झापामा ऐेंसेलु झाँगे ब्राण्ड 'पत्रकार गर्ने ट्याउटिस'-काे बिगबिगी ! - नकुल काजी

खगिन्द्रा खुसी · असोज ११, २०८३ १०:४४ AM
Cover Image for News

                         माैसमी हास्य-व्यंग्य

 "हत्तेरिका हउ, आउँदा-आउँदै यी पढ्के गाेडा फतक्क गले, सासै निख्रेला जैसै पाे भाे गाँठे !... अनेकका खुजुरे-किचकिचे गिजिङमिजिङ कुराले जन्तालाई ढाँटेर-छलेर अथबा सेकिन पारेर झारझाेर पार्णे इज्जिलाे खेला हाे याे लाे'तान्तिक गन्तन्त्रकाे रा'नीतिकल पाेल्टिसकाे मेन ग्याम भन्ने कुराे मलाई बिउटीफुल्ली र हेन्सम्ली  नै था छ क्या पाँडेजी । रइ भा पनि अैले बालिन सा'काे अबाेला-गम्बीरे सर्खार छ, सुद्धन ग्रुङ जैसा कडा गिर्हे मन्त्री भाकाे ट्याम छ । एस्ता बेलाँ साभिककै गतिबिदिमा पाेल्टिकल खेल्ने तडिकैले चकचक गरेउँ भने पुर्बाग्रले पनि एस्सीडेनमा पार्णे डरकाे सस्पेट  छ । र, साभिककै जैसाे पाेल्टिस हाँकेर मउका-चानसमा ग्याम्म गाेजी भर्णे र अरू-अन्ने ट्याम्मा च्यास्स-चुस्स  डेल्लीकाे चा-पानी वा ऐंठनपानी नैे भनम् न र तेल्लाई चाइँने सितन-उतन चल्ने आरथिक हातलागी गर्ण अैलेकालमा  निक्कै डिफ्फिकल्टिमए भइर'छ ! तेसैले पाट-ट्याममा बरू 'दाम खामेकाे खाम'-काे च्चाेख्खाे र इजाेतिलाे कमाइ हुने खाल्काे 'पत्रकार गर्णे' धन्धा पाे अभलम्भन गरें हउ मैले त । याे धन्धा भन्या ए'किसिमले 'चूचाप भत्ता'-काे धन्धा हाे क्या । दाम खामेकाे खाम गाेजीमा हालेसि आत्मा-पर्मात्मा खुस् नहुने कुरै नट् नि हओ,  कुरै नाेथिङ नि ! अनि खामका  दाताले जेसुकै भाँडभइलाे नारेर जन्ताका पेटाँ जत्ति नै हेडेक गराए नि र अइन्-न्यामहेरू टाेट्टलैमा जति नै लात्ती हाने नि……बाआआस्, आफू 'चूपचाप' बसाे अनित्याँड ती तेस्तै 'पत्रकार' गराे नि आरामली  ! कतिपए मात्तै हाेइन धेरैपएले एसै गरेर अन्भार फेरिराख्या देखें कि अन्तखेरी मैले पनि टाउकाभित्रका किड्नी-लिबरहेरूकाे लादीहेरूका इस्टिरिङ तेतै पाे घुराएँ हओ तैबरू-तैबरू !.... - पाँडेकहाँ आउँदाआउँदै त के, पाँडे बसिरहेकाे बार्दलीमा उक्लिँदाउक्लिँदै, ऐंसेलु झाँगेले सासै नबिसाई फटटटट यसाे भन्याे ।
       उसकाे कुराे सुनेर पाँडे एक 'एपिसाेड' सिङ्गै हाँस्याे र हाँसाेसँगै भन्याे -"हन 'पत्रकार गर्न'  त्यति सजिलाे छ र ? कि सिकेका छाै तिमीले पनि त्यस्ताे पत्रकार खेल्ने तरिका हँ ?"                  उसले मन्टाे परक्क बटारेर त्यसका, महिनाै माटाेमा परेकाे फलाम जस्ता, बेसारे दाँत देखाएर फिस्स हाँसाे पाेख्तै भन्याे -"आआआ, पत्रकार गर्णे बिख्नेस त उधुमै इज्जिलाे छ - टुक्राटाक्री हातलागी हुने भा पनि आच्छा कमाइ छ तेसमा चइँ तडिका जान्दाहुँदी । कइल्यै हात खाली हाेस् त मर्रिजाउँ ल । र, मैले पनि, उई मेराे पाटीका 'बा मउसुप'-ले जैसै, 'भनेकाे मान्नेहेरूकाे' एउडा चिटिक्क  परेकाे  लाेकल स्यान्निकेट नामाक पाटी बनाइरछु । जाँ-जाँ जे-जेकाे समाराे,अन्तरकिरिया, बार्सिक अदिबेसन, अबिमुखीकर्ण गाेस्टी, सार्भज्यानिक सुन्बाइ, बज्जेट भासण-भन्तब्बे इत्तेदि हुँदाखेरिन् पत्रकार गर्णे व्याक्ति आबसेक हुने नै गर्छ । हाे तेस्ता पाेरगाममा  हामेरूमद्दे एउडालाई इन्भायटकाे  कतैबड सेटिन मिला'र अरूलाई बाेलाकाे भओस् कि नभओस् हामेरू जम्मैजाना तेइ एउडाे इन्भायटकाे पुच्छर समा'र  हाताँ कलम-कागत र आ-आफ्ना माेबिल बाेकेर,  झाेला भिरेर, गुठ्खा चबाउँदै र ताहुरमाहुर गर्दै पुग्छम् । र, दाम खामेकाे खाम हातलागी भएसि त्याँ भ'काे मिठाइ-सिङ्घडा भक्कु भाेगेर घुर्छम् क्या । रा'नीतिककाे पाेल्टिकल खेल्ने नाथेमा के मज्जा छ र जुन मज्जा पत्रकार गर्णे बिख्नेसमा छ । नेताकाे मान-मनिताे गर्णु पराेस् न तिनका झाेलेहर्लाई घरिघरि खैनी माेलेर ख्वाउने झ्यान्जट बिहाेर्नु पराेस, तेस्स्यामाटाेक्ने ! तपइँले याे मज्जा बुजेकाे भा त तपइँ पनि पक्कै पनि घरमै किन थच्चिरन्थ्याै हाेला र  !"                                                                         पाँडेले दाेस्राे अध्याय 'फुल भाेल्यूम' हाँसेपछि साेध्याे -"अनि दाम खामेकाे खाम हाम गरेपछि समाचार चाहिँ लेख्नु पर्दैन ? समाचार लेख्ने क्षमता चाहिँ चाहिँदैन र ? तिमी त लाै कनीकुथी लेखाैला, ती अरूले..."
        पाँडेलाई ओभरटेक गर्दै त्यसले भन्याे -"अन्त समचारकाे निउच लेख्ने म जाे छइँ छुइन त ? ताे मेराे डिपाटमेन हाे नि ! ताे काममा म जति एस्पिरेेन्ट आर्काे काे छ भन्छाै तपइँ ? छक्क पर्नु, लु हेर त  !"....
       ऊ भन्दै गयाे -" एता सुन न अलिक सिरेसली भइकिन !... अनि सबा-समाराेका सबापति-उपसबापतिहरले आसन ग्रण गरेका, एलाउन्सरेले आइटिम एलाउन्सर गरेकाे, धन्नेवाध ग्यापन गरेकाे कर्जीमर्जी-आन्द्राभुँडी निउच नाथे त हामेरू लेख्ता पनि लेख्ताैंन र तेस्ता लन्जुफन्जु-झ्याउकाने कुरा हामेरकाे  ट्यान्सिनमै पर्दैन क्या । बरू,  हामेरू त रेग्गुलरली नै प्ररी, ससश्र र भन्सारले पाेके बिलेकका माल पक्डेकाे हाेइन पक्डिन खाेद्दा फेरारभका  कुरा खाेजिहिन्छाैं र पक्डिन खाेद्नेसँग गाेप्पेमा सन्पर्क गर्छाैं । फेरि आर्कातिर  कर, माल्पाेत, अन्तसुक्ल, भन्सारहर्ले कति कर उठाए अथबा सिड्याे साहेपले कति नाग्रिकता बितर्ण गरिस्याे, अदलत अड्डाले कति मुद्दा छिनाे, प्ररी-सषसस्रले कहाँ, कुन, के नाम-थर- गाेत्रकाे अप्रादी पक्डेर ल्याम्दैगर्दा क्याति-क्याति गरेर उम्काे भन्ने घट्ना खाेद्छाैं  र तेताबड झन दाम्मी निउच बनाउने  गर्छम् । झापामा समचारकाे निउच रच्ने एस्ताे पिउर ट्याउटिस मैले नै दइनिकका दइनिक निक्सिने डेल्ली अक्बार-मेडिआहर्लाई भख्खर त सिक्लाइ गराउन थालिरछु । आम्मई नि,  पत्रकार गर्णे बिख्नेसमा कुन समचारकाे माल कति दामकाे  भन्-र  मुल्लेङ्कित हुन्छ भन्ने म जान्दिन भन्छउ कि क्या हाे तपइँ  ? मेराे स्यान्निकेट पाटीमा म नै सब्से धेर पढेकाे ज्यान हुँ । मैले हिसापकाे अर्थम्याटिक र अल्जेभ्रा खुर्लप्पै रटेर ग्याजुअैट पास गरेकाे एतिका वर्खदेखुन् तपइँसित फेन्सिपमा हुँदा पनि तपइँलाई पिटिस्सै था रैनछ !" ....
       उसले एकपल्ट जाेडले खाेक्याे र भित्रबाट निस्केकाे गेरुवा रंगकाे 'माल' ए'छिन मुखमै खेलाएर आँगनकाे बीचमा पर्नेगरी थुकेपछि भन्याे -"तपइँले कैले पनि मैले लेखेकाे निउच पढ्या-सुन्या रैनछाै क्यार । लु मैले  हिँजाे लेखेर अक्बार र  यफ्फेममा पाेस गर्ण लाग्या याे एउडा ताजा-चाेख्खाे सम्चारकाे निउच सिरेसली भ'र पढ त तपइँ । अछेर र सभ्द नछुटाई पढ हइ ! --
       उसले यति भनेर एउटा दाेबारेर कुच्चिएकाे कपीकाे साे पाना पल्टाएर पाँडेकाे हातमा थमायाे । त्याे समाचारकाे शीर्षक थियाे-"मादक पदार्थकाे डग्स बेपारी ग्याम्मै गिफ्तार" र पेटबाेलीमा समाचार चाहिँ यस्ताे थियाे -
"भद्रपुर नर्पाल्का, झाँपा । लागू अउसत डग्सकाे बेपार गर्णे एउडाे इण्ड्याण केटाे पढ्केले दुईटा चुराेसमा चरेस भरेर खल्तीमा बाेकेकाे र 'बाउन् सुग्गर' भरेकाे चुराेस चइँ फस्-फस् तान्दै गरेकाे अबस्तामा एकजाना नामी सकरिए सुरच्छाकर्मी हल्साहेपले ठामका ठाम गिप्तार गरेकाे सम्चार  छ । बाेडरमा खटिएका सुरच्छाकर्मी ब्रिच्छिक रासी र खपतरी गाेत्रका बस्नेत, बुबा डम्बरसिङ र आम्मा धनमयाँका माइला छाेरा, उमेर भख्खर अट्टाइस बर्सका नउ किलास पास हल्साहेप सिरि नरेसज्यूले साे-उक्त डग्स ओसरपसारकर्ता इण्ड्याण लबरचाेट्टालाई  गिप्तार गरेर केरकार गरेसि साे इण्ड्यानसँग ए'छिन् 'एकान्त' गरेसि  तारेखमा उसकै घरतिर खुरुक्क धपाका छन् । सम्चार साेर्तले बताए अन्सार उक्त अबिउक्तकाे नाम, थर, ओतन अैले गेप्पे राखिने उक्त हल्साहेबले  निर्लए गरेकामा  ताे ब्लेक्याका दाेस्तहेरू खुस् भ'का पनि जानकारी भ'काे छ । एस घटनाले थानीए जन्ता  निर्ढुक्कमा  पारेकाे पनि सम्चार साेर्तकाे दाभी  रएकाे छ ।  इति सम्भत् २०००८३ असाेज  चार गते नओमी तिथि, इति - सुभम् ।
        -  पढिसकेर फेरि भुँडी बाउँडिने गरी हाँस्तै पाँडेले के भन्न आँट्तैथ्याे उसैले गाैरवका साथ पक्क पाेकिँदै भन्याे -"लु भन तपइँ नै याे सम्चारकाे निउचमा केइ कुराे छुट्याे त ? अैले हामेरकातिर एस्ताे निउच लेखिने प्रम्प्रा चलिराखेकाे छ । कुनै-कुनै दिनकाे दइनिकीकाे डेल्ली अक्बारमा त जम्मा-टाेट्टल गाेडा बीसेक निउचका खब्बर छापिया ठाममा गाेडा पन्द्रेक चइँ एस्तै-एस्ता निउचले लटरम्मै हुन्छन् र याे प्रम्प्रा इस्टाटिन गर्णे म हुँ भनेर उधुमै खुसी हुने गर्छु म क्या पाँडेजी ।"
       उसका बकमफुसे कुरा सुनेर गिजाेलिएकाे दिमागमा के आयाे कुन्नि र पाँडेले भन्याे -" तिमी कति दमदार पत्रकार भन्ने त तिमीले लेखेकाे न्यूजबाटै बुझें नि मैले । पार्टी-पार्टीका झाेले र 'सरकारी'-हरूका लागि  बिचाैलियागिरी गरिखाने थुप्रै 'पत्रकार हुँ' भन्दै दाम खामेकाे खाम हाम गरिखानेहरूकाे भीडमा अब तिमी पनि थपिएछाै ।... खैर छाेड यी कुरा ! अनि त्याे तिमीले भनेकाे 'हल्साहेप' विवाहित हुन्-हाेइ'न्, हुन् भने तिनकी श्रीमतीकाे नाम अनि ससुराली काे हुन् - कहाँका हुन् , छाेराछाेरी कति छन् कि छैनन्, छन् भने कत्रा-कत्रा छन् इत्यादि त तिमीले लेखेकाे न्यूजमा छुटेछन् त ? "
       पाँडे अझै  के भन्न आँट्तैथ्याे, उसले उसकै तिग्रा फ्याट्ट कुट्याे र भन्याे - "हएतत्तेरिका, तपइँ त जिउँदै बूढाे भ'छाै नि हओ पाँडेजी ! अन्तखेरी, तपइँ त एउडै निउजमा रम्माइन-माभारतका सप्पै सिलाेक नै पाे खाेद्न थालेछाै  ? र, जिउँदै बूढाे भ'काे लच्छिन पाे दिन थालेछाै त ! जमाना काँ पुगिसकाे काँ ! इनलाई थाइ रैनछ ! ...थैट,  एस्ताे पाेचाे मान्छेसित पत्रकार गर्णे ट्याउटिसका कुरा गरेर मेराे एस्ताे बउमुल्ले ट्याम किन लस् गरिरनु हउ ! लु म चइँ हिनें !"...
        त्याे काउछाे त उल्टै फन्फनाएर हिँड्याे पाे !!...र, पाँडेले तातेकाे टाउकाे सुम्सुम्याउँदै  मनमनै आफैलाई भन्याे -"हन हालकाे पत्रकारिता साँच्चै यही ऐंसेलु झाँगेकै 'ट्याउटिस'-काे राेडे बाटाेमा अन्भरिँदैछ कि कसाे ? छक्कै पाे परियाे त हँ ?"....
                          *****
      






ट्यागहरू:
literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।