यात्रारत छौं हामी

पुण्य खरेल पोष्ट-दिलिप घिमिरे · असोज १, २०८१ ९:५१ PM
Cover Image for News

 यात्रारत छौं हामी
               - पुण्य खरेल

ती दिनहरु थिए
 जहाँ
 आस्थाका सद्बीज छरेर हामीले
 विश्वासका लालुपाते हुर्काएका थियौं
 उज्यालो जीवनको पर्खाइमा
 अचम्मै रमाएका थियौं हामी,
 हामीले खुशीहरु साँटेका थियौं र
 सबै-सबै कहर कष्टहरु बिर्सेका थियौं ।
 कोइलीहरु कराउँदैमा
 नआउने रहेछ बसन्त !
 भाले बास्तैमा
 विदा लिन नहतारिने रहेछ रात
 र, उज्यालिँदो रहेनछ धर्ती !
 मान्छेको नलीहाड फुकेर
 मान्छेकै स्वस्तिशान्ति गाउन थालेपछि
 बुद्ध, तिमीलाई हामीले अलिकति अविश्वास गर्यौ
हाम्रो के अपराध छ यसमा ?
भोलिको सुन्दरता देख्न
रातको गर्भलाई स्विकार्छ मान्छे
यसै विश्वासमा ताल मिलायौं
जता, जसो र जसरी सिकायौ
हामी नाच्यौं, उफ्र्यौं र कुद्यौं
तिमीलाई तपाईं र हजुर बनायौं
तर पछि लाग्दैमा
गन्तव्यमा कहाँ पुगिँदोरहेछ र ?
सुनिएका सबै आवाजहरु
जीवनका गीत बन्दारहेनछन् 
बज्न त श्मशानमा पनि बज्छ शङ्ख
तर त्यसले
जीवनको सङ्गीत नभर्दाे रहेछ ।
तिम्रा लोरीहरुमा नलठ्ठिदिँदा 
तिम्रा तालहरुमा नमर्किदिँदा
अनि,
हाम्रो सानो विवेकले
तिमीलाई मुखिया मान्न हिच्किचाहेछ भने
यसमा कहाँनिर भयो हाम्रो अपराध ?
तिमीमाथिको भरोसामा
थोरै अविश्वास हुँदैमा
तिम्रो अदालतले दोषी करार गर्छ भने
हामी सहर्ष स्विकार्छौं तिम्रो अभियोग ।
सुन्दर जीवनको प्राप्तिमा
हामी त अहिले पनि हिडिनैरहेछौं 
उज्यालोको खोजी
अहिले पनि जारी नै छ हाम्रो
हामी चाहन्छौं–
धरतीका यी उबडखाबडहरु सम्म्याएर
एउटा सरल राजमार्ग बनोस्
जहाँ
निर्बिघ्न जो कोही उभिएर
जीवनको गीत गाउन सकोस्
जीवनको सङ्गीत भर्न सकोस् !!
(मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलको आज निधन भएको छ।सं.)

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५