१९ देशका कथाकारको सहभागिता, चेतनाथ आचार्य प्रथम

दिलिप घिमिरे · मंसिर ७, २०८३ ४:०८ PM
Cover Image for News

झापा ६  मङ्सिर  / नेपाली कथा लेखनको दायरा देशको सीमाबाहिरसम्म फैलिँदै गएको छ। बाह्रखरी मिडियाद्वारा आयोजित ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ को आठौँ संस्करणमा नेपालसहित १९ देशका कथाकारले सहभागिता जनाएका छन्। प्रतियोगितामा चेतनाथ आचार्यको कथा ‘भोटेकोशीको सुसाहट’ प्रथम भएको छ।

आइतबार काठमाडौँमा आयोजित समारोहमा नतिजा सार्वजनिक गर्दै आचार्यलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको हो। मधुर भट्टराईको ‘सपनाको अर्को रङ्ग’ दोस्रो हुँदै एक लाख र सरस्वती सरसको ‘अस्तित्वको अल्गोरिदम’ तेस्रो हुँदै ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए।

प्रतियोगितामा प्राप्त एक हजार २२९ कथामध्ये उत्कृष्ट २५ छनोट गरिएको थियो। ती कथाको सङ्ग्रह ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ पनि समारोहमा लोकार्पण गरियो। आख्यानकार नयनराज पाण्डेद्वारा सम्पादित उक्त सङ्ग्रह पब्लिसिङ पार्टनर फाइनप्रिन्टले प्रकाशन गरेको हो। उत्कृष्ट २५ मा परेका विजेताबाहेक अन्य २२ कथाकारलाई जनही सात हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

उत्कृष्ट २५ मा अनिता कोइराला, अपेक्षा कार्की, आशीष श्रेष्ठ, कान्ति न्यौपाने, कुशल गौतम, गरिमा आचार्य, चेतनाथ आचार्य, चेबन शर्मा, दीपेन्द्र विष्ट, निर्मल ढुंगाना, प्रकाश राई, प्रवीण याम्फु, बद्री अधिकारी, मधुर भट्टराई, ममता राई, मसान उपासक, युवराज भट्टराई, रजनी ढुंगाना, राकेशकुमार वर्णवाल, राजेन्द्र तारकिणी, श्रेयज सुवेदी, सपना अधिकारी, सरस्वती सरस, सुधन सुवेदी र डा. सुरेन्द्र गैरे रहेका छन्।

प्रतियोगितामा नेपालबाहेक भारत, चीन, संयुक्त अरब इमिरेट्स, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, कुवेत, साउदी अरब, इजरायल, कम्बोडिया र इन्डोनेसियाका नेपाली कथाकारले सहभागिता जनाएका थिए।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले विजेता तथा उत्कृष्ट कथाकारलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए। कथा छनोटका लागि गठित बाह्य निर्णायक समितिको संयोजक अग्रज कथाकार भुवन ढुंगाना थिइन्। समितिका सदस्यमा समालोचक डा. ज्ञानु अधिकारी र लेखक तथा चलचित्रकर्मी खगेन्द्र लामिछाने थिए। आन्तरिक मूल्यांकन समितिको संयोजन बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीले गरेका थिए।

कथालेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले बाह्रखरी मिडियाले विगत आठ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्ष प्रतियोगिताको टाइटल स्पोन्सर डिगो एप रहेको थियो भने सांस्कृतिक अभियानमा सूर्य नेपाल गाथाको साथ थियो। सहयोगी संस्थामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नासा सेक्युरिटिज, सिटी एक्सप्रेस मनी ट्रान्सफर, युनाइटेड अजोड इन्स्योरेन्स, यती एयरलाइन्स, वेदालय ग्रुप र करुणा फाउन्डेसन रहेका थिए।

ट्यागहरू:
कथा साहित्य ##
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू