म मरेको दिन…
कविता
म मरेको दिन…
——————✍️ कर्ण गुरुङ
म मरेको दिन…
सायद तिमी पहिलोचोटि
साँचो एक्लोपन बुझ्नेछौ।
भीडको बीचमा उभिँदा पनि
तिमीलाई मेरो अभावले
भित्रभित्रै खान थाल्नेछ।
हाँस्न खोज्नेछौ,
तर आँखाले साथ दिनेछैन।
रातको कुनै दुई बजे
मेरो पुरानो फोटो हेरेर
तिमी चुपचाप रुनेछौ…
किनकि त्यो बेला
“कस्तो छौ?” भनेर सोध्ने
म हुनेछैन।
तिमी मलाई खोज्नेछौ
पुराना गल्लीहरूमा,
हामी बसेको त्यो चिया पसलमा,
त्यो बाटोमा
जहाँ तिमीले मेरो हात समातेका थियौ।
तर हेर !
त्यहाँ अब मेरो पाइला हुनेछैन।
तिमी धेरै कुरा भन्न चाहनेछौ मलाई—
“माफ गर…”
“नजाऊ…”
“फर्केर आऊ…”
तर चिहानमाथिको माटोले
कहिल्यै उत्तर फर्काउँदैन प्रिय।
एक दिन
तिमीलाई मेरो आवाज यति सम्झना आउनेछ
कि हावाले झ्याल छोएको आवाजमा पनि
तिमी झस्किनेछौ।
फोनको रिङ बज्दा
एकछिन लाग्नेछ—
सायद म नै हुँ भनेर…
तर होइन,
म त त्यतिबेलासम्म
तिम्रो सम्झनामा मात्र बाँचेको
एउटा अधुरो मान्छे हुनेछु।
म मरेको दिन
तिमीले बुझ्नेछौ—
म रिसाएको होइन रहेछु,
म त भित्रभित्रै
टुटिरहेको रहेछु।
तिमीले बुझ्नेछौ
कति माया गर्थेँ भनेर,
कति रात तिम्रो यादमा रोएँ भनेर,
कति चोट लुकाएर
तिम्रो अगाडि मुस्कुराएँ भनेर।
तर त्यो दिन
धेरै ढिलो भइसकेको हुनेछ…
किनकि मान्छे मरेपछि
उसको शरीर मात्र होइन,
उसलाई फेरि अँगालो हाल्ने
अवसर पनि मर्छ।
र त्यसपछि
तिमी जीवनभर
मेरो नाम सम्झेर बाँच्नेछौ…
तर म?
म त केवल
तिम्रो आँखाको आँसुमा बाँचेको
एउटा दुःखी कविता हुनेछु।
©️