'मिल्ती' र 'फुट्ती'-काे राेग हरिराम र ऐंसेलु झाँगेमा पनि सरेछ ! - व्यंग्यनारान पाँडे

खगिन्द्रा खुसी · असोज १५, २०८३ ९:४७ PM
Cover Image for News

अत्यन्त डराएकाे वा धेरै थाकेकाे जस्तै लुत्रुक्क देखिने हरिराम बाजे, आज बिहान परेकाे एक झर्काे पानीमा भिज्दै, आँगनकाे गेट खाेलेर भित्र पस्तैगर्दा मात्र पाँडेले देख्याे । केही हप्ता अघिसम्म लगभग दिन्हाैं जसाे टुन्न मातेर आउने र 'नेपाल-मेड अरिजिनल ओली-ब्राण्ड'-ले चर्चित अहंकारी, घमण्डी, बखेडे, फतुरे, डेउढे, छुल्याहा, लुच्चाे-छुच्चाे व्यहाेराकाे धक्कु हाँक्थ्याे । र, हरेक पटक अन्त्यमा 'केही नलाग्ने भएपछि' पाेहाेर भदाै २४ गते काेही भागे जस्तै' दुम दबाएर भाग्थ्याे । तर, बीचका केही हप्ता पाँडेकहाँ नआएकाे ऊ आज ती त्यसरी आएकाे देख्ता पाँडेले मनमनै -'आज के भएर याे यसरी ओइलाएर आयाे फेरि हँ ? पक्कै कुनै घटना भएकाले गन्गनाउन आएकाे हाेला' मन्ने अनुमान लाएकाे थियाे ।...
       साँच्चै ऊ लाेते-लाेते पाराले  पाँडेकाे बार्दलीमा उक्लियाे र  सानाे टुल चाहिँ अलिक पछाडि तानेर बसेपछि लामाे सास तान्याे र भन्याे-"खाेइ हओ मलाई त त्याे ऐंसेलु झाँगे हन्मतले एस ठाउँमा बस्न नदिने भाे हओ पाँडेजी ! कैले मुसीकी मम्मीकाे, कैले रामदुलारी र कैले कस्काे बात लाउने जैसा कुरा गर्दै हिन्छ अरे । कसैले मेराे नाम उचार्णासात 'म त तेसकाे नाम लिनासात  मुक कुल्ला पाे गर्छु' पनि भन्दै हिन्छ अरे !"..
       पाँडेले उसका कुरालाई महत्व नदिए जस्ताे भान पार्न पर-पर बाटाेतिर आँखा डुलाउँदै भन्याे -"अनि मृत्युपछि पनि सँगसँगै साेर्ग-सँगसँगै नर्क जाने भनेर यस क्षेत्रमा गतिविधि गर्ने गठबनधन गरेकाे भनेर फुर्ति हाँकिहिन्थ्याै त तिमेरू ? अहिले के भाे र ओख्खर-पांग्रा भयाै त फेरि हँ ? फ्याट्ट मिल्ने, मिलेका बेला एक-अर्काकाे 'सात खुन माफ' भन्या जस्ताे गर्ने, फेरि काे 'एक नम्बरी हुने' - काे 'दुई नम्बरी हुने' भन्ने अहमत्याइँकाे रडाकाे गरेर फुट्ने अनि गुरुप्रसाद मैनालीकाे 'परिबन्द' कथा जस्तै मच्चडकाे निउँमा उकुर्जीका बखेडा उठाएर एकार्कालाई फँसाउन दाैढधूप गर्ने अनि  त्यसमा जित्नेले हार्नेकाे पानीखेदाे गर्ने मूर्खता घरिघरि तिमी र ऐसेलु झाँगेका बीचमा किन हुने गर्छ हँ ? उही 'उखाने-बखाने बा' भर्सेस 'मुन्टाे र कुम नचाएर सँधै ढाँट कुरा कथुर्ने' दुई नेता जस्ताे क्या ! भैगाे  ल, छाेड याे खुराफात, फेरि कुन दिन कैलु बिहारीकाे ठर्रा-दारु दाेकानकाे छाप्राेमा मात्न पुग्छाै र अँगालाे मारेर माया-पिरतीकाे गीत गाइरहेकाे भेटिन पनि सक्छाै तिमेरू  !"
       पाँडेले भनेका कुरा उसकाे खाेपडीमा कति पस्न सक्थ्यो  र भला ! उसले एकाेहाेराे सुन्याे-सुन्याे र फेरि मुखले लामाे सास तानेर नाकबाट फ्याँकेपछि भन्याे -"पैलाे कुराे त काेर्रिआकाे उन्निफिक्केसिन चरच नामक किस्थानकाे मन्धिरतिराड ओैतारमा आकी  मुन माता क्या त हाँक जा हान्मुन भगाेति माता ? ... ती क्या त पाेरप्रार काटमाडुँमा पर्कट भकी ट्याममा हामेरका बा मउसुपले पर्दानमन्त्रीकै हइसेतले साेल्टी कि साेल्टिनी हुटेलाँ ओड्ने-ओछ्याउने, कुम्लाे-कुटुराे, सुइझारल्यानदेखुन् झिकाकाे खानेपानीका बदल सइत चा-चार रात बासै बसेर भक्तिभाउले भज्जन-कीर्तन  गरेर चाइँनेकेरे ती भगाेती माताबड 'गुट गाेबरम्याननाँस एभाट्' भन्दै एक लाक डल्लर पुरुस्कार पनि फुस्काका थेनन्, क्या त ? ती क्या त 'हाेल्ली ह्वाइन्' ब्राणकाे साेर्गकाे पइत्र दारु बाेकेर किस्थानी इस्टाएलकाे साेरूपमा साेर्गबड ओर्लेर लास्टाँ काेरिआ देसकाे पिलेन चढेर  प्रकट ..."
       उही सत्राैं पटक सुनेर कान थाेत्रिसकेकाे कुरा तन्काएर हरिरामले दिन चर्लक्कै खाने छाँट देखाएपछि उसलाई उछिन्दै पाँडेले भन्याे -" भई गाे, त्याे बेलिबिस्तार किन लाइराखेकाे हओ बाजे ! मलाई जम्मै थाहा छ । बरू तिमेरकी ती मुन भगवती माता बारे  के भन्न खाेजेकाे तिमीले, त्याे चाहिँ भन न ।"उसले सम्हालिएकाे आभास दिँदै भन्याे -"ती भगाेती मुन माता झ्याखान परिछिन् नि ! बिचारी नउ-नउ जाना छाेराछाेरीकी मम्मी त्र्यासी बर्खकी मैला भगाेती माता ! ...हन हामेरका टप-टप नेता मउसुपहेरू पनि...छ्याः । तिनै मुनकाे कम्पनीकाे अर्जिनिल ब्रान 'हाेल्ली ह्वाइन् नामक दरु' सुइँठ्याउन र 'गुट गाेबरनाँस एभाट' पाउने लच्छे पूरा गर्णकै लागि तेत्राे भक्ति गरेका रछन् अनि अैले चइँ नसुन्या झ्याइँ गर्छन् भनम् भने पनि अैले भाेटे बाढीतिर लाग्नु पर्या छ, 'आँखा छाेपी  पाेल्टिसकाे खेती गर्णु परया छ' ! 'साँच्चाे कुराे भनम भने भन्नइँ नहुने' त याे पाेल्टिस माेराकाे जातै हाे ! ....भन्ने मेरा मुनमा आ'पछि पेटाँ भामट हेडेक भाे कि अन्तखेरी मैले दारु-उरु खाने हेबिट मबड एब्दमै गेटाउट गरें । अैले म दारुकाे निसाले एब्दम इस्टङली चापेर सारै पर्दा मत्तै भद्रपुरमा ताे माल, माने गाँजा-भाङ र बाउन् सुग्गर, ...बेत्ने 'गेप्पे साउ'-काँ सुटुक्क ग'र चाइँनेकेरे सर्काका हिसापले दाम तिरेर कैले ए'दुई सर्का र पाेइसाेले पुग्धाहुँदी चार्पान सर्कासम्मन पनि तान्छु । ताे पढ्के जाँडक्सी त 'कम्पेट्ली नट् एल्लाउ' नै छ नि  मेरा मुखाँ अस्ति ती भगाेती झ्यालखान परेकी निउच बाेडकास भका दिनदेखुन् ! अैले गाेजीमा सुकाे नभकै ट्याममा ताे घट्ना घटेर एक दिस्टकाेनले त सन्जाेक ठिक्ठिकै जस्ताे पाे परेछ भनम् न ।"
       पाँडेले झर्काे मान्दै भन्याे -"अनि किन मलाई सुनाइराखेकाे त्याे तिम्राे थाेत्रे कुरा  ?"
       उसले जिउ मराकमुरुक हल्लायाे र निधार चाउरी पार्दै घाेर्ले स्वरमा भन्याे -"अनि अगि किन म र ताे ऐंसुलु झाँगे फेरि कैले  तेइ बेहारीकाे छाप्रे दारु दाेगानमा मात्न पुगेर फेरि-पुनहँ मिल्ती गरेर गीद गाउँछाै हाेला भनेर सस्पेट गरेकाे त ? म कुराे मत्तै हाेइन कुराेकाे हजुरबाऊ पनि बुद्छु क्या ! म न त कुनै तुक्का जाेडेर मनमाेइनी कुरा हाँक्न जान्ने व्याक्ति हुँ न ताे ऐंसेलु झाँगे नै बाेल्दा मुन्टाे र कुम हल्लाउने बानी भाकाे व्याक्ति हाे । हामेरकाे मिल्ती र छुट्तीले अरू-अन्ने तपइँहर्लाई के खति भइराख्या छ र तपइँले तेसरी सेटाइरिङ गरेका त अन्तखेरी ? झाँगे लम्फु र मेराे  फेन्सिप र अफेन्सिप त हामेरकाे निझा माम्लाे हाे ! एस्मा अरूहर्ले इन्टेस् राख्ने कामै छैन । एस एरिआकाे छेत्रमा 'निस्पच्छे कमिनिस पच्छे'-काे पनि 'निस्पच्छे एम्माले पच्छे'-का हामेरू दाेडाका ए्स्तै निस्पच्छे एट्टिबिटिचले कत्राे पर्भाउ  पारिराख्या फ्याट् कुरा बुद्न  तपइँकाे  टाउकाभित्रकाे बउदिक छेमताले हत्तपत्त  भ्याउँदैन भन्ने अन्नेज भ'काले नै मैले मुन माताकाे सब्जेटका कुरा लङकट डिट्टेलिङमा नबखानी सट्कट्मा भन्दाउँदी तपइँले अन्डिस्पिलिनहीन भइकिन बीच्चैमा कुरा काटेर ततर्किनु हुन्थ्याे त ? लु भइगाे, अब म तपइँकाे घरबाड हिँने बरू ! अैले एति कुरा मेरा घराँ भया  भादेखुन् जान्या थेँ तपइँलाई खइँचेर ठेगान लाउन मैले  !"....
       हरिराम  एकाएक जुरुक्क उठ्याे र भूइँमा खुट्टा थेचार्दै हिड्याे ! र, ऊ अरू पनि के-के गन्गनाउँदै गइरहेतिर हेर्दै पाँडेले मनमनमा भन्याे -"मिल्ती-फुट्ती ! मिल्ती-फुट्ती ! मिल्ती-फुट्ती !... क्या हाे - क्या हाे यिनेरकाे चालामाला ! यही हाे कि उँधेरले जानेकाे लाेकतान्त्रिक गन्तन्त्र  !....
                                      *     *     *

ट्यागहरू:
literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।