आमा

राधेश्याम लेकाली पोष्ट - खगिन्द्रा खुसी · साउन १८, २०८१ ८:३३ AM
Cover Image for News

यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर 
 आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु
 सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु 
 स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु 
 सूर्यको उज्यालो र न्यानोमा तिमीलाई नै छामिरहेछु 
 आमा ! तिमी आदरका साथ मनभित्र सजिएकी छौ 
 आमा ! तिमी श्रद्धाका साथ आस्थाभित्र सजिएकी छौ । 

यो विस्मृतिको बादलहरूको थुप्रो हटाएर
 आमा ! तिमीलाई कर्णको मनले सम्झिरहेछु 
 चिसो वर्तमानमा उभिएर 
 आँखामा सजिएका विस्मृतिहरूमा तिम्रो वात्सल्यको ममतालाई सम्झिरहेछु 
 पीडादायी वर्तमानलाई एकलव्यको दृढतामा उभिएर
 मनमा सजिएका विस्मृतिहरूमा तिम्रो न्यानो मायाको हौसला सम्झिरहेछु 
 आमा ! तिमी आदरका साथ मनभित्र सजिएकी छौ 
 आमा ! तिमी श्रद्धाका साथ आस्थाभित्र सजिएकी छौ । 
 यो विस्मृतिको काला रातहरूलाई पन्छाएर 
 आमा ! तिमीलाई मेरै मनले सम्झिरहेछु 
 घात र प्रतिघातको जालझेलको सत्तामा उभिएर 
 आँखामा तिम्रो सन्तानप्रतिको निस्वार्थ प्रेमभाव सम्झिरहेछु 
 अभाव, समस्या र अशान्तिको थुप्रोमा उभिएर 
 मनमा तिम्रो सन्तानप्रतिको निस्वार्थ वात्सल्य सम्झिरहेछु 
 आमा ! तिमी आदरका साथ मनभित्र सजिएकी छौ 
 आमा ! तिमी श्रद्धाका साथ आस्थाभित्र सजिएकी छौ । 
 हो आमा !
 आँखामा सजिएका विस्मृतिहरूमा 
 तिम्रो उज्यालो अनुहार सम्झिरहेछु 
 तिम्रो न्यानो हातको स्पर्श सम्झिरहेछु 
 माईखोलाको चितामा बिदा भएकी तिमी 
 दुर्गा, काली, लक्ष्मी र सरस्वतीमा तिम्रो रूप देखिरहेछु 
 चिसो हावामा तिमीलाई सम्झिरहेछु 
 मीठो निद्रामा तिमीलाई सम्झिरहेछु 
 मेरो स्वास–स्वासमा तिमीलाई सम्झिरहेछु 
 मेरा आँखाहरूबाट निस्किएका आँसुमा तिमीलाई सम्झिरहेछु ।
 
 
 राधेश्याम लेकाली

ट्यागहरू:
सहित्य कविता literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रातसँगै पलाएको सपना
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६