स्रष्टा रवीन्द्र तिमसेनाको ‘आस्थाका सङ्गम’ नियात्रा काठमाडौंमा सार्वजनिक
झापा २० भाद्र/स्रष्टा रवीन्द्र तिमसेनाको नियात्रा कृति ‘आस्थाका सङ्गम’ शुक्रबार काठमाडौँमा सार्वजनिक गरिएको छ।
मकालु ग्रुप अफ कम्पनीद्वारा प्रकाशित काठमाडौँ र ललितपुरको सीमानामा अवस्थित बागमती र विष्णुमतीको सङ्गममा आयोजित कार्यक्रममा आख्यानकार अमर न्यौपानेले उक्त कृति सार्वजनिक गरेका हुन्।
कार्यक्रम सुरु हुनुअघि सहभागीहरूले भोटेकोसी महाविपत्तिमा दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्गमस्थलमा दीप प्रज्ज्वलन तथा मौनधारण गरेका थिए। कृष्णजन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको यस कृतिमा कृष्णजन्मस्थल मथुरालगायत नेपाल र भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरूको ११ दिने यात्रावृत्तान्त प्रस्तुत गरिएको छ।
कृति सार्वजनिक गर्दै आख्यानकार न्यौपानेले भ्रमण गरिएका स्थलसँग जोडिएका इतिहास, संस्कृति, विश्वास, जीवनशैली र यात्रानुभूतिलाई तिमसेनाले ‘सङ्गम’को व्यापक अर्थसँग जोडेकाले यो केवल यात्रावृत्तान्तका रूपमा मात्र नआई फराकिलो दृष्टिकोणसहित आएको बताएका छन्।
१६४ पृष्ठ रहेको उक्त कृतिको मूल्य ३५० रुपैयाँ तोकिएको प्रकाशन गृहले जनाएको छ।