डिगो बाह्रखरी कथा प्रतियोगिता, २०८३’ हुने घोषणा

दिलिप घिमिरे · भदौ ६, २०८३ १०:१० AM
Cover Image for News

झापा ६ भाद्र/बाह्रखरी मिडियाले आफ्नो आठौँ शृङ्खला ‘डिगो बाह्रखरी कथा प्रतियोगिता, २०८३’ घोषणा गरेको छ।  

विगत सात वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत स्थापित तथा नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन र पुरस्कृत गर्न बिहीबार पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरिएको हो।
नेपालको कथा लेखन प्रतियोगितामा सबैभन्दा ठुलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा इच्छुक सर्जकहरूले असोज ३ गतेभित्र इमेल ([email protected]) मार्फत कथा पठाउनुपर्नेछ। संसारभरिका नेपाली भाषाका सर्जकले यसमा सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताको निर्णायक समूहको संयोजकमा कथाकार भुवन ढुंगाना रहेकी छन् भने सदस्यहरूमा समालोचक डा. ज्ञानु अधिकारी र चलचित्रकर्मी एवम् लेखक खगेन्द्र लामिछाने छन्।

प्राप्त कथाहरूमध्येबाट पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारी संयोजकत्वको आन्तरिक समूहले ५० वटा कथा छनोट गरी निर्णायक टोलीलाई बुझाउनेछ। त्यसपछि निर्णायक समूहले उत्कृष्ट २५ कथा चयन गर्नेछ, जुन ‘उत्कृष्ट कथा, २०८३’ पुस्तकका रूपमा फाइनप्रिन्टद्वारा प्रकाशन गरिनेछ। 

सर्वोत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने बाँकी २२ कथाकारले जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्राप्त गर्नेछन्। प्रतियोगिताको नतिजा २०८३ मंसिरमा विशेष समारोहकाबिच सार्वजनिक गरी कथासंग्रहको लोकार्पण गरिनेछ। 

कथा कम्तीमा १,५०० देखि बढीमा ४,००० शब्दसम्मको, मौलिक, अप्रकाशित र अप्रसारित हुनुपर्ने नियम राखिएको छ। प्रतियोगीले कथा वर्ड फाइलमा आफ्नो छोटो परिचय, सम्पर्क नम्बर र फोटोसहित इमेल गर्नुपर्नेछ।

ट्यागहरू:
कथा साहित्य ##
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।