ईन्द्रकिल पहाडसँग’२०६८ यात्रा काव्य एक चर्चाः
‘ईन्द्रकिल पहाडसँग’ यो एक संक्षिप्त काव्य हो जसलाई स्वयं कृतिकार विजय खरेलले ‘यात्रा काव्य’ भनेका छन् । आफूले सिक्किम यात्रा गर्दा सिक्किमको भूगोलभित्र अवस्थित ईन्द्रकिलको पहाडलाई लिएर यस काव्यको रचना भएको छ । यसमा ‘ईन्द्रकिल’को पहाडी रम्य प्रकृतिलाई पे्रयसीका रुपमा र स्वयं कवि चाहिँ प्रेमीको रूपमा प्रस्तुत भएका छन् । कवि विजय खरेलले यस अघि अर्थात् २०६५ सालमा क्षितजवारि क्षितिजपारि शीर्षकको गीति काव्यको पनि रचना गरेका थिए । यी दुवै काव्यहरु आयामका हिसाबले औधि नै संक्षिप्त कोटीका देखिन्छन् । क्षितिजवारि क्षितिजपारि चौरत्तर पृष्ठको छ भने ‘ईन्द्रकिल पहाडसँग’ छियासी पृष्ठको रहेको छ । प्रकृतिको सौन्दर्यसँग मन्त्रमुग्ध हुने कवि विजयले प्रस्तुत यात्रा काव्य ‘ईन्द्रकिल पहाडसँग’मा पनि नथाकिकन नै छ्यासीपृष्ठभरि नै प्राकृतिक सौन्दर्यको वर्णन गर्न पुगेका छन् ।
प्रस्तुत लघु काव्यका कहीँ कतै पनि शीर्षक उपशीर्षकहरु रहेका छैनन् । छ्यासी पृष्ठको यस काव्यमा जम्मा छियासी वटा नै अंश वा टुक्राहरु रहेका छन् । हरेक टुक्रा कविताहरु बिस–बाइस पङ्तिमा बद्ध रहेका छन् । प्रकृतिको मानवीकरण गरेर काव्यकारले काव्यलाई अगाडि बढाएका छन् । यसो गर्दा काव्यको कथावस्तु निर्माण गर्न काव्यकारलाई सहज बनेको अनुभव हुन्छ, प्रस्तुत काव्यको कथावस्तु अत्यन्त क्षीण रहेको छ जसले गर्दा सर्वसाधारण पाठकले काव्यलाई सहज रूपमा रसास्वादन गर्न गाह्रो हुने देखिन्छ । दोहोरो सम्वाद(प्रेमी र प्रेयसी) हुँदै काव्य अगाडि बढेको थियो भने काव्य जो कोहीका लागि पनि पठनीय बन्ने थियो । प्रेम वर्णनमा आधारित यस काव्यमा एकाध ठाउँ बाहेक सबै ठाउँमा एकोहोरो प्रेमीको प्रेयसी लक्षित आत्मिक वाणी प्रवाह भएको पाइन्छ ।
ईन्द्रकिल पहाडलाई नारीका रूपमा आत्मसात गर्ने कविले यसमा ईन्द्रकिलको तुलना सीता, द्रौपदी, मान्द्री, कुन्ती, कैकेयी, देवयानी, भृकुटी आदिसँग गरेका छन् । नारीका सौन्दर्य र रौद्र दुवै रूपको वर्णन गरेका छन् । प्रेयसी ईन्द्रकिल माध्यमबाट नारी शक्तिको महिमागान गर्न खोजिएको छ ।
ईन्द्रकिल प्रकृतिकेन्द्री काव्य हो जसमा काव्यकारले मुक्त कण्ठले ईन्द्रकिल वरिपरिको परिदृष्यलाई उभ्याएका छन् । प्रकृतिका विचित्र रङरूपको अथवा भनौँ दीव्य सौन्दर्यको वर्णन गरेका छन् । जस्तो कि–
उपवन सल्लाघारीमा
कुहुकुहु जब बोलाउँथ्यौ
कस्तुरी खेल्ने बारीमा
फूल मुहार हल्लाउँथे रंगीन वनका घारीमा
रंगी बिरङ्गी बुट्टा भर्दै हरियो तिम्रो सारीमा
यसका साथै काव्यकारले यो पनि भनेका छन् कि सायद मान्छेको उदय भएपछि सर्वप्रथम उसले प्रकृतिबाटै पहिलो पटक सौन्दर्यबोध ग¥यो यानेकि सुन्दर वस्तुप्रतिको आकर्षण मान्छेले प्रकृतिबाटै ग्रहण ग¥यो । प्रस्तुत काव्यको पैंतालिसौँ अंश त्यसरी उदाहरण मान्न सकिन्छ जस्तो कि–
मान्छेको सौन्दर्य प्रेम
तिमीलाई हेरेर सुरु भएछ.....
सुगन्ध र सौन्दर्यको अक्षय भण्डार
तिम्रै हातमा थियो ।
प्रस्तुत काव्यमा ईन्द्रकिल नारी कि प्रतीकका रूपमा उभ्याइएको छ भने ती नारी भनेकी सिर्जना, रचना र निर्माणकी स्रोत हुन् र पुरुष सोही सौन्दर्यमा पुरक तत्व हुन् । नारी र पुरुष एकअर्काका परिपुरक हुन् । यही सौन्दर्य काव्यमा उल्लेख छ । त्यति हुँदाहुँदै पनि पुरुषले नारी अस्तित्वलाई नगन्य ठान्दै आफैँलाई सर्वस्व मान्दै आएको वर्तमा छ । प्रस्तुत काव्यको पैंतिसौ अंश त्यसको उदाहरण्ण मान्न सकिन्छ । जस्तो कि–
आमाहरुको इतिहास
नारीहरुको कथा
चेलीहरुको व्यथामा चुर्लुम्म ग्रस्त
मानव सभ्यता ....
काव्यकार विजय खरेलले यस काव्यमा यस संसारको सृष्टि र विनासको क्रमबारे पनि उल्लेख गरेका छन् । आफ्नी सुन्दरी प्रेयसी (ईन्द्रकिल पहाड) सामु प्रेमी भन्दछन् कि यस संसारका सारा वस्तु नासवान छन् । स्थायी छैनन् । अरु त के कुरा हे प्रियसी, तिम्रै रूप यौवन पनि एक न एक दिन विलोप भएर जानेछ । पृथ्वीमा प्रलय, आँधि आइरहन्छ र पुराना कुराहरु त्यसैमा परेर नासिन्छन् र नयाँ अर्कोको उदय हुन्न्छ । यो संसारिक कुरा हो । यसो भन्दै प्रियसी ईन्द्रकिल सामु प्रेमी भन्छन्–
भोलि जब प्रकृतिले कोल्टे फेर्ली
प्रलयको उतुङ्ग प्रवाह बग्ला
ब्रम्हाण्डको मान चित्र मै
नवीन उपमेय सृर्जित होला ...
तिम्रो मोहक सौन्दर्य र
मेरो सौन्दर्य बोध
कोनि कहाँ पुग्ला ?
प्रस्तुत काव्यको अर्को महत्वपूर्ण पक्ष भनेको कर्मवादी चिन्तनको प्रस्तुति हो । कविले नारी वा स्त्री जातितिर संकेत गर्दै यस संसारमा सृष्टि वा रचना कि कारक नै नारी हुन् भनेका छन् । प्रस्तुत काव्यको अन्ठाउन्नौँ अंशलाई हेरौँ –
कर्मयोग कि प्रेरक माली
मुग्ध प्रकृति मक्ख प्रवृत्ति
कारण र कारक कर्म बनेकी
स्रोत अदृश्य छ, हात अस्पृश्य छ ।
सिङ्गो यस काव्यमा कविले मानव र प्रकृतिको अन्तर सम्बन्धको पनि खुलेर वर्णन गरेका छन् । जहाँ मान्छेका प्रति प्रकृतिले हार्दिक वा उदात्त भाव राखेको चर्चा छ । मान्छे परम स्वार्थी छ । त्यही ठाउँमा प्रकृति भने उदात्त वा हार्दिक । काव्यको पच्चीसौँ अंशमा त्यसकुराको पुष्टि पाइन्छ । जस्तो –
मान्छेले तिमीलाई (प्रकृतिलाई) पद दलित पार्दै
तिमी मै बाँचेको छ
मान्छेले तिम्रो काखमा स्वर्ग पायो
तर तिमीलाई नै बिर्सियो ...
अझ भन्ने हो भने कविले सिङ्गो प्रकृतिलाई सारा मानव जगत कि जननीका रूपमा स्वीकार गर्दै प्रकृतिको यसरी महिमागान गरेका छन् । पचपन्नऔँ अंशलाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ । जस्तै –
नारी हौ अझ बढी आमा हौ तिमी
सृष्टिककी उन्नत रचना ...
यसै काव्यको बत्तिसौँ अंशमा पनि उनै कुरा उल्लेख छ, जस्तै–
मातृत्व मूल्यमा पाइन्न
मातृत्व सागर सुक्तैन ।।
काव्यको भाषागत पक्षः
प्रस्तुत काव्य(ईन्द्रकिल पहाडसँग)मा भाषागत सरलता पाइन्छ । सर्वसाधारण पाठकलाई काव्यभित्रका शब्दहरुले उतिधेरै माथापच्चिसी गराउँदैन काव्य बुझ्नका लागि ।
नेपाली भाषामा बहु प्रचलित रहेका संस्कृत शब्दहरुको प्रयोग धेरै भएको पाइन्छ । काव्यकार विजय खरेल आफैं झर्रोवादका पक्षधर रहेकाले यस काव्यभित्र प्रसस्त नेपाली झर्रा शब्द परेका छन् । आम नेपालीले प्रायः नै व्यवहारमा ल्याउने शब्दहरु जस्तै कि मुखेन्जी, चोरबाटो, मझेरी इत्यादि जस्तै धेरै शब्दहरु यस काव्यमा परेका छन् । त्यसैगरी काव्यमा मिथकको प्रयोग पनि औधि नै पाइन्छन् । हाम्रा धर्मग्रन्थ, रामायण, महाभारत पुराण इत्यादिबाट मिथकीय शब्दहरु लिइएको देखिन्छ । त्यसको उदाहरणका रूपमा – अभिमन्यु विश्वामित्र, सिता, भृकुटी मेनका कुवेर आदि जस्ता शब्दहरुलाई लिन सकिन्छ । मिथकको प्रयोगले सिङ्गो काव्य नै ओजपूर्ण बनेको छ ।