बिर्तामोडमा आज कोशी-बंगाल सांस्कृतिक तथा पर्यटन उत्सवको उद्घाटन
झापा २४ चैत्र/भारतको पश्चिम बंगाल राज्य र कोशी प्रदेशबीच पर्यटकीय सम्बन्ध बढाउन झापाको बिर्तामोडमा कोशी-बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव आयोजना गरिएको छ।
झापाको विर्तामोडमा आयोजित दुई दिने उत्सवमा उद्घाटन कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुली गर्नुभयो ।
नेपाल र भारतका पर्यटन व्यवसायीहरू कार्यक्रममा सहभागी छन्।महोत्सवले कोशी प्रदेशका जिल्लासँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यबीच पर्यटकीय सम्बन्ध विस्तार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउने अपेक्षा लिइएको छ।झापाको बिर्तामोडमा कोशी-बङ्गाल सांस्कृतिक तथा पर्यटन महोत्सव चलिरहँदा सांस्कृतिक रंगले भरिएको थियो।
यसै मञ्चमा भारतको पश्चिम बङ्गालबाट आएकी कलाकार डा.पम्पि पलले प्रस्तुत गरेको`बसन्त नृत्य´ले प्रकृति,संस्कृति र समृद्धिबीचको सम्बन्धलाई सशक्त रूपमा चित्रण गर्यो । करिब दुई हजार वर्ष पुरानो मानिने यो नृत्यले ऋतु परिवर्तनसँगै आउने नयाँ आशा,पुनर्जागरण र जीवन्तताको सन्देश बोकेको थियो।
यस्तो प्रस्तुति आफैँमा सांस्कृतिक आदानप्रदानको सुन्दर उदाहरण बन्यो ।
कार्यक्रममा लेप्चा नृत्य,सेलो नृत्य तथा बङ्गालका अन्य सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिए ।
उत्सवमा नेपाल र भारतका विभिन्न होटल व्यवसाय,होमस्टे,स्कुल-कलेज र घरेलु उत्पादनका गरी ३० वटा स्टल राखिएका छन्।