गीतकार वल्लभ कट्टेलको गीतिसङ्ग्रह 'गन्तव्य'लोकार्पित
१२ मंसिर, झापा । गीतकार संघ नेपालले गीतकार वल्लभ कट्टेलको गीतिसङ्ग्रह 'गन्तव्य'लोकार्पण गरेको छ । हिजो मङ्सिर ११ गते राष्ट्रिय नाचघरमा आयोजना गरिएको विशेष कार्यक्रममा गीतकार तथा पूर्व अर्थमन्त्री एसपी कोइरालाद्वारा सो सङ्ग्रहको लोकार्पण गरिएको हो। सोही अवसरमा हाम्रो यात्राको गन्तव्य गीतको श्रव्यदृश्य समेत प्रदर्शन गरिएको थियो । सङ्गीतकार शंकर थापा 'स्माइल'द्वारा सङ्गीतबद्ध गरिएका गीतहरुमा गायिका अन्जु पन्त, जगदिश समाल, प्रवीण वेडवाल, सुरेश लामा तथा स्माइल दाशको स्वर रहेको छ।
प्रमुख आमन्त्रित व्यक्तित्व गीतकार एसपी कोइरालाले अहिले गीत सङ्गीत क्षेत्रमा प्रगति भएको बताउँदै वल्लभ कट्टेलका गीतहरूको प्रशंसा गरेका थिए ।
गायक तथा सङ्गीतकार सन्तोष श्रेष्ठले लोकार्पित गीतीसङ्ग्रहमाथि गहन समीक्षात्मक टिप्पणी गर्दै गीतहरू कर्णप्रिय र सुन्दर भएको बताएका थिए।
'हाम्रो यात्राको गन्तव्य', 'तिम्रो बाटो हेर्ने बानी', 'आँसु पनि पानी जस्तै', 'तिमी नै तिमी' र 'म हिँडेको यो बाटो' समेत गरी पाँच थान गीतहरू रहेको गीतिसङ्ग्रह 'गन्तव्य' गीतकार वल्लभ कट्टेलको पहिलो प्रयास हो।
गीतकार सङ्घ नेपालका उपाध्यक्ष रमेश कोइरालाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सुमन पण्डितले गरेका थिए। कार्यक्रम सञ्चालकले गीतकार कट्टेल तथा संगीतकार शंकर थापा स्माइलको संक्षिप्त चिनारी प्रस्तुत गरेका थिए।