विश्व कविता दिवस नेपालमा मनाइयो
झापा ८ चैत्र/साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस शनिबार मनाइएको छ ।
कविता मार्फत भाषिक विविधता प्रवर्द्धन गर्ने, लोपोन्मुख भाषाहरूको संरक्षण गर्ने र विश्वभर कविहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्षको मार्च २१मा कविता दिवस
मनाइन्छ।
यस बर्षको विश्व कविता दिवस 'शान्ति र समावेशीकरणको लागि पुलको रूपमा कविता' भन्ने नारा रहेको छ ।
यसले विविध संस्कृतिहरूलाई जोड्ने, समझदारीलाई बढावा दिने र एकतालाई प्रवर्द्धन गर्ने कविताको शक्तिलाई प्रकाश पार्छ, जसले कवितालाई संवाद र सामाजिक सद्भावको लागि एक महत्त्वपूर्ण उपकरणको रूपमा सुदृढ बनाउछ ।
दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए ।
विश्वभरीका कविहरुको सिर्जनात्मकताको सम्मानमा मनाइने यो दिवसलाई संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन यूनेस्कोले सन् १९९९ मा विश्व कविता दिवस मनाउने घोषणा गरेको थियो । चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ ।
नेपालमा यो दिवस सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो ।
हिजो विश्वभरीका साहित्यिक संघ संस्थाहरुले कविता वाचन,काव्य विमर्श तथा कविहरुको सम्मान गरेर यो दिवसलाई मनाएका छन् । नेपालमा पनि हिजो कविता सम्बन्धी विभिन्न कार्यक्रम गरी विश्व कविता दिवस मनाइएको छ ।