मिरिक, तिमीलाई म साह्रै माया गर्छु
कविता
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
-डा. कमला तामाङ
जब म पुग्छु
कुनै झीलको नजिक
जहाँ हजारौं सपनाहरू
साकार हुने विश्वासमा भिज्दै
तैरिरहेका हुन्छन्,
जहाँ बल्लोछेउदेखि पल्लोछेउ पुन
प्रेमिल क्षणहरू
घण्टौं बरालिन्छन्,
जब देख्छ
त्यो इन्द्रेणी पुल जस्तै
सम्झनामा सधैँ घर बनाएर बसिरहने
कुनै पुल
तिम्रो चहकिलो सम्झना आउँछ।
साँच्ची होला मिरिक!
त्यतिबेला
तिम्रो झील पारि किनारका
धुप्पीघारीको सुस्केराहरूसँगै बल्झेको हुन्छु म।
जब जब झील जस्तै मनहरूले
मलाई सम्झनामा बास दिन्छन्
आत्मीयताको न्यानो आलिङ्गन फैलाउँछन्
मेरो मनमा अनायसै फक्रेको
फूलबारे
मलाई थाहै हुँदैन
र पुग्छु म त्यो आलिङ्गनको न्यानो ताप्नु ।
असाद्धै मन पराउँदो रहेछु म
ती झील मनहरूलाई
ती निष्कपट आलिङ्गनहरूलाई ।
आज
मनले सुटुक्क भनेपछि
थाह पाउँछु म
तिमीलाई अन्तरमनले मनपर्दो रहेछ
तिमीलाई साह्रै माया गर्दोरहेछु म।
-मिरिक , दार्जिलिङ