आर्यान प्रसाईंको कविता - पानी

आर्यान प्रसाईं · भदौ १८, २०८३ १२:२० PM
Cover Image for News

आजकल 
पानीसँगै कुरा गर्छ 
कहिले आफैं सोध्छ 
यति धेरैपानी एकैचोटि कहाँबाट आयो होला? 
फेरि आफैं भन्छ, पानी त हरेक साल पर्छ नि ।
 कहिले कम, कहिले बढी
 यति भन्दै ऊ चूप लाग्छ
उसले सानैदेखि मनसनु देखेको छ 
आगँनमा पानी जमेको देखेको छ
खोलो बढेको देखेको छ
तर यस्तो खोलो मान्छेको घरभित्रै पसेको 
पहिला कहिल्यै देखेको थिएन 
मायाले हिँजो बेलुका मात्रै 
आमालाई फोन गरेकी थिई 
‘पानी धेरै परेको छ’ भनेकी थिई
‘चिन्ता नगर्नू’ पनि भनेकी थिई
आज फोन लाग्दैन
 बीरबहादुर आफैंसँग सोध्छ 
- फोन नलाग्नु भनेको मान्छे नहुनुहो र ? 
उत्तर आउँदैन
बाहिर अझै पानी परिरहेको छ
ऊ फेरि सम्झन्छ - त्यो घर, त्यो आगँन 
पानी ढोकामाथि झुण्डिएको
पुरानो घडी, 
भित्तामा टाँसिएको
भगवानको फोटो, 
मायाको सानो भाइले 
स्कुलबाट ल्याएर राखेको कापीहरू
 ती सबै कहाँ गए होलान्? 
पानीले घर बगाउँदा सामान मात्रै बग्छ कि 
मान्छेको दिनचर्या पनि बग्छ?
उसले आफैंलाई
सम्झाउँछ-मान्छे त बाँच्छन् नि ! 
कसलाई उद्दार गरिन्छ
कोही पौडिएर निस्किन्छन्
 कसैलाई छिमेकीले तान्छन्
 तर कसैलाई कसैले तान्न नपाउँदै 
पानीले धेरै टाढा लगिसकेको हुन्छ
यही सोचेर ऊ फेरि चुप लाग्छ
बाढी रोकिएको खबर आउँछ
 तर पानी घटेपछि गाउँमा 
पानीभन्दा धेरै नामहरू बाँकी छन
कोही हराएको
 कोही भेटिएको
कोही भेटिएर पनि बोल्न नसकेको
कसैले आफ्नी छोरी खोजिरहेको छ
कसलै बाबु,  कसैले श्रीमती
कसैले आफ्नो छोरो,

मृतकको सङ्ख्या
बिस्तारै बढ्दै जान्छ
बीरबहादुर त्यो सङ्ख्या
गन्नु छ र
फेरि आफैंसँग
कुरा गर्छ - सङ्ख्या भनेको के हो ?
एकसय, दुईदस, हजार

हजार भनेपछि कति अनहुार हुन्छन्?
कति आमाहरू?
कति बाबुहरू?
कति अधुरा घरहरू?
कति खाली ओछ्यानहरू?
उसले गन्न खोज्छ
गन्न सक्दैन मायाको नाम अझै भेटिएको छैन
ऊ राहत शिविर पुग्छ
मान्छेहरू बसिरहेका छन
 कसको शरीरमा हिलो सुकिसकेको छ
 कसको आँखामा अझैपानी छ
 एउटी बुढीआमा बारम्बार एउटैकुरा सोधिरहेकी छिन्
- मेरो मान्छेआयो ? कसैले केही भन्दैन
 बीरबहादुरलाई लाग्छ उनी फेरि सोध्नेछिन।
र फेरि पानी
र फेरि उसले सुन्न नसक्ने
गरी आफैंसँग भन्छ-पानी त रोकियो नि आमा
 तर त्यो भन्न पनि सक्दैन
 किनकी उनले खोजेको मान्छे 
पानीसँगै गएको हुन सक्छ बिस्तारैसाँझ पर्छ
खोलो अलि कति शान्त भएको छ
 तर किनारमा अड्किएका काठका टुक्राहरू, 
कपडाहरू, फुटेका भाँडाहरू, 
कुनै बच्चाको जुत्ता अझै देखिन्छन
बीरबहादरु एउटा जुत्ता उठाउँछ
 सानो छ, धेरैसानो 
उसले त्यसलाई हातमा समातरे धेरैबेर हेर्छ
 कसको होला ? मायाको भाइको ? 
कुनै अपरिचित बच्चाको ?
 कि अब कसको पनि होइन ? 
पानी ऊ जुत्ता
त्यहीँ राखिदिन्छ। 
आफैंसँग फेरि प्रश्न गर्छ
 - मान्छे हराएपछि उसको सामान मात्र बाँकी रहन्छ?

कि उसको आवाज पनि कतै
बाँकीरहन्छ?
उसलाई मायाको
हाँसो सम्झना आउँछ
आमालाई सम्झना आउँछ
 त्यो घर सम्झना आउँछ 
फोनमा अन्ति म पटक सुनेको
 ‘चिन्ता नगर्नू’ भन्नेआवाज सम्झना आउँछ
अनि उसलाई अचानक लाग्छ
 - चिन्ता नगर्नू भन्नेहरू नै कति धेरै हराएछन्! 
रात पर्छ 
कतै एम्बुलेन्सको आवाज आउँछ
कोही कराउँछ - फेरि पानी बढ्यो ! बीरबहादरु उठ्छ
 केही क्षण आकाश तिर हेर्छ
बादल छ, हावा छ, अँध्यारो छ
 उसलेफेरि आफैंसँग सोध्छ 
पानी साँच्चै बगेर मात्र जान्छ त?
कि केही पानी मान्छेको
आँखामा, मान्छेको सम्झनामा, 
मान्छे नभएको घरको खाली आँगनमा बसिरहन्छ ? 
ऊ केही बोल्दैन
केहीबेरपछि मोबाइल बज्छ
स्क्रिनमा एउटा अपरि चि त नम्बर छ
 बीरबहादुर हेरेको हेर्यै हुन्छ
फोन फेरि बज्छ
 ऊ उठाउन खोज्छ
 तर हात किन हो कुन्नि त्यहीँ रोकिरहन्छ…

ट्यागहरू:
literature samachar sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
साथी
साथी
✍️रीदम गिरी, पोष्ट-दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
एक्लो बाटोको गीत
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
म मरेको दिन…
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६
मूर्तिको आँखाभित्रको देश
मूर्तिको आँखाभित्रको देश
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६