भुईँ मान्छेका प्रतिनिधि संवादहरुको संगालो,कवि थेगुवाको सपनाहरूको बही

दिलिप घिमिरे · साउन १५, २०८१ १:४२ PM
Cover Image for News

`यदि, 
 समयको गति रोकिन्छ
 सूर्यको किरण अडिन्छ
 भने
 म
 परमाणु बमको बदलामा
 आफैँ
 पड्किदिन तयार छु
 चोक्टा... चोक्टा... चोक्टिएर´।    (क्रान्ति-२)                           
 समकालीन समयको पदचाप पछ्याउँदै निरन्तर पचासको दशक अघिबाट सङ्ग्रहित र सार्वजनिक साहित्यिक सहकार्यमा निरन्तर साधनमा सकृय,कविता,गजल,गीत,समसामयिक लेख रचना र कृति समीक्षामा अभ्यस्त रहँदै आएका अध्यापन र सामाजिक अनि व्यक्तिगत जीवनको श्रृङखला चलाई रहने मन थेगुवाका नामले परिचित अनि अभागी थेगुवाका नामले सुपरिचित साहित्यमा एउटा फरक र विशिष्ट परिचय बनाउन सफल साधक र अभियान्ताको नाम हो कवि अभागी थेगुवा।

सधैं सरल, साधारण, सौम्य र रचनात्मक रूपमा प्राय:साहित्यिक  कार्यक्रमहरुमा सर्जकहरूसँग सहकार्य गर्दै गरेको भेटिने कवि थेगुवाको सपनाहरुको बही प्रकाशन हुनुपूर्व सप्तकोशीबाट (२०५४)संयुक्त गजल सङ्ग्रह, बुद्धले अस्त्र...(२०५८)कविता सङ्ग्रह,हर्के म अनि युद्ध(२०६८)गजल काव्य सङ्ग्रह प्रकाशन भइसकेका छन् भने सपनाहरूको बही(२०८१)कविता सङ्ग्रह कवि थेगुवाको व्यक्तिगत रचनाहरूको तेस्रो कृति हो ।

जुन कृति भित्र१०वटा गणितीय कविता ३वटा व्यक्तिपरक कविता छोडेर ३९ वटा कवितामध्ये गाउँघरबाट शिर्षकमा ४ वटा,शिक्षक शिर्षकमा २वटा,क्रान्ति शिर्षकमा २वटा ,बुद्धले अस्त्र शिर्षकमा २ वटा र आस्थासँग सपना शिर्षकमा २ वटा कविताहरु कविताका शिर्षक एकै भए पनि फरक कविताहरू समावेश भएका छन् । त्यसवाहेक २७वटा कविताहरु फरक आयम, फरक विषय र फरक शैली- स्वभाव र शिर्षकमा लेखिएका छन् भने यस सङ्ग्रहमा कवि थेगुवाको कोरना कहरसँग सम्बन्धित एउटा  कविता र कथानक कोरोना कविताको ४ वटा एकै श्रृङखलाका कविताहरू समेत समावेश भई कुल ५६ वटा सुन्दर कविताहरु सङ्ग्रहमा समावेश भएका छन्।

 स्रष्टा पब्लिकेसन दमक झापाबाट प्रकाशनमा आएको कवि थेगुवाको नविनतम् कृति सपनाहरूको बहीमा कविका समय बोल्ने कविता बाहेक अग्रज साहित्यकार कृष्ण धरावासी र कवि तथा अग्रज पत्रकार राजकुमार दिक्पालका नजरमा कवि थेगुवाप्रतिको छोटो र संक्षिप्तीकरण कवित्वको परिचय प्राप्त गर्न सकिन्छ ।

 कुल १२६ पृष्ठमा विट मारिएको यस कृतिको आवरण निक्कै आकर्षक र बिम्ब सजिएको छ ।
 एक चौथाई भाग मधुरो मानौं की जीवन जस्तो, थोरै शिरमा निर्धारित  र माथिल्लो ३ चौथाई भाग उज्यालो वा कविको सपना जस्तो फराक,अथाह वा सम्मोहित वा सिमा रहित रुपमा बुझ्न सकिन्छ जस्को प्राप्तिका लागि मधुरो भागमा उल्लेख गरिएका गुणा ,भागा,जोड ,घटाउ जस्ता अङ्कहरुमा निर्धारित मानिस उल्लेखित सपनाको उज्यालो नभेटी नामेट हुने यथार्थ कविको सङ्केत हुन सक्छ ।

 गणितीय कवितामा आफूलाई प्रमाणित गरिसकेका मौलिक  कविका अन्य कविता पनि कविको मौलिक लेखन,स्वाद र स्वभाव प्रतिबिम्बित भएका छन् ।भौतिक विज्ञानले जसरी बस्तुको बनोट, स्थिति र असर प्रमाणित गर्दछ त्यसैगरी कवि थेगुवाले जीवन यापनका क्रममा प्राप्त हुने रीतिथिति,बेथिति ,अनियमितता भ्रष्टाचार ,धर्म जस्ता कुराहरूले पार्ने प्रभाव र असरलाई गणितीय सङ्केतको प्रयोगले प्रमाणित गरेका छन् ,कवितामा यो प्रयोग नितान्त नयाँ, आश्चर्यजनक र स्वादिलो लाग्ने गर्दछ।

साधारण,सरल र विवादरहित बाँच्न,लेख्न र खेल्न रुचाउने कवि थेगुवाको कविताको केन्द्र पनि समाज,संस्कृति रहनसहन, परिवेश र परिवेशको साधारण शैली र संरचना नै देखिन्छ,भन्नै पर्दा सपनाहरूको बहीमा समावेश सबै जसो कविताहरूले, हेपीएका,मिचिएका,सिमानामा  पुर्याइएका वा चुपचाप बन्न बाध्य पारिएका भूईंमान्छेका पीर,व्यथा आक्रोश र खुसीहरुकै प्रतिनिधित्व गर्दछन्। थोरैमा कवि थेगुवा भूईं मान्छेका प्रतिनिधी कवि हुन् भन्दा फरक पर्दैन ।

 कृति भित्र समावेश कविताहरू नेपाली राजनीति,सत्ता लेनदेनको अस्थाई र पट्यार अनि निराशाजनक चलखेल,शसस्त्र जनयुद्ध, फेरिएको राज्य व्यवस्था ,कोरोना महामारी,केन्द्र र मोफसलको अहम,वैदेशिक चलखेल र अस्थिरताले बाँच्न बाध्य पारेको दैनिकी र व्यक्तिगत मानव जीवनका दु:ख-सुख पीडा, रोग,चोट र दर्दहरुकै छायाँ कवितामा भेट्न सकिन्छ।

कृतिकार अभागी थेगुवा
विज्ञान पढेर ज्ञान बाँड्ने कविका कवितामा अध्यात्म, परम्परागत विश्वास,आस्था र अनुकरण पनि प्रसस्तै भेट्न सकिन्छ । युद्ध, आक्रोश र प्रतिकार कवितामा पनि कविलाई प्रेमले,दयाले र सुधारको अपेक्षाले ओतप्रोत भएर प्रस्तुत भएको,लडिरहेको  भिडिरहेको भेटिन्छ ।एक प्रकार कविताका आयमहरुमा कवि थेगुवा मध्यमार्गी रुपमा प्रस्तुत भएको लाग्दछ।सर्प पनि मरोस् लौरो पनि नभाचियोस् भन्ने उक्ति कवि थेगुवा र उनको कृति सपनाहरूको बहीमा प्रयुक्त भए झैं लाग्दछ ।

 उसो त अचेल पाठकहरू आफूलाई कविताका हरफहरूमा भेट्न चाहन्छन् ।कवितामा नयाँ प्रयोग, शैली र अनुकूलता खोज्छन् तथापि हामी कहाँ कविताको लेखकीय परम्परागत ढाँचाको संस्मरण,उपदेश,आक्रोश र आदेशकै प्रचुरता दोहोरिएर आउने गर्दछन् तर थेगुवाका कविताहरुमा भने भाषा, शैली,बिम्ब र प्रतिकहरुमा पाठकले प्रशस्त नयाँपन प्राप्त गर्दछन् पाठकले
 कविताका हरफहरुमा कि आँफूलाई कि आफ्ना छर-छिमेकहरुलाई भेट्ने भएको हुनाले पनि सपनाहरुको बहीले माया प्राप्त गर्ने छ भन्ने लाग्छ ।

समग्रमा मध्यम आयातनमा, सरलरुपमा गहन विषयहरूको प्रस्तुति प्रस्तुत गर्ने कविताहरु सामान्य कविताका पाठकहरुले बुझ्ने यस कृतिको अर्को विशेषता पनि हो,आञ्चलिकता,मात्रृभाषाका बिम्बहरुले पनि यस कृतिलाई  थप मौलिकता प्रदान गरेको हुनाले कवि अभागी थेगुवाको कृति सपनाहरुको बहीले नेपाली कवितामा थप नविनता थप्ने छ भन्ने लाग्दछ।

 अरुको पहिचान र अस्तित्वको सिर्जनात्मक सम्मान गर्ने कविका कविताहरुले कविता मार्फत आफ्नो पनि प्रयाप्त  अस्तित्वको खोजी गरेका छन् यस अर्थमा यस कृतिले कवि थेगुववालाई सह अस्तित्ववादी कविको रुपमा पनि प्रमाणीत गरेको छ।

 कविता सङ्ग्रहमा समावेश सबै कविताहरूको आफ्नै महत्व र स्थान भएता पनि कवि थेगुवाले यस कृतिभित्र समावेश गरेका कविताहरूमा आस्थासँग सपना, काठमाण्डौंलाई खबर,म जस्तै घोडा,युद्ध रगत र रङ्गहरु,नयाँ नेपाल, प्रयोगशालामा लेप्मुहाङ, सुदुर सम्झनाको तरेमा आदि कविताहरु प्रतिनिधिमूलक  कविताहरू हुन् ।

 विचारले, व्यवहारले,आवश्यकताले र अध्ययन,अनुसन्धान र समयका अनुकूल अनि प्रतिकूल  अवस्थाले हामी बाँडिएका, जोडिएका हुनाले हामीमा विचारको फरक प्रभाव पर्न सक्छ त्यसैले पनि कविको अधिकतम ध्यान सद्भाव,प्रभाव,सम्मान र सर्वस्विकारोक्ति रूपमा प्रस्तुत हुन खोजे झैं लाग्दछ।

केही कविताहरुमा केही पाठकको फरक अनुभूति,व्याख्या र बहसको सम्भावना पनि देखिन्छ, केही कविताहरूको शिर्षिक दोहोरिएर पाठकमा असहजता र दुविधा पर्न जाने सम्भावना पनि यस कृतिमा भेटिन्छ साथै कथानक कविताहरुले कृतिको श्रृङखला टुटाएको भन्ने पनि पाठकमा भान पर्न सक्ने सम्भावना कृतिमा नभएको होइन तथापि समग्रमा कविता सङ्ग्रह सपनाहरुको बही सफल कविता कृतिका रूपमा स्थापित हुने सङ्केत र सूचनाहरूले प्रमाणीत गरिरहेका छन् कवि थेगुवालाई थप लेखनीको हार्दिक शुभकामना ।
 

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
मन थेगुबा
एक महिना अगाडि

धन्यवाद

सम्बन्धित पोस्टहरू
अर्को उल्लेख्य कृति : 'भद्रपुरको प्रतिबिम्ब'
अर्को उल्लेख्य कृति : 'भद्रपुरको प्रतिबिम्ब'
नकुल काजी पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार १० सेप्टेम्बर २०२४
कविताको आँखामा सपनाहरूको बही
कविताको आँखामा सपनाहरूको बही
कविता शर्मा पौडेल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार ३ सेप्टेम्बर २०२४
प्रेमका पाँच औंला कविता सङ्ग्रहको संक्षिप्त समीक्षा
प्रेमका पाँच औंला कविता सङ्ग्रहको संक्षिप्त समीक्षा
प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १६ अगष्ट २०२४