मोक्षदा विशेष स्रष्टा सम्मान प्रा.डा. देवी नेपाललाई
काठमाडौँको गौरीघाट स्थित मोक्षदा स्कुलले १६१ औँ मातीजयन्तीका अवसरका आयोजित एक विशेष समारोहमा कवि तथा समालोचक प्रा.डा. देवी नेपाललाई ‘मोक्षदा विशेष स्रष्टा सम्मान–२०८३’ बाट सम्मानित गरेको छ । विद्यालयका प्रधानाध्यापक ठाकुर तिमल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा विगत तीन दशकदेखि सिर्जनात्मक तथा समालोचनात्मक लेखन, प्रकाशन, शिक्षण, प्रशिक्षण र बाल तथा युवापुस्ताको जागरण आदिका माध्यमबाट नेपाली भाषा साहित्यका क्षेत्रमा गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गरी स्रष्टा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो ।
मोक्षदा स्कुलले हरेक वर्ष मोती जयन्तीका सन्दर्भमा एक जना विशिष्ट स्रष्टालाई सम्मान गर्ने गरेको छ । साथै उपत्यकाव्यापी विद्यालय स्तरीय गजल वाचन प्रतियोगिताको आयोजना गर्दै आएको छ । यसभन्दा अगाडि नै पुरुषोत्तम दाहाल, व्याकुल माइला, कुन्ती मोक्तान, नवराज लम्साल, यादव खरेल जस्ता विशिष्ट स्रष्टाहरूलाई सम्मान गरिसकेको उक्त विद्यालयले यस वर्ष नेपाली साहित्यमा ‘छन्द–पराग’, ‘लेखन शिल्प’, ‘माटो र मुटु’, ‘सलादजस्तो देश’, ‘कुखुराको बिहे’, ‘समुद्रमन्थन’ जस्ता कविता, खण्डकाव्य, बालकाव्य, समालोचना आदि क्षेत्रका झन्डै तीन दर्जन कृतिका स्रष्टा, नर्सरीदेखि स्नातकोत्तरसम्मका तीन दर्जन नेपाली पाठ्यपुस्तकका लेखक तथा ‘प्रज्ञा नेपाली लोककथा’, ‘नेपाली लोकवार्ताकोश’, ‘युगकवि सिद्धिचरणका गद्यकविता’लगायतका डेढ दर्जन महत्त्वपूर्ण पुस्तकहरूका सम्पादक नेपाललाई सम्मान गरेको जानकारी पुरस्कार संस्थापक हरिशरण खनालले दिनुभएको छ ।
उक्त अवसरमा सम्मानित प्रतिभा नेपालले जम्मा ३० वर्षको सार्थक जीवन बाँचेका मोतीराम भट्टले त्यति छोटो समयमा पनि २५ वटा कृतिका सर्जक, नेपाली कविताको माध्यमिक कालका शुभारम्भकर्ता, शृङ्गारिक धाराका प्रवर्तक, नेपाली गजलका थालनीकर्ता, नेपालीमा समस्यापूर्ति कविता लेखनका जन्मदाता, प्रथम जीवनी लेखक, प्रथम समालोचक, प्रथम मौलिक नाटककार, मोतीमण्डलीका निर्माता, सामूहिक लेखन र अन्तरक्रियात्मक सिर्जनाका थालनीकर्ता, छापाखानाका शुभारम्भकर्ता, प्रकाशन युगका आरम्भकर्ता, भानुभक्तका प्रथम अन्वेषक, प्रथम पत्रकार तथा सम्पादक, पुस्तकालयका प्रथम संस्थापक, प्रथम नाटक निर्देशक, क्वाँटी कविता लेखनका शुभारम्भकर्ता, बहुभाषाका ज्ञाता र स्रष्टा, गायक तथा सितारवादकका रूपमा आफ्नो विशिष्ट परिचय बनाएको स्मरण गर्दै उनकै जन्मजयन्तीका अवसरमा आफूलाई प्रदान गरिएको सम्मानले खुसीभन्दा पनि बढी दायित्वबोध गराएको विचार व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा आयोजित उपत्यकाव्यापी नवौँ अन्तरविद्यालयस्तरीय मोतीराम स्मृति रनिङ सिल्ड गजल गायन प्रतियोगिता–२०८३ मा गजलकार शीतल कादम्बिनीको मुतकारिब बहरको गजल वाचन गरेर सैनिक आवासीय मावि भक्तपुरकी छात्रा युनी गौतम प्रथम भएकी थिइन् भने रेणुका भट्टद्वारा लिखित हजज बहरको गजल वाचन गरेर नेपाल वेद विद्याश्रम, वनकालीका छात्र विपिन दाहाल द्वितीय भएका थिए । यसरी नै राधा कँडेलको मुजारे बहरको गजल वाचनबाट अनलज्योति स्कुलका आर्यन थपलिया तृतीय र लेखनाथ दाहालको हजज बहरको गजल वाचनबाट सोमसरला वेद विद्याश्रमका छात्र नीराजन उपाध्याय सान्त्वना भएका थिए । युवा गजलकारद्वय ज्ञानु विद्रोही र केशव भट्टराई निर्णायक रहेको उक्त प्रतियोगितामा उपत्यकाका २३ वटा विद्यालयका २३ जना प्रतियोगीहरूले विभिन्न गजलकारका बहरबद्ध गजलहरूको वाचन गरेका थिए ।
शिक्षक हरिशरण खनालले आफ्ना छोरीहरू अञ्जली र युथिकाका साथमा आमाबुबाका नाममा स्थापना गर्नुभएको उक्त पुरस्कार र प्रतियोगिता अनाममण्डलीको सहकार्यमा विगत नौ वर्षदेखि आयोजना हुँदै आएको छ । उक्त समारोहमा गजलकारहरू रूपक अलङ्कार, ज्ञानु विद्रोही, केशव भट्टराई, योगेन्द्र पौडेल, गोमा रेग्मी, सुशील आचार्यले आआफ्ना गजल वाचन गर्नुभएको थियो भने लेखनाथ दाहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । सो अवसरमा नितेश राई, ध्रुव पौडेल, मेहरमान सुनारलगायतका शिक्षासेवीहरूको उपस्थिति रहेको थियो ।