बिर्तामोडमा इर्डन गार्डेनको 'फेरि भेटौँला' कार्यक्रम सम्पन्न
झापा २९ चैत्र /इर्डन गार्डेन एजुकेशन फाउण्डेशनले 'सहभोज तथा फेरि भेटौँला' कार्यक्रम सम्पन्न गरेको छ।
यस वर्षको SEE परीक्षामा सहभागी विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि बिहीबार एक विशेष कार्यक्रम बिर्तामोडस्थित आदर्श व्याङ्क्वेटमा आयोजना गरेको हो।समारोहमा विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै उनीहरूको योगदानको उच्च कदर गरिएको थियो।
विद्यालयका प्रिन्सिपल मोहन आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बालबालिका तथा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेल प्रमुख अतिथिको रूपमा रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले वर्तमान समयमा केवल किताबी ज्ञान मात्र पर्याप्त नहुने भन्दै बालबालिकालाई संस्कारसहितको र व्यवहारिक शिक्षा दिन जरुरी रहेको बताउनुभयो।
विद्यालयले विद्यार्थीको सफलतामा पर्दा पछाडि बसेर अभिभावकले खेल्ने महत्त्वपूर्ण भूमिकालाई मनन गर्दै सो अवसरमा विद्यार्थी र अभिभावक दुवैलाई सामूहिक रूपमा सम्मान गरेको थियो।
कार्यक्रममा बोल्दै अभिभावक भवानीप्रसाद दङ्गालले विद्यालयमा हाल सञ्चालित कक्षा ११ र १२ को 'म्यानेजमेन्ट विथ कम्प्युटर साइन्स' विधाको प्रशंसा गर्नुभयो।
विद्यालयका सहायक प्रिन्सिपल खेमराज आचार्यले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालय र शिक्षक समूह निरन्तर लागिपरेको बताउनुभयो।
कार्यक्रममा विद्यार्थीहरू सग्यान गौतम, प्राञ्जल पोख्रेल,गोमा मैनाली र साम्योग पुन लगायतले विद्यालयमा बिताएका वर्षहरू र आफ्ना अनुभवहरू सुनाएका थिए।
विद्यार्थीहरूले आफ्नो स्कुले जीवनको स्मरण गर्दा कार्यक्रम निकै भावनात्मक र मर्मस्पर्शी बनेको थियो।समारोहमा युवा सञ्चारकर्मी भरतराज प्रसाई, विद्यालयका सीईओ महिप आचार्य,सहायक प्रिन्सिपल खेमराज आचार्य लगायतको आतिथ्यता रहेको थियो।
विद्यालयका संयोजक गीताराम आचार्यले कुशलतापूर्वक सञ्चालन गर्नुभएको उक्त कार्यक्रम सामूहिक सहभोजसँगै उल्लासमय वातावरणमा समापन भएको थियो।