अमेरिकामा ‘सङ्गालो’ कथा वाचन कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · भदौ २१, २०८३ ५:२९ PM
Cover Image for News

२१ भदौ, झापा । ह्यारिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ५ कृयामणा फाउन्डेसनको आयोजनामा भुटानी–नेपाली समुदायका बालबालिका तथा युवालाई नेपाली भाषा, साहित्य, संस्कृति र समुदायको इतिहाससँग जोड्ने उद्देश्यले ‘सङ्गालो’ कथा वाचन कार्यक्रम सम्पन्न भएको छ । ह्यारिसबर्गस्थित ६३०० चेम्बर्स हिल रोडमा शनिवार आयोजना गरिएको सो कार्यक्रममा २४ जना बालबालिका तथा युवाले नेपाली भाषामा कथा वाचन गरेका थिए । प्रस्तुत कथामा भुटानबाट भएको विस्थापन, नेपालका शरणार्थी शिविरमा बितेको जीवन, जेलका कठिन अनुभव, तेस्रो देश पुनर्वास, भाषा, संस्कृति र पहिचान जोगाउने संघर्षका विषय समेटिएका थिए । आयुष धिताल, आयुषा चापागाईं, दिप्सिका घिमिरे, अस्लेशा तिम्सिना र दिव्या घिमिरेलगायत सहभागीले रूपमा कथा प्रस्तुत गरेका थिए । दिव्या घिमिरेले सुनाएको कथामा भुटान छोड्ने क्रममा एक वृद्धले आफ्नो झोलामा जन्मभूमिको माटो र भुटानी नागरिकताको कागज बोकेर हिँडेको मार्मिक प्रसंग समेटिएको थियो । प्रतियोगितामा प्रत्येक समूहका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ४००, ३०० र २०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको थियो । यसरी दुवै समूहका छ जना विजेतालाई कुल १ हजार ८ सय अमेरिकी डलर पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । पं. हेम धिताल, धर्मेन्द्र तिम्सिना, गंगा लामिटारे, निशा लीला, द्रौपदी प्रधान, मुस्कान बालम्पाकी, तिला आचार्य र टीकाराम राईले प्रतियोगिताको मूल्यांकन गरेका थिए । उनीहरूले भाषा, उच्चारण, कथाको भाव बुझ्ने क्षमता, अभिव्यक्ति र समग्र प्रस्तुतिका आधारमा सहभागीहरूको मूल्यांकन गरेका थिए । कार्यक्रमको सञ्चालन पातलो अन्तरे र कमला चापागाईंले गरेका थिए । कार्यक्रममा भुटानी कम्युनिटी अफ ह्यारिसबर्गका संस्थापक तथा प्रथम अध्यक्ष टीका ढुंगाना, पूर्वअध्यक्ष तिलक निरौला, वर्तमान अध्यक्ष युवराज कोइरालालगायत समुदायका अगुवा, अभिभावक र सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। “हाम्रो कथा, हाम्रो शक्ति; हाम्रा सम्झना, हाम्रो भविष्य  हाम्रा संघर्ष, हाम्रो विरासत” भन्ने मूल भावसहित आयोजित कार्यक्रमले अमेरिकामा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषामार्फत आफ्ना परिवार र समुदायको इतिहास, विस्थापनको पीडा तथा सांस्कृतिक पहिचानसँग जोड्ने प्रयास गरेको समाचार पत्रकार अर्जुन प्रदानबाट प्राप्त भएको छ ।

ट्यागहरू:
literature puraskar svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।