डा. गोबिन्द कोइरालाको सानो मास्टर पुस्तक पढेपछि

बिहान पाँच बजेतिर कि...रिङ...रीङ...घण्टी बज्यो उठाएँ । बुढामावलीको घरबाट आएको रहेछ । मेरी आमा राधादेवीका माइला मामा ओमानाथ कोइरालाकी धर्मपत्नी हजुरआमा जमुनाले भन्नुभयो-´नातिनी २०८१/१०/१९ गतेदेखि यही २५ गतेसम्म श्रीमद्भागवत सप्ताह पुराणमा जसरी भए पनि आऊ , २५ गते नाति ओजस्वीको ब्रतबन्ध पनि छ । आऊ है ! भनेर फोन काट्नु भयो । मेरो बुबा बिरामी परेर म जान सक्ने स्थितिमा थिइन । त्यसको २-३ दिन पछाडि काठमाडौँबाट पम्फा सानिमाले हामी भोलि पुराणको लागि आउँदै छौँ भनेपछि, मेरो तन बुबाको सेवामा तर मन भद्रपुर नै उडेको थियो ।२५ गते एक्कैछिन भए पनि समय मिलाएर गएँ ।
सबै आफ्ना आफन्त नातेदार सबैसँग भेटघाट भयो । अमेरिकाबाट डा. गोबिन्द कोइराला पनि आउनु भएको रहेछ खुशी लाग्यो । मैंले उहाँलाई सामाजिक सञ्जालमा मात्र देखेकी थिएँ । प्रत्यक्ष भेट्ने अवसर मिल्यो । पहिलो भेटमा नै उहाँबाट लेखिएको ' सानो मास्टर ' शीर्षकमा रहेको आत्मकथात्मक उपन्यास दिनुभयो । मलाई शीर्षकले नै प्रभावित पार्यो । यस पुस्तकभित्र के लेखिएको छ होला भनेर उत्सुकता जाग्यो । पछाडिको पानामा विद्वान् हरि अधिकारीको छोटोमिठो टिप्पणी पढ्न पाइन्छ । पछाडिको भित्री पेजमा लेखकको सुन्दर तस्बिर र उहाँको परिचय लेखिएको रहेछ, त्यस्तै गरेर अगाडिको पन्ना पल्टाएँ, मृदुला कोइराला प्रकाशक बन्नु भएको यो पुस्तक पढ्दै जाँदा उपन्यासका काल्पनिक पात्रहरू हुन्छन् तर यो उपन्यासको घटना र पात्रहरू वास्तविक रहेछन् । उपन्यासमा एउटा मुख्य पात्र नायक हुन्छ ; उसैको वरिपरि घटनाक्रमहरू जोडिन थाल्छन् । हो यो उपन्यासको पनि वास्तविक ' सानो मास्टर ' नै हो भन्ने थाहा हुन्छ ।
जम्मा २५ वटा शीर्षकमा लेखिएको यो उपन्यास साँच्चै जति पढेपनि धित नमर्ने दोहोर्याई तेहर्याइ पढुँझैँ लाग्यो । म त्यस्तै
६-७ बर्षकी हुँदी हुँ मेरी हजुरआमा छत्रपृया सुवेदीका साथ लागेर दलगाउँबाट पिखुवा खोला तर्दै ठुलो ढुङ्गामा बसेर ढिकीमा कुटेका चिउरा र कुराउनी मिसाएर खाजा खायौं । बेलुका हजुरआमा नातिनी दशैँमा बुढामावलीघर दामामा टीका लगाउन पुगेका थियौँ। हामी पूर्णिमाको दिनसम्म बसेर सबै आफ्ना आफन्त नातेदार सबैसँग भेटघाट गर्दै घुमी घुमी टीका लगायौँ । त्यतिबेला मेरो साहिलो भाइ अम्मरराजको घर हो यो भनेर हजुरआमाले चिनाउनु भएको थियो । मैले सानिमा पम्फा, उर्मिला,मीनालाई चन्द्रगढी २०३४ सालमा हजुरबा ज्ञानेन्द्र कोइराला कृषि विकास बैंक चन्द्रगढीमा कार्यरत हुँदा उहाँको साथमा बसेर टाइप सिक्दा सिक्दै सानिमाहरुसँग भेट भएको थियो भने मामाहरु कसैलाई पनि देखेकी थिइँन । मामा डा. गोबिन्द कोइरालाको नाम भने धेरै पटक सुनेकी थिएँ । पछि नयाँ प्रविधिले मोबाइलको सामाजिक सञ्जालमा आफ्नै मान्छे जस्तो लागेर जोडिन पुँगे । तर हाम्रो प्रत्यक्ष भेटघाट भने भद्रपुरले गरायो ।
जम्मा १८८ पेजमा लेखिएको " सानो मास्टर " यो पुस्तक २०८० सालमा प्रकाशित/ मुद्रक सर्वश्री क्वालिटी प्रिन्टर्स, बनेपा ८ काभ्रेपलाञ्चोक मूल्य ४००/- लेखिएको यो पुस्तकमा घरको अगाडि बसेर एउटा केटो पढिरहेको तस्विर छ । पुस्तकभित्र पसेर पढ्दै जाँदा " रोएर भइसकेको कुरा फर्किएर आउँदैन बरु कडा सामना गर्नु नै जीवन हो " दामा कल्से खोला तरेर लेखकका दाजु खगेश्वरले राति सुतेको मान्छेलाई उठाएर साबन ल्याएपछि भुतप्रेत हुन्न भन्ने प्रमाणित भएको रहेछ । पानी नदी चलायमान हुन्छ त्यस्तै दिमागलाई पनि चलायमान बनाउनुपर्छ, नत्र विकारहरू बस्न थाल्छन् । कुनै घटनाले सोचाइ नभत्काउन्जेल दिमागले पनि स्वच्छ भएर सोच्ने गर्छन् ।दिमाग स्वच्छ भएपछि मन स्वच्छ हुन्छ अनि मात्र जगतको भलो हुन्छ । जसरी बाढीले फोहोर मैला हटाउँछ त्यसैगरी चिन्ता र सोचाइहरुलाई सधैँ गुम्स्याएर राख्नु भने हुँदैन , त्यसलाई सही दिशा दिएर उपयोग गर्न जान्नुपर्छ । कति राम्रो लेख्नुभएको रहेछ डा. गोबिन्दले ।
मान्छे जता जता गए पनि जन्मेको हुर्केको ठाउँ नै सबैभन्दा नजिक हुने गर्दछ । कोइराला दावामा जन्मनुभयो १२वर्षसम्म त्यहीँको वनपाखा उकाली ओराली भोजपुर दामा दलगाउँ गर्दै हुर्किनु भयो, त्यसपछिका दिनहरु भद्रपुर काठमाडौँ अमेरिकाको ठुलो शहर बसे पनि दिल दिमागमा दामाकै झल्झली लेखकले याद गरेको पाइन्छ ।लेखकले १ कक्षा नपढी २ देखि नाम लेखेर उहाँ पहिलो स्थानमा पास भएपछि ३ नपढी ४ मा नाम लेखिन्छ। ५ नपढी ६ कक्षादेखि भने खुरुखुरु पढेको पाइन्छ । सानैदेखि तीक्ष्ण क्षमता भएका गोबिन्द उहाँ भित्र अद्भुत शक्ति भएको देखेँ मैले ।
" त्यो ट्याम्के डाँडा " यो शीर्षकमा कोइरालाकी ठुल्दिदी पम्फा शर्माको यथार्थमा लेखिएको सारै मार्मिक कथा छ । १४ बर्षमा विवाह हुनु, १५ बर्षमा सुत्केरी खौँला परेकी गाई सुत्केरी भएकी माइ भन्छन् त्यो स्थितिमा सौताको जिम्मा छोडेर निर्दयी पति जिम्मेबारीबाट पन्सिनु , " आँसुका साथमा भातको गाँस " निल्न नसकेर पम्फा बेवारिसे हुनु त्यसपछि माइतीले भेटेर बच्चा समाल्दिएर पम्फाले उच्चशिक्षा हासिल गरेर जीवनको गोरेटो पार गरेको पढ्दै जाँदा आँखाभरि आँसुले गह छचल्किन्छ ।
" कोठेबारीको बगैंचाभित्र " जीवनको बाटो आफैँ बनाउनु पर्छ । सङ्कल्प शक्ति सबैभन्दा ठुलो हो । गर्दा हुन्छ । गोबिन्दका सङ्घर्षका कहानीले धेरै प्रेरणा मिल्छ । पहिले काका लेखकका म्याथका गुरु हुनुहुन्थ्यो भनेपछि काका कृष्ण भतिज गोबिन्दका बिद्यार्थी हुनुभयो । त्रिविमा बिएडमा काकालाई पढाउनु भएको रहेछ । यो पाठमा दाजु खगेश्वर र फुपुको छोरा भानिज दाजुको पनि निकै मजाले बानीब्यहोराको चित्रण गरिएको छ । लेखक काठमाडौंमा पढ्न बस्दा बिरामी परेर त्यसपछि बिराटनगर,प्लेनमा आएर दाजु सीतारामसँग दलगाउँ बिमारी थकित शरीरमा लेखक आफ्नो घर दामा पुग्नुभएको मार्मिक कथा छ । कुनै पनि काम गर्दा हिम्मत हार्नु हुँदैन भन्ने राम्रो शिक्षा दिएको छ यो पाठले । " बदमासी नानाभाँती " शीर्षकमा लेखकले बाल्यकालमा गरेका उट्पट्याङ रमाइला काम गरेको वर्णन छ ।
" कलेजतिर बाटो लागेपछि " सिपी उनका असल साथी हुन्छन् । सिपी आइएस्सीमा प्रथम श्रेणीमा उत्तीर्ण हुन्छन भने गोबिन्द दोस्रो। सिपी बम्बईमा मेकानिकल इन्जिनियरिङ पढ्न छात्रवृत्ति लिएर जान छानिएका तर चेक जाँच गर्दा डाक्टरले तिम्रो आँखा कमजोर छ तिमी पढ्न जान पाउँदैनौ। भोलि आउनु ।
अझ राम्ररी जाँच्छु भन्छन् । यो केही होइन सय रुपैयाँ देऊ सब ठीक हुन्छ भने पछि सिपीको कन्सिरी तात्छ । " अजब संसारको गजब चलन " भारतीयहरू घुस लिन असाध्यै ख्याति प्राप्त रहेछन् भन्ने बुझेर उनले घुस दिन मानेनन् । भद्रपुरमा नै बि एड पढेर उनि खाँटी कम्निस्ट भएर निस्केका रहेछन् । यो पुस्तक पढेपछि मात्र थाहाँ पाएँ ।
" सपनामा तुषारापात " यो पाठले आफ्नो निर्णयले चल्नुपर्छ अरुको सल्लाह मान्न थाल्यो भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैँ हुन्छ । इन्जिनियर पढ्ने लेखकको इच्छा तर जति प्रयास गर्दा पनि छात्रवृत्ति नमिले पछि कोइरालाका पाइलाहरू बिस्तारै कीर्तिपुरको बाटोतिर लम्कन थाल्छन् ।
" न्युरोडतिर हिँड्दा " पढाइमा भोगेका संघर्षका दिनहरु यथार्थमा पोखिएका छन् । कर्म गर्न नछोड फलको आशा नगर भने झैँ अन्त्य सुरुमै थाहा भयो भने कसैलाई पनि कथा पढ्न मन लाग्दैन , त्यसैले भविष्य थाहा नभएकै बेस । न्युरोड तिर हिँड्दाका यस्तै मिठा सङ्घर्ष छन् । कमिलाले झै काम गरिरहनु
पर्छ । आफ्नो प्रयासबाट कहिल्यै पनि बिश्राम लिनुहुँदैन भन्ने सन्देश दिएको छ ।
" गुन्डागर्दीको बीचमा " सारै दर्दनाक कथा रहेछ यो पाठभित्र । निर्दोष मानिसले फटाहाहरुसँग सधैँ भरि त्रसित भएर बाँच्नुपर्ने केन्द्रीय छात्रबासको सत्य कथा , लेखकले भोगेको कथा , तर जे जस्तो भएपनि लफङ्गाको बीचमा बसेर परीक्षा दिए पनि बीएस्सीमा बोर्ड सेकेन्ड हुनुभएको रहेछ गोबिन्द । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ उहाँले सफलता हात पार्नु भएछ । दृढ सङ्कल्प नै मान्छेको सफलताको सिंढी हो ।
। " सानो मास्टर " चारदेखि पढाउन सुरु गरेर आफु सात कक्षामा पढ्दा पाँचौ कक्षासम्मका विद्यार्थीलाई हिसाब पढाउँदै आफु पढ्दै " काका कृष्णप्रसाद कोइराला ठुलो मास्टर गोबिन्द सानो मास्टर " सात कक्षादेखि नै स्कुलबाट महिनाको ७/- रुपियाँ तलब पाउनु हुँदोरहेछ । आठ कक्षा पास नगरुन्जेल उहाँका दिन विद्यार्थी र शिक्षकमा नै बितेका रहेछन् ९ कक्षा मादीमा पढेको देखिन्छ १० कक्षा पढ्छु भन्दा पढाइमा अवरोध आउँछ एक बर्षसम्म उनले बिहान पढाउने दिउँसो गाई बाख्राको रेखदेखमा दिन बित्छ । अर्को बर्ष भद्रपुरमा पढेर एसएलसी पास गरेपछि भने सानो मास्टरको पदवी हराउँछ । यति सानो टिप्पणीमा यत्रो किताब को के पो लेख्न सक्छु र । यस्तै आशा र निराशाको दोबाटोमा, साहित्यिक यात्रा, राष्ट्रकविसँगको भेट, बन्सेको बोट , फेरि ट्याम्के कै कुरा, बैँस चढेपछि विवाहका कुरा, गौँथलीको गुँड, हवाईको सेरोफेरो, दोश्रो पटक अमेरिका छिरेपछि, अमेरिकामा नोकरीको खोजी, एउटा दस्तखतको मूल्य यी नै शिर्षकमा लेखिएका कथाव्यथा छन् ।विवाहको पनि रमाइलो कथा छ भने एउटा नबुझिकन लेखिएको दस्तखतले मान्छे मरेर सारै पीडा दिएको छ। मान्छे कतिबेला कसरी फसिँदो रहेछ दस्तखत पढेपछि थाहा हुन्छ । यसरी यो उपन्यास मुटु जस्तै महत्वपूर्ण र सुन्दर छ अनि पठनीय एवम् सङ्ग्रहणीय पनि छ भन्न सजिलै सकिन्छ । साहित्यकार डाक्टर गोविन्द कोइराला ज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
मिति २०८१/११/११/ आइतबार
निजी निवास बिर्तामोड,झापा ।
"




