दमकमा कात्तिक १२ देखि चारदिने कला, साहित्य तथा संगीत उत्सव हुने

दिलिप घिमिरे · कार्तिक ११, २०८३ ११:१८ AM
Cover Image for News

दमकमा कात्तिक १२ देखि चारदिने कला, साहित्य तथा संगीत उत्सव हुने

झापा ८ कार्तिक / झापाको दमकमा कला, साहित्य र संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले चारदिने सांस्कृतिक उत्सव आयोजना हुने भएको छ।
  कात्तिक १२ देखि १५ गतेसम्म नाता फाउन्डेसनको आयोजनामा विभिन्न सिर्जनात्मक कार्यक्रमसहित उत्सव सञ्चालन गरिने भएको हो।
आयोजकका अनुसार उत्सवको पहिलो दिन कात्तिक १२ गते कला प्रदर्शनी तथा उद्घाटन समारोह हुनेछ। कात्तिक १३ गते दमक साहित्य महोत्सव, १४ गते कला कार्यशाला र अन्तिम दिन १५ गते संगीत महोत्सव तथा सम्मान समारोह आयोजना गरिनेछ।

नाता फाउन्डेसनका अध्यक्ष जितेन सम्पाङ राईले कला, साहित्य र संगीतको विकास तथा प्रवर्द्धनसँगै स्थानीय सर्जकको प्रतिभालाई उजागर गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो। 

उत्सवले विशेषगरी युवामा रहेको सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्नुका साथै नयाँ प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, विभिन्न विधामा क्रियाशील सर्जकबीच अनुभव र सिर्जना आदानप्रदान गर्ने साझा मञ्चका रूपमा कार्यक्रमलाई अघि बढाइने आयोजकको लक्ष्य छ।
 दमकको सांस्कृतिक पहिचानलाई थप सशक्त बनाउँदै कला, साहित्य र संगीतप्रति रुचि बढाउन उत्सवले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।