मूर्तिको आँखाभित्रको देश
कविता
- दिलिप घिमिरे
´मूर्तिको आँखाभित्रको देश`
आँगनको माटो थियो,
औँलाले छोएपछि
अनुहार बन्न खोज्थ्यो—
बुबाको हातमा
देवता बन्थे,
म भने
त्यही माटोमा
आफ्नो भोलि खोज्थेँ।
हजुरबुबाका औँलाबाट
झरेका रेखाहरू
बुबाको हात हुँदै
मेरो हातमा आइपुगे।
कुनै किताबमा लेखिएन—
माटोले नै
पुस्तौँदेखि
हातको न्यानो बोकेर ल्यायो।
त्यसैले
म ढुङ्गा कुँद्दा
ढुङ्गा मात्र कुँदिनँ,
त्यसभित्र
पुरानो आवाज सुन्छु—
पुर्खाको पसिना,
आमाको आँगन,
चाडपर्वको गन्ध,
र गाउँले विश्वास गरेको
देवताको अनुहार।
मूर्तिको आँखामा
आँखा हाल्नुअघि
म आफ्नै आँखामा हेर्छु—
त्यहाँ
म को हुँ भन्ने प्रश्न,
आएको बाटोको इतिहास
र
अझै कोर्न बाँकी
एउटा रेखा।
कहिलेकाहीँ
यन्त्रले मभन्दा छिटो
अनुहार बनाइदिन्छ,
औँलाले नभ्याएको काम
पर्दाले गरिदिन्छ।
तर
माटोको गन्ध
कुन औँलाले नक्कल गर्छ?
कम्प्युटरले
आँखा बनाउन सक्छ,
तर
आँखाभित्रको पीडा
कहाँबाट ल्याउँछ?
म आफ्नो हात
बिर्सन चाहन्नँ—
मेरो हातमा
औजार मात्र छैन,
पुर्खाको स्मृति छ।
मूर्ति बनाउनु
आकार दिनु मात्र होइन,
कहिलेकाहीँ
हराएको अनुहार फर्काउनु,
नबोल्नेलाई
आँखा दिनु हो।
म कुँदिरहन्छु—
कहिले देवता,
कहिले मान्छे,
कहिले इतिहास।
हिम्मतले
ढुङ्गामा हात राख्दा
ढुङ्गाभित्रको मौनता
बोल्न थाल्छ।
हरेक मूर्तिको आँखामा
म एउटै देश देख्छु—
अधुरो,
कुँदिँदै गरेको,
आफ्नै अनुहार
खोजिरहेको देश।
यी हातलाई
ताली मात्र नदेऊ,
पुरस्कारले नछोप—
काम देऊ,
बजार देऊ,
कार्यशाला देऊ,
नीति देऊ।
मूर्तिकारको हात
ढुङ्गा मात्र कुँद्दैन—
संस्कृति जोगाउँछ,
सीप पुस्तौँसम्म पुर्याउँछ।
र जब कुनै दिन
मेरो कुँदेको मूर्तिले
आँखा खोल्नेछ,
सायद
उसको आँखाभित्र
मूर्ति होइन—
आफ्नै अनुहार खोजिरहेको
एउटा देश देखिनेछ।
(मूर्तिकार हिम्मत नेम्बाङको जीवनीमा आधारित कविता )
-शिवसताक्षी,झापा