भूस्वर्ग मेरो देश

दिलिप घिमिरे · साउन १५, २०८१ ११:४१ AM
Cover Image for News

देशको सुरक्षार्थ ज्यानको बाजी थापेर
 रणमैदानमा रहेको सिपाहीजस्तो,
 ठिङ्ग उभिएको छ पहाड
 सीमाहरुकै रक्षाका लागि सदैव
 अविरल गतिमा बग्दछन् मेची र काली
 म ढुक्क छु,मेरो देश सुरक्षित छ ।

 प्रकृतिको अनुपम छटामा
 पाखापखेरा र लेकबेसीहरुका
 कान्ला र गराहरुमा मन्द मुस्कुराहटसँगै
 अलिकति लजाउँदै कुमारी श्रृङ्गारमा
 रातो लाली लगाएर लालीगुराँस,
 पहेँलो गहना झल्काउँदै सुन्तला र जुहार
 हरियो सारीमा हरियाली जडुगल,
 नव दुलहीकी सजिएकी लाग्छ हाम्रो प्रकृति
 माथि हिमालबाट लामो रेसामा
 कल्कल गर्दै बगिरहेछन झरना
 झरनाको आवाजले यस्तो लाग्छ,
 कुनै नृत्याङ्गनाको
 खुट्टाको पाउजु एकनासले बजिरहेको छ ।

 हावाले बिरुवाको पातमा रेटेर
 मीठो धुन निकालिरहेको बेला
 चराचुरुङ्गीहरु जिउ छोडेर नाँच्छन्,
 गाउँछन् कोकिल आवाजमा
 मानौं दुलही भित्र्याउने खुसीमा
 खुबै जोडतोडले नाचिरहेछन्
 अल्लारे युवा युवतीहरु !
 सगरमाथाको शिर लिएर
 पहाडजस्तो छाती बनाउँदै
 चन्द्रसूर्य झण्डा बोकेर
 बुद्धको ज्ञान बाँड्दै
 भूगोलको उच्च स्थानबाट गर्व गर्छ
 मेरो देश भूस्वर्ग !!
                            -झापा

ट्यागहरू:
कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
मेरी मायालु आउने दिन
मेरी मायालु आउने दिन
दुर्गा खतिवडा पोष्ट -दिलिप घिमिरे - सोमबार १६ सेप्टेम्बर २०२४
भगवानसँग  रिसाएको मान्छे
भगवानसँग रिसाएको मान्छे
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - बुधबार ११ सेप्टेम्बर २०२४
भोक
भोक
देवान किताती पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १० सेप्टेम्बर २०२४