चित्रभित्र हराएको घर

✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे · असोज ३०, २०८३ १०:२७ PM
Cover Image for News

(यो कविता होइन । यो एउटा चित्रभित्र प्रवेश गर्ने प्रयास हो ।यदि शब्दहरू पर्याप्त भएनन् भने, कृपया रङ्‌गहरु सुन्नुहोस्।)

कविता 
                          ✍️ हिम्मत नेम्बाङ
चित्रभित्र हराएको घर 

यो क्यान्भासमा मैले कुनै दृश्य बनाएको छैन ।
मैले एउटा अनुपस्थिति बनाएको छु ।
किनभने कहिलेकाहीँ
जे देखिदैन,
त्यही सबैभन्दा धेरै उपस्थित हुन्छ । 

यी दुई विशाल आकृतिहरूलाई 
आमा भनेर मात्र नहेर्नुहोस्
यी रक्तसम्बन्धका पात्र होइनन् ।
यी त
जन्म दिने शक्ति,
पर्खिने समय,
र क्षमा गर्ने पृथ्वीका
अमूर्त रूपहरू हुन् ।
मानिसको सबैभन्दा ठूलो घर
ईंटले बन्दैन,
आमाको प्रतीक्षाले बन्छ । 

बीचबाट बगेको
यो रातो र कालो घुमाउरो रेखा....
यसलाई सडक भन्नुभयो भने
यसको पीडा सानो हुन्छ ।
यो त
समयले कोरेको घाउ हो । 

एउटा घरबाट सुरू भएको पाइला
कतै विदेशमा गएर
आफ्नै नाम बिर्सिन्छ । 

रातो-
रगतको सम्झना ।
कालो-
समयले निलिसकेको उज्यालो ।
यो रेखा
गन्तव्यसम्म पुगेको यात्रा होइन,
घरबाट टाढिदै गएको आत्माको इतिहास हो । 

हेरिरहनुभएको छ ?
त्यो सानो सेतो पाइला आकृति...
ऊ मानिस होइन ।
ऊ प्रश्न हो ।
किन जन्मभूमि
सधैं सम्झनामा बस्छ ? 

किन मानिस
जति टाढा पुग्छ,
उति नै आफ्नो गाउँभित्र फर्किन्छ ? 

ऊ एक्लो छैन।
उसँग हजारौं प्रवासीहरूको मौनता छ ।
उसँग बोल्ने भाषा छ,
तर सुन्ने काँध छैन । 

तलको कालो- सेतो वृत्त....
धेरैले यसलाई मृत्यु भन्लान् । 

म यसलाई
आरम्भ र अन्त्यले
एक अर्कालाई चुमेको बिन्दु ठान्छु ।
जीवन
सिधा रेखा होइन ।
यो त
फेरी आफैंतिर फर्किने वृत्त हो । 

हामी जन्मन्छौं,
टाढिन्छौं,
हराउछौं,
र अन्ततः
स्मृतिका रूपमा घर फर्किन्छौं । 

यी कुहिराहरु...
यी पहाडहरू ...
यी बादलहरू...
यी प्रकृतिका दृश्य मात्र होइनन् ।
यी ती मौन अवरोध हुन्
जसलाई कुनै राहदानीले पार गर्न सक्दैन । 

मानिस
देशको सीमाना त पार गर्छ,
तर आमाको आँखाभित्रको दूरी
कहिल्यै पार गर्न सक्दैन । 

यस चित्रमा
अनुहारहरू छैनन् ।
किनकि दुःखको अनुहार एउटै हुँदैन ।
देशको नाम छैन ।
किनकि परदेश
सबैका लागि एउटै एकान्त हो । 

रङ्गहरु पनि
यथार्थका दास बनेका छैनन् ।
उनीहरू स्वतन्त्र छन्
किनकि कला
वस्तुको प्रतिलिपि होइन ।
कला
आत्माले देखेको अदृश्य सत्य हो । 

यदि तपाईंले
यो चित्रमा आफ्नी आमा देख्नुभयो भने - 
यो सफल भयो।
यदि तपाईंले
आफ्नै एक्लोपन भेट्नुभयो भने-
यो पूर्ण भयो । 

यदि तपाईंले
आफ्नै जीवनको कुनै घाउ
यी रङ्गहरूभित्र 
धड्किरहेको महसुस गर्नुभयो 
भने-
त्यही क्षण,
चित्र समाप्त हुँदैन....
चित्रभित्र
हामी सुरू हुन्छौं ।। 


२०८३/साउन ६ गते
 आर्ट स्टुडियो

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
मनको ताजमहल
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६
गाउँ जाने बाटो
गाउँ जाने बाटो
कवि-विराट किराती पोष्ट-दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
✍️ टंक विकल्प पोष्ट-दिलिप घिमिरे - बिहिबार १० सेप्टेम्बर २०२६