वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’
झापा १८ असोज /वरिष्ठ साहित्यकार तथा महाकाव्यकार खेमनाथ दाहाललाई काठमाडौंमा सम्पन्न ‘यमन ग्लोबल म्युजिक अवार्ड-२०८३’मा ‘महाकाव्य साधना सम्मान’ अर्पण गरिएको छ ।
नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्याउने थोरै साहित्यकार छन् । तीमध्येका एक हुन् खेमनाथ दाहाल।पूर्वी नेपालको तेह्रथुममा जन्मिए पनि नेपाली साहित्यलाई अमेरिकासम्म पुर्याउन सफल उनी सहित्यमा पनि राष्ट्रियताका विषयमा, समसामयिक विषयमा तथा युद्ध साहित्यमा सशक्त कलम चलाउने विको रूपमा पनि चिनिदै आएका छन् ।
शब्दलाई साधना, सिर्जनालाई जीवनदर्शन र साहित्यलाई समाजको ऐना बनाउँदै नेपाली वाङ्मयको यात्रामा निरन्तर सक्रिय साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका विविध रङ्गलाई सिर्जनाको क्यानभासमा उतार्दै नेपाली साहित्यको समृद्धिमा पुर्याएको योगदानको कदरस्वरूप दाहाललाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
विशेषतः महाकाव्य लेखनमा पुर्याएको विशिष्ट योगदानको सम्मानस्वरूप उहाँलाई ‘महाकाव्य साधना सम्मान’ प्रदान गरिएको जनाइएको छ ।
साहित्यको गहिराइ र संगीतको माधुर्य एकै थलोमा भेटिएको समारोहमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा-सर्जकलाई समेत सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालिका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सुश्मा प्रोडक्सन ग्लोबल, सिक्किमकी सञ्चालक सुश्मा गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । सो अवसरमा वरिष्ठ गायिका तारा थापालाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो ।
उहाँका प्रकाशित कृतिहरूले नेपाली साहित्यमा उहाँको बहुआयामिक स्रष्टा व्यक्तित्वलाई स्थापित गरेका छन् । उहाँका ‘श्रद्धाञ्जलि’ कवितासंग्रह, ‘रश्मी’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘यात्राको सिकिर्नी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास तथा ‘सिर्जनामा दृष्टि’ भूमिका लेखनसंग्रह प्रकाशित छन् ।