लेरीले सुसेल्दा कविहृदय सधैँ भावले हृद् पगाल्छन्
माटो पानी र ढुङ्गा मधुर पवनझन् औषधीतुल्य लाग्छन्
कान्ला आली गरामा निशदिन म पुगी सिर्जना स्वाद पाऊँ
लेखी राम्रा उज्याला सुमधुर कविता स्रग्धरामा रमाऊँ ।
नाच्दै आदित्य साथै कलकल जलले दिव्य यात्रा गरेझैँ
ज्यादै आनन्द मानी प्रकृति दिनदिनै मुस्कुराई बसेझैँ
यस्तै यस्तै म हेरी किसिम किसिमका छन्द धारा बहाऊँ
लेखी राम्रा उज्याला सुमधुर कविता स्रग्धरामा रमाऊँ ।
किस्पाङ्- ५ अर्चले नुवाकोट
२०८१/०३/२५