टीका
एकाङ्की
टीका
✍️ भीमनिधि तिवारी
पात्रहरू
आमै : आमा
कमानसिंह : छोरो
सुन्तली : बुहारी
कालु : नाति
(टीकाको ठुलो साँझ, आँगनभरि जुन टहटह लागिरहेछ । पिँढीमा आमै र सुन्तली खिन्न मुद्रामा छन् ।
डोरीमा कालु पिङ खेलिरहेछ । खोपाभित्र डिबियामा बत्ती बलिरहेछ ।)
१. आमै : यस्तो कुनै बर्ख पनि गर्दैनथ्यो । ढिलै आको बेलाँ पनि फुलपातीको साँझसम्म त टुप्लुक्क आइपुग्थ्यो। टीकाको दिन पनि गैसक्यो, रात परिसक्यो, अझै आएन ।
२. सुन्तली : बरु लाइदिनुहोस् टीकाको टिको । यत्रो टीकाका दिन के निदार खाली गरौं ।
३. कालु : (पिङमा खुब मच्चिएर) आमै ! हेर्नोस् त, खुट्टाले दलिन छुनै आँट्यो । चचहुई .... चचहुई ।
४. आमै : हामीले त हेरेकै छौं नि बा, तेरो बुबा तैंले पिङ खेल्या हेर्न आएन त ।
५. कालु : आउँदै होलान् । उकालो चढ्दै होलान् । चचहुई .... चचहुई ।
६. आमै : तेरो मुखाँ गाईको दुधभात जाओस् ! आओस् यत्रो टीकाको दिन ।
७. सुन्तली : पुकारेको हामीले पनि त्यसै हो नि । बालकको मुखमा डाँक बसेको हुन्छ भन्छन्, आइहाल्नु हुन्छ कि त ।
८. आमै : आओस् । (लामो सास तानेर ) खै, के आउला, रात चढिसक्यो । जुन छिप्पिसक्यो ।
मेरो मायाको डोरो के आउला ! (सम्झेर) ऊ जन्मेकै बर्ख उसका बुबा पनि चारै दिनको जरोले अपर्झट जानुभो । कस्तो दुःखले हुर्काएको छोरो यो ।
९. सुन्तली : पुर्नेसम्ममा भए पनि आउनुहोला । काम गरेको ठाउँमा बिदा मिलेन कि ।
१०. आमै : कस्तो बिदा नपाउनु त, दसैँ जस्तो चाडाँ पनि । नोकरी गर्नुपर्ने, अनेक दु:ख गर्नुपर्ने, घर छोडेर
देश पस्नु पर्ने, यस्तै चाडबाडाँ सँगै बसेर मिठो खान, राम्रो लाउन त हो नि । लगनपछिको पोते के काम ?
११. सुन्तली : अब आजलाई आउनुहुन्न, लाइदिनोस् हामीलाई टीका । तपाईं पनि खानोस्, बुढी मान्छे दिनभर भोकै । बोली नै कमजोर भइसक्यो ।
१२. आमै : तँ पनि त भोकै छेस् नि।
१३. सुन्तली : मेरो त के कुरो भो र, उमेर छ । तिन दिनको भोकलाई पनि खाइदिन सक्छु ।
१४. कालु : चचहुई .... चचहुई । खुट्टाले दलिन छुनै आँट्यो, हेर्नोस् त आमै ।
१५. सुन्तली : बरु टीका लाऔं । कालुलाई आसिक दिनोस् ।
१६. आमै : खै, ले टीकाको चारकुने र जमरा । म तिमी आमा छोरालाई लाइदिन्छु, टिको ।
१७. सुन्तली : आइज कालु, आमैसित टीका थाप्न । (टीकाको चारकुने र जमराको मुठो आमैका अगिल्तिर
लगेर राखिदिन्छे र टीका थाप्ने आसनमा बस्छे ।)
१८. आमै : नुनै नहाल्या कस्तो कस्तो खल्लो टिको भयो यो बर्ख । (सुन्तलीलाई टीका लाइदिन मात्र के हात
उठाएकी मात्र हुन्छिन् खेल्दा खेल्दैको पिङ छोडेर कालु चिच्याउँदै बाहिर दगुर्छ ।)
१९. कालु : बा आउनुभयो ।
२०. आमै : (हातको टीका हातैमा लिएर खुसी र आश्चर्यले) खै ? खै, कालु ?
२१. सुन्तली : म त भन्दै थिएँ नि । (दुवै जना उठेर हेर्छन् । बायाँ काँधमा टिनको बाकस बोकेको बायाँ हातले कालुलाई डोऱ्याउँदै कमानसिंहको प्रवेश |)
२२. कमानसिंह : आमै, सन्चै छ ?
२३. आमै : सन्चै छ बा आजसम्म । यस बेलासम्म पनि नआउँदा मेरो त हंसले नै ठाउँ छोडिसक्या थियो । (सुन्तली भित्रबाट तुरुन्तै राडी ल्याएर गुन्द्रीमाथि ओछ्याइ दिन्छे । सबै त्यहीँ बस्छन्, ढोगभेट चल्छ । कालु बुबाको अनुहार टुलुटुलु हेरिरहन्छ । सुन्तली फेरि भित्रतिर जान्छे । आमै कमानसिंहलाई
टीका लाइदिएर टोपीभरि जमरा घुसारिदिन्छिन् । ऊ फेरि ढोग्छ ।)
२४. आमै : चिरञ्जीवी भएस् । (कमानसिंह बाकस खोलेर एउटा पोको आमैलाई र पिँपीं गर्ने बाजा कालुलाई दिन्छ। ऊ बजाउन थाल्छ । यत्तिकैमा अहिलेको अहिल्यै आँखाभरि कोस झिकेर गाजल लाएकी, फरिया फेरेकी सुन्तली आउँछे ।)
२५. कमानसिंह : घरपछाडि केको खलबल ?
२६. आमै : पिङ हाल्या छन् बा, गाउँका ठिटाठिटीहरूले कति रमाइलो गरिराख्या छन् ।
२७. सुन्तली : हामी पनि जाऔँला भरे भरे । आज टीकाको दिन खेल्नु भन्छन् ।
२८. कमानसिंह : लौ त । (आमै र कमानसिंह सुन्तली र कालुलाई टीका लाइदिन्छन्, फेरि ढोगभेट चल्छ । सुन्तली पनि कालुलाई लाइदिन्छे ।
२९. आमै : जा बुहारी, अब रोटी पोल्न थाल् । भोकाको होला । (सुन्तली जान्छे ।)
३०. कालु : खसी मार हान्ने कहिले बा ?
३१. कमानसिंह : भोलि एकादशी भइहाल्यो । अब पर्सि ।
३२. कालु : पर्सि मार हान्ने । पर्सि मार हान्ने । (उफ्रँदै पिँपीं बाजा बजाउँदै पिङतिर जान्छ र एक दुई झट्का खेलेर फेरि बुबाकहाँ आएर बस्छ ।)
३३. आमै : यो बर्ख किन यस्तो ढिलो ? सधैँ त फुलपातीभित्रै आइपुग्थिस् ।
३४. कमानसिंह : मालिकको छोरो सिकिस्त बिरामी भयो । त्यस्तो बेलामा दसैँ भनेर छोड्न धर्मले पनि दिएन,
नुनको ढिकाले पनि दिएन । बल्ल बाँच्छ भन्ने ठहरियो र टीकासम्म त भेटिहालुँला कि भनेर बिदा लिएर
धापिएर आएको ।
३५. आमै : मलाई त अहिलेको अहिल्यै बिछट्ट भोक लागेर आयो । झन् तँ त त्यत्रो बाटो हिँडेर आको,
कस्तो भाको होला ।
३६. कालु : चन्द्रमा ।
३७. आमै : बुबासित के कुरो गरुँ जस्तो लाग्या छ यसलाई । कहिले के भन्छ, कहिले के भन्छ । यस्तो
तामाको मुना जस्तो छोरालाई छाडेर नजा बाबु देसाँ । आफ्नै नेपालाँ नोकरी खोज् न पाइहालिन्छ नि । यतिका मान्छे अटाका छन् त, तँ एउटा कसो नअटाउलास् ।
३८. कमानसिंह : त्यसो त नेपालमा नोकरी नपाएर देश पसेको होइन म । के भने, यहाँ महिनाको चालिस
खाइयो भने चालिस मात्रै हुन्छ, उहाँ चालिस खाइयो भने चौसट्ठी हुन्छ ।
३९. आमै : उसो भए बढी रुपियाँ पाइन्छ भनेर गएको होइन त ?
४०. कमानसिंह : हो त नि । (कालु फेरि पिङमै गएर खेल्न थाल्छ ।)
४१. आमै : तँ यो घरको छानु दिनभर छाउँछस्, म एक घान मकै भुटेर दिन्छु, त्यही खाएर सन्तोष हुन्छस् । अरूको मेलामा काम गर्यो भए दुई रुपियाँ पाउँथिस्, किन नगाको त ?
४२. कमानसिंह : ल... कुरा गरेको आमै ? आफ्नो घरको काम त एक डल्लो ढिँडो खाएर पनि गर्नुपर्छ ।
४३. आमै : तब त नि बा, पैसाको निम्ति मात्र काम गर्ने होइन । आफ्नो घरको काम एक गाँस मात्रै खाएर पनि गर्नुपर्छ । यो सारा नेपाल आफ्नै घर त हो नि । एक पाइलो हिँडे पनि आफ्नै भुइँमा हिँड्नुपर्छ, एक थोपा पसिना चुहाए पनि आफ्नै माटाका डल्लामा चुहाउनुपर्छ । आफ्नो घर बने पो आफूलाई सुख हुन्छ ।
४४. कमानसिंह : (केही बेर सोचेपछि) आमै यही पुरान मलाई पोहोर साल सुनाइदिएको भए म देश जाने नै थिइनँ, यस्तो मैना जस्तो छोरालाई छाडेर । खै कता गएछ ?
४५. आमै : ऊ पिङमा ।
४६. कमानसिंह : वृद्ध उमेरकी आमा, उमेरदार जहान, बालक छोरालाई केही कमाइएला कि भनेर पैसाकै निम्ति छाडेको न हुँ । मन त कहाँ पो मानेको छ र ! भैगो, आएँ आएँ अब जान्न । दस लोटा पानी अटाएको गाग्रोमा एक मुठी बढी कसो नअटाउला
त ? हो चित्त बुझ्यो आमै । आफ्नै गाउँमा बस्नुपर्छ, आफ्नै घरमा रमाउनुपर्छ, आफ्नै छानु छाउनुपर्छ । जे भए पनि चार पाँच वर्ष
बसिहालियो, नुनको सोझो, म आउन नपाउने भएँ भनेर एउटा चिठी पठाइदिन्छु ।
४७. आमै त्यसै हो, बाबै ।
४८. कालु : चचहुई.... चचहुई ......ए बा । हेर त खुट्टाले दलिन छुनै आट्यो ।
( सबै उतैतिर हेर्छन् ।)