हलेसी दर्शन - एक संस्मरण –विष्णु न्यौपाने

विष्णु न्यौपाने · मंसिर १३, २०८३ ११:४७ AM
Cover Image for News

सखारै व्युँझायो दिक्तेल बजारले । होटल रुपाकोटको भुइँतलामा सुतेको छु भन्ने सन्देश मस्तिष्कमा पुगेपछि उठेर शान्तिकक्षमा प्रवेश गरेँ । सिर्केधारो खोलेर बाफ उडाउँदै आनन्दले नुहाएँ । निस्केर पानी उमालेँ । चिया बनाएँ । लक्ष्मणदाइ पनि नुहाएर निस्कनु भयो । मिर्मिरेका कागले आफ्‌ना गलाको रियाज नथाल्दै हामीले सम्पन्न गर्‍यौँ चियापान समारोह । झोला मिलायौँ र गोडा तन्काउन बजारको टुप्पातिर लम्कियौँ । फर्किँदा कवि रामविक्रम थापालाई भेट्यौँ सरस्वती स्कुलकै गेटमा । छोटो मिठो भलाकुसारी चल्यो । आफ्‌ना कृतिहरु उहाँलाई हस्तान्तरण गरेँ मैले । एउटा सामुहिक तस्बिर खिचेपछि बिदा भयौँ । होटल पुगेर एकराते हिसाब मिलान गर्‍यौँ र “हरहर महादेव” भन्दै हुइकियौँ हलेसी धामतिर ।

रत्नपार्क शून्यबिन्दुबाट पश्चिम फर्किनेबित्तिकै सर्पझैँ गुँडुल्किँदै उचाल्लिन थाल्यो बाटो । अग्लिँदाअग्लिँदै माथि शैनिक क्याम्प छोयो । त्यहाँ नयाँ भवन निर्माणको काम चलिरहेको थियो । ठेकेदार कम्पनीका कर्मचारीहरुसँग बेलुका खाना खाँदा नै भलाकुसारी भएथ्यो यसबारे । उनीहरुको काम नियाल्दै अग्लिँदै गयौँ हामी । बाटो जति उचालिँदै थियो चिसोको अतिक्रमण उति तिखारिँदै थियो । पातलो हावाप्रतिरोधी कोटमाथि ओढेको रेनकोटले एक्कासी हात उठायो । मुख खोल्यो– 

“सक्तिन म थेग्न दाजै मुढेको यो सिरेटोलाई

छिल्लिएर पात्तिएर बुढ्येको यो सिरेटोलाई

छातीभरी भाला रोप्छ भन्छन् माथि हुर्लुङतिर

डाँडाकोटमा हिउँ खेली उडेको यो सिरेटोलाई "

बाटो तेर्सिने आसैआसमा हुर्लुङ डाँडाकोट छेउछाउ पुग्दा त बोली नै बन्द भयो । आँखाले तरतर आँसु बगाउन थाले । शीत झार्ने कुहिरोभित्र चलेको सिरसिरे सिरेटोले थप्पड हान्न छोडेन । अररिँदै तेर्सिएर निकै पर पुगेपछि बल्ल करिमकरिम ओरालो झर्‍यो बाटो । रावाबेँसी हुँदै कुभिण्डे, खार्पातिर जाने नाङ्गेबाटो दायाँबाट ओरालो हान्नियो । घामका पैतालाले नजानिँदो पारामा हाम्रा शिर टेक्न थाले ।  

अगाडि बाटोकिनारमा टुक्रुक्क बसेको सानो बजारले तातो चियाको तलतल जगायो । बजारको न्वारानकै नाम रहेछ ‘अर्खौले’ । देख्नेबित्तिकै स्वर्गबासी मेरी ठुलीआमा र ठुली फुपूको झल्को आयो । उहाँहरु दुवैको घर थियो धनकुटाको अर्खौलेजितपुरमा । सारै धेरै माया गर्नुहुन्थ्यो हामीलाई । मैले उनै फुपूका नाति पर्शु नेपाल र तेह्रथुम पिप्लेमा पर्ने अर्खौलेगाउँका साथी डम्बर श्रेष्ठलाई खोटाङको अर्खौलेबाट भिडियोकलमा जोडेँ र छक्क पारिदिएँ । एकैछिन भए पनि तीन अर्खौले जोडिए । अँगाल्लिए एकअर्कामा । ठाउँ सरीसरी एउटै नामले आफ्‌नो नाभि गाडेको देखेपछि मन खेल्न थालेछ त्यही विषयमाथि ।  सल्लो भएको ठाउँ सल्ले, सिम भएको भन्ज्याङ सिमभन्ज्याङ, अर्खौलेघाँस प्रशस्त पलाउने ठाउँ अर्खौले हुनु त सामान्य कुरा भयो रे तर ‘मानेभन्ज्याङ’ नाम पनि जताततै किन राखिएको होला ? प्रश्न मानेसँग जोडिएपछि माने बौद्ध धर्मावलम्बीहरुसँग जोडियो र उनीहरुको समाधिस्थलसम्म पुग्यो । अन्त्यमा निश्कर्ष निस्कियो कि लेकमा बस्न रूचाउने बौद्धमार्गीहरुले आफ्‌नो बस्तीभन्दा अझै उच्च स्थानका टाकुरा र भन्ज्याङहरुलाई समाधीस्थल बनाउने र त्यसमाथि ध्वजा गाडी माने ठड्याउने हुँदा मानेसँग जोडिएर मानेडाँडा, मानेघुम्ती, मानेभन्ज्याङ आदि नामाकरण भएका हुन् । त्यसैले जहाँ यी नाम छन् त्यहाँ विशेषतः तामाङहरुको इतिहास छ । मनको पनि चित्त बुझेछ क्यारे, घुमेर आइपुगेछ वर्तमानमा । म झल्याँस्स व्युँझेजस्तो भएँ । दाइ पर धुवाँसँगै उडिरहनुभएको रहेछ । म उतै गएँ र चढ्यौँ भटभटे ।

अर्खौले छोडेपछि डाँडैडाँडा दौडेको बाटोले वारिपारि देखाउँदै पुर्‍यायो लामिडाँडा विमानस्थलसम्म ।  अझै अघि बढ्दा तल उदयपुरको गाईघाटबाट भलायडाँडा, रौतामाई, बतासे, राजापानीहुँदै आएको सगरमाथा राजमार्गको गँसौटो समाउन पुग्यौँ । टाटासुमो मात्र चल्न थालेको त्यस कच्ची राजमार्गका सुमोचालकहरुसँग केही जानकारीहरु बटुलेर फटाफट अघि बढ्यौँ । बिहानको ८ः३० हुँदा टुप्लुक्क धाम पुग्यौँ र सफाचट हुन पनि भ्यायौँ ।  

एउटा थुम्कोमा उक्लनेवित्तिकै सानो मन्दिरमा गणेशको पूजा गर्यौं । त्यो मन्दिरको पछाडि गएपछि गुफाको मुख भेटियो । घाँटी थोरै लामो पारेर कुमालेले बनाएको हाँडीलाई अलिअलि पूर्व ढल्काए   आकारमा थुम्काको शीर्षभाग खुलेर बनेको रहेछ गुफा । भित्रतिर ओरालो झर्दैगर्दा लाग्न थाल्यो कि– म त प्रकृतिको काखमा लुकेको स्वर्गको द्वारबाट अलौकिक संसारभित्र प्रवेश गर्दैछु । आत्मालाई शान्त पार्दै, मनलाई निर्मल बनाउँदै, मस्तिष्कलाई खाली गराउँदै लगेर बेग्लै अनुभूतिको स्पर्श गराइरहेछ मलाई भन्ने भान हुनथाल्यो ।  तल, गुफाको पिँधमा बसेका ब्राह्मणहरुद्वार उच्चारित वेदका मन्त्र र बिचभागमा बसेका लामाहरुद्वारा उच्चारित त्रिपिटकका मन्त्रहरुको ध्वनि गुफाका भित्ताहरुमा पटकपटक ठोक्किएर प्रतिध्वनित हुँदै मुखसम्म आइपुग्दाको गुञ्जायमान प्रतिध्वनिले सारा थकानहरु मेटाएर अन्तरभागतिर आकर्षित गराउँदै लगिरहे गोडाहरुलाई । 

झर्दाझर्दै बिचैबाट अर्को भर्‍याङ उक्लेर खोपीमा बसेकी पार्वती माताको पूजा गर्यौं । फर्केर अझै तल झरी गुफाको पिँधमा बसेका शिवजीको पूजा गर्‍यौँ । एउटा सर्ट पुग्ने सेतो कपडा, घण्टी, त्रिसुल, गाईको दुध, फलफूल, नरिवल, कातेका बात्ती, अगरबत्ती, बेलपत्ता आदि पूजा सामग्रीका रुपमा प्रयोग गर्‍यौँ । अर्को एउटा भिन्नै खेलमा सहभागी बनेझैँ प्राकृतिकरुपमा निर्मित भिन्नभिन्न द्वारहरुबाट आफ्‌नो शरीरलाई छिराएर सन्तुष्टि लिन सफल भएँ म । लक्ष्मणदाइले भने कुनै द्वारमा छिर्ने दुस्साहस गर्नुभएन ।   गुफाका आकृति, प्रकृति, बिम्ब, प्रतीक, अघोर आस्था, अटल विश्वास, प्रेम र भाइचाराभित्र समाहित हुँदैजाँदा यस्तो लाग्न थाल्यो कि हलेसी धाम प्रकृतिको मौन काखमा लुकेको एक दिव्य आध्यात्मिक आलोक हो । आस्था, अध्यात्म र रहस्यले भरिएको एउटा बेग्लै संसार हो । यहाँका यी गुफाहरु ढुङ्गाका संरचना मात्र होइनन्, यी त हिन्दु, बौद्ध र किराँत धर्मवालम्बीहरुको युगौँको तपश्याबाट सिद्धि प्राप्त गरिसकेका सिद्धस्थलहरु हुन् । आत्मालाई शान्ति दिलाएर चिन्तनको अथाह गहिराइमा आफूलाई डुबाउन स्वस्फूर्त प्रेरित गराउने, धर्म, संस्कृति र प्रकृतिको अद्वितीय सङ्गमस्थल हो हलेसी । मानव चेतनाको उज्यालो प्रतिबिम्ब, आत्मा र ब्रह्माण्डबिचको अदृश्य संवादको पवित्र सेतु हो हलेसी । आफूभित्रको ब्रह्मचेत खुलाउ प्रकृतिले संयोजन गरिदिएको विविध तङ्खवहरुको सम्मिलनकेन्द्र हो हलेसी । 

उपर्युक्त निश्कर्ष निस्किसक्ता आत्मसन्तुष्टिले पूर्णता प्राप्त गरेछ । आफूलाई यसो नियालेँ । गुफाको मुखनेर एउटा खुड्किलोमा ध्यानस्थ रहेछु । निहुरिएर अन्तिम ढोग चढाएँ र गुफाबाट बाहिरिँदै तल सडकछेउ ओर्लें । दाजु अघि नै झरिसक्नु भएछ । त्यसपछि हामी तल्लोगुफातिर झर्‍यौँ । त्यो पनि उस्तै रहस्यले भरिएको थियो । कलाकारले बजाउन ठड्याएको नरसिङ्गा जस्तो, बक्राकार तर फुक्ने भागपट्टि पनि ठुलै प्वाल भएको, तल फेदबाट छिर्ने, बिचभागमा पुगेर माथि खुल्ला आकाश हेर्ने र छिरेकै बाटो फर्केर बाहिर निस्कनुपर्ने । ठुलै गुफा रहेछ यो पनि । त्यहाँका अनेकन रहस्यमय प्राकृतिक दृश्यहरु नियालीसकेपछि फर्केर होटलमा आयौँ जहाँ हामीलाई हाम्रो बाहन र पेटपूजा सामग्रीले पर्खिरहेका थिए । 

खानापछि होटलछेउको बरपीपल चौतारीमा ढल्केर आराम गर्न थालेँ । अगाडि लाइनै बसेका पूजासामग्री बेच्ने महिला/पुरुषहरुले बाटोमा हिँड्ने हरेक यात्रुलाई चिच्याइचिच्याए बोलाएको, जबरजस्ती लानु कि लानु भनेको, एकजनाकोमा किन्न जाँदा अर्कोले ईर्ष्या गरेको, किन्दा पनि चाहिने नचाहिने सामग्रीहरु भिडाएको, अनुचित मूल्य राखेर धर्मावलम्बीहरुलाई अफ्‌ठेरोमा पारेको, पूजा सकेर फर्कीआएकाहरुलाई पनि “मेरोमा किनिनस्” भनेर गुनासो पोखिरहेको दृश्य नियालिरहेँ मैले । दुधको मूल्य तराईका शहरमा पनि प्रतिलीटर रु ८०।– चलिरहँदा पानीमा मिसाएको दुधजस्तो देखिने २०० एम.एल. धमिलो पदार्थलाई अघि आफैँले रु. १००।– तिरेर चढाउन लगेको कुरा पनि सम्झेँ । अरु मानिसहरु चाहिँ हजारौँ कोस छिचोलेर दुःख, कष्ट, खर्च व्यहोरेर धर्म कमाउन यस्तो पवित्रस्थानमा आउने गर्छन् तर यहीँका मानिसहरुले चाहिँ उनीहरुमाथि जस्तो व्यवहार गरे पनि पाप/धर्मको ख्याल नहुने कस्तो चेतना होला ? धर्मको बाँडफाँड पनि कसरी गरिएको होला भन्ने प्रश्नहरु जन्माइरह्यो मनले । जब लक्ष्मण दाइले अन्तिम सर्को धुवाँ आकासतिर उडाउँदै ठुटो भुईँमा किल्चँनुभयो तब म उठेर हेलमेट लगाएँ । ओरालो झर्दैगर्दा पनि चिच्याउँदै थिए पसले बहिनीहरु “अर्कोचोटि आउँदा चैँ मेरोमा किन्दिनु है दाइ… ।”

गुफाको पश्चिमपट्टि रहेछ होटलहरुको रङ्गीन संसार । पूर्वपट्टि रहुन्जेल कुनै छनक नपाइएको यो बाक्लो बजार देखेपछि गाडी बिसाएर हेर्न उक्लियौँ । सामान्यदेखि सुविधासम्पन्नसम्म रहेछन् त्यहाँ होटलहरु । नेपालका चर्चित धार्मिक पर्यटकीय स्थलहरुमध्ये एक मानिने हलेसी धाममा हामीजस्ता एकछाके दर्शनार्थी भन्दा पनि एक राते दुई छाके आन्तरिक पर्यटकहरु बढी आउँदारहेछन् । अघिल्लै दिन आएर बस्ने, बेलुकाको पूजा आरती हेर्ने, पहाडको चिसो खाने, घुमघाम गर्ने र भोलिपल्ट खालीपेटले पूजा गरी भरिपेट भुजा ग्रहण गरेर गन्तव्यतिर लाग्ने । धाम वरिपरिको जीवनस्तर निकै मलिलो देखिए पनि त्योभन्दा पश्चिम दक्षिणतिरको जीवनस्तर निकै रुखो र टिठलाग्दो भेटियो । धारे चट्टाले बनेका भिराला पखेराहरुमा टाक्राकटुक्रुक उभिएका घरहरुले आफ्‌ना अनुहारका रङ बदल्न सकेका थिएनन् । पखेरा कपेर बनाइएको साँघुरो बाटो धामदेखि नै दाँत झरेर, बुढ्यौलीले सताएर, मर्मतसम्भारबिनै अलपत्र सुतिरहेको थियो । बाटाभरि तिनका सुसारेहरु कोही देखिएनन् । उँधो हेरे हजारौँ मिटर तलसम्म पनि जमिन नदेखिने छाँगा, उँभो हेरे आकाशै छेक्ने तारेभिरहरु भेटिनथाले । ज्यान नै जोखिममा पर्लाजस्तो भएपछि भटभटेलाई भित्तापट्टि सेप्तैसेप्तै कुदाइरहनुभयो लक्ष्मणदाइले । यस्तो डरमर्दो बाटो भएर एकोहोरो दक्षिण हान्निँदै, खोँच, गब्जेरा, ओडार र घुम्तीहरु छिचोल्दै अघि बढ्यौँ । मैले पनि विभिन्न कहानीहरु झिकेर चालकको मन अन्यत्र भुलाउन मद्धत गरिरहेँ । 

कान डम्म थुनिएका हुनाले बेँसी झरेको आभास मिलेको थियो । अघि अर्खौलेका दुधमुखे घाम यतिबेला रिसाएको बाघ बनेर झम्टिँदै थिए । हामी वायुपङ्खी घोडा, केही दिनअघिदेखि छिनमा लेक, छिनमा बेँसी गरिरहेका थियौँ । बाँदर लड्ने अक्करहरु पारहुने अन्तिम कुइँनेटो छिचोल्दासम्म अगाडि के छ सङ्केत मिलेको थिएन । फुत्त निस्किँदा ह्वात्तै नाकमा ठोक्किन आयो “दुधकोशीको नयाँ पुल” । निःशब्द बगिरहेकी विशाल नदी रहिछन् पुलमुनि । शरीरमा फरक स्फूर्ति पैदा भयो । आँत रसायो । मन फुरुक्क फुर्केर नाच्यो र बोल्यो “आहा ! यस्ती नदी पो नदी । किनारामा खुट्टो पुग्दासम्म नदी भएको आभास नै नदिलाउने ।” 

सर्बोच्च शिखर सगरमाथा, लोत्से, आमादब्लम, पुमोरीजस्ता विश्वविजेता शिखरका शिर छोएर आएकी सप्तकोसीमध्येकी सबैभन्दा पवित्र जलबाहिनीको दर्शन पाएर खुसीले पग्लियो हृदय । पुल छेउमा उभिएर एकटकले नदी नियालेँ ।  अरुजस्ती निर्मल, कञ्चन नदेखिएर थोरै स्वेतवर्णानुभूत भएपछि स्पर्शनै गरुँगरुँ भयो । अलि परबाट घुमेर तल गएँ र शिरमा जलाभिशेक गरेँ । शिरपाउ धोएँ । पितृहरु सम्झेर जल चढाएँ र आँत भरिउन्जेल ग्रहण गरेँ । फिरफिरफिरफिर चलिरहेको चिसो हावामा पुलकित भएर पुलमुनिको ढुङ्गामा निकैबेर बसेँ । नदीप्रतिको मेरो श्रद्धाभाव बुझेर होला मन्द मुस्कान छर्दै नदीले भनिन् –

हामी नदीहरु अरुलाई जीवन दिन्छौँ र जीउने कला पनि सिकाउँछौँ । आफैँमा हामी गतिशील छौँ । किनकि गतिमा शक्ति र शक्तिमा ऊर्जा हुन्छ । कणकणमा ऊर्जा बोकेर हिड्ने हामी जहिल्यै एकताबद्ध छौँ । एकतामा बल हुन्छ, तागत हुन्छ । त्यही तागले बाटोका अवरोधकहरु पन्छाउँदै निर्धारित समयमै गन्तव्यमा पुग्छौँ, लक्ष हासिल गर्छौं । आवश्यकता अनुसार रुपान्तरित भएर परिस्थितिलाई अनुकुल बनाउँछौँ । रुपान्तरणले समायोजित हुन मद्धत गर्छ । हामी हिँड्दै, लड्दै, पढ्दै, बढ्दै निरन्तर अगाडि बढिरहन्छौँ । बाह्यपरिस्थितिले धमिल्याउन खोजे पनि हामी आफैँ सङ्लिन्छौँ । भँगाला फुटाए पनि तुरुन्तै जोडिन्छौँ । जीवनको गहिराइ बुझ्‌न सधैँ गहिरिएर हिड्छौँ । बादल बनेर उचाइबाट, हिउँ बनेर शिखरबाट, महासागर बनेर गहिराइबाट र जलवास्प बनेर पवनसँगै चराचर जगत्‌को अनुसन्धान गर्छौं । तातोलाई चिसो, अशुद्धलाई शुद्ध, मैलोलाई सफा, सुख्खालाई ओसिलो बनाउँदै जान्छौँ । कसैको कुभलो नचिताउने, स्वचालित रुपमा सधैँ अरुकैलागि आफूलाई समर्पित गरिरहने हुँदा हामीले कुनै भूगोल, राजनीति वा अर्थनीतिको सीमारेखाभित्र अनुबन्धित हुनु पर्दैन । जसले हाम्रा गुण, विशेषता र कर्मको भावलाई आफ्‌नो जीवन अनुकुल बनाई अनुकरण गर्न सक्छ उसैले सिक्छ जीवन जीउने वास्तविक कला । 

नदीको यो चैतन्य भाव यथार्थ बनेर प्रस्फुटित भइरहँदा म त्यही भावभित्र प्रवाहित भइरहेँछु । पुलमाथि दौडेको ट्रकको हर्नले समयको बोध गराएपछि म फर्केर माथि आएँ । त्यहाँ खरले छाएका भकारीजस्ता केही खाली छाप्रा देखिए । लक्ष्मणदाइ यतिन्जेल त्यही एउटा छाप्रामा सुत्नुभएछ । भित्तापट्टि पहरामै टाँसिएर बसेको एउटा सानो प्रहरी बिट अघिदेखि देखिँदै थियो । त्यहाँ दुईजन घाटेप्रहरीको दरबन्दी रहेछ । विराटनगरका एकजना प्रहरी जवान रहेछन् भित्र । उनका साथी घर गएका रहेछन् । त्यो सुनसान घाटमा रात बिताउने उनी एक्लाव्यक्ति रहेछन् । उनले ५ वर्षदेखि लगातार त्यही खोँचमा बसिरहनु पर्दाको पीडा पोखे–“गरिबकै छोरा भए पनि म विराटनगरजस्तो सुविधासम्पन्न शहरमा जन्मेहुर्केको, पढेलेखेको युवा हुँ । बाध्यता र रहर दुवैले हो म नेपाल प्रहरीमा जागिरे बनेको । तर नियुक्ति हुनेबित्तिकै ल्याएर मलाई यी दुई भीमकाय पहाड चिरेर बग्ने नदीकिनारका कहालीलाग्दा भिरमुनि ओढारमा कोचिदिए । दिनभरि त ठिकै हुन्छ बटुवाका अनुहार देखिन्छन् तर रातभरि जङ्गली जनावर मात्रै घुम्छन् वरिपरि । मूर्दा जलाउने यो घाटमा बसेको ५/५ वर्ष बितिसक्यो । कति रोइकराई गर्दा पनि सरुवा गरिदिएनन् । यहाँ आउन कोही माने पो मेरो सरुवा हुन्थ्यो त । कोही मान्दैन । यहीँ निसास्सिएर मर्छु होला म कुनदिन ।”

उनको पीडाले हामीलाई ऐठन गरायो । जागिरको स्वाद पनि कत्ति तितो हुँदोरहेछ । रहरको पुतली बनेर बगैँचामा छिर्विराउनुपर्ने युवा मनलाई यति धेरै निरस बनाउने प्रहरीप्रशासकहरु प्रति घृणा उत्पन्न भयो हामीभित्र । गर्न के पो सक्थ्यौँ र हामी । तैपनि सान्त्वनाका केही शब्दहरु छोडिराखेर बिदा भयौँ उनीसँग र पुल तरेर प्रवेश गर्‍यौँ कवि सिद्धिचरण श्रेष्ठको पियारो ओखलढुङ्गा क्षेत्रमा ।

दमक, झापा

ट्यागहरू:
literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू