विप्लव प्रतीकको हाइकु सङ्ग्रह ‘शाडेनफ्रोएडा’ विमोचन

Admin · चैत १७, २०८० ६:१८ PM
Cover Image for News

काठमाडौँ । लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक अब हाइकु सङ्ग्रह लिएर उपस्थित भएका छन् । विप्लवको नयाँ पुस्तक ‘शाडेनफ्रोएडा’  शनिबार (आज) साहित्यिक जमघटका बिच विमोचन गरिएको हो ।

संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनिल थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आम पाठकहरूमाझ यसलाई पस्केको घोषणा गरेका थिए । समारोहको सुरुवातमै विप्लवले उपस्थितहरूको स्वागतमा रचना गरेको हाइकु सुनाएर गरेका थिए ।

पुस्तकमा जापानबाट उत्पन्न विधा हाइकुले नेपाली कवि विप्लवका मर्महरू समेट्दै अघि बढेको छ भने यसले दर्दको काव्यिक अभिव्यक्तिबाट मिल्ने सन्तुष्टि अर्थात् जर्मनीको‘शाडेनफ्रोएडा’  लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ ।

कविता सङ्ग्रह, गीत, उपन्यास, नाटक, निबन्ध, पत्रकारिता, सिनेमा, वृत्तचित्र, अनुवाद र विज्ञापनका क्षेत्रमा आफ्ना पदचापहरू छाड्दै आएका विप्लवले सूक्ष्म काव्यिक अभिव्यक्ति मानिने हाइकु सङ्ग्रह पहिलोपटक पाठकहरू माझ प्रस्तुत गरेका हुन् ।

‘सन् २००६ तिर म यो विधासँग नजिकिएको हुँ,’ समारोहमा विप्लवले भने, ‘कविता सुनाउन भक्तपुर गएका बखत ख्याल ख्यालमै लेखेको एउटा हाइकुले मलाइ यहाँ सम्मको यात्रा गराएको हो ।’

तीन हरफमा जम्मा १७ अक्षर भित्र जीवन र दर्शनको उथलपुथललाई उतार्नुपर्ने यो माध्यमले शब्दको किफायत गर्दै सशक्त अभिव्यक्ति पस्कन सिकाउने लेखकले बताए ।

यस पुस्तकका अक्षरहरू कम्प्युटरका लिपि नभई स्वयं विप्लवकै हस्ताक्षरबाट मुद्रित भएकाले पाठकले त्यसको रसास्वादन पनि गर्न पाउनेछन् ।

पुस्तक भित्र अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवनध्वनि गरी आठ खण्डमा हाइकुहरू समेटिएका छन्, जसले भावहरूको आरोह अवरोहयुक्त यात्रा गराउँछ ।

विप्लवको प्रस्तुत‘शाडेनफ्रोएडा’  लाई पब्लिकेशन नेपालयले अडियो बुकका रूपमा पनि प्रस्तुत गर्दैछ । अर्थात्, पढ्ने पाठकहरूले विप्लवका हस्ताक्षरमै पुस्तकको रसास्वादन गरेजस्तै सुन्ने पाठकहरूले पनि कविकै स्वरमा त्यसको आनन्द लिन सक्नेछन् ।

पुस्तकको चार सय ९५ रुपैयाँ मूल्य राखिएको यो किताबलाई नेपा~लयले भौतिक पुस्तक सँगसँगै ईबुकका रूपमा पनि बजारमा उपलब्ध गराएको छ । ईबुकको प्रतिलिपि thuprai.com बाट किन्न सकिन्छ भने संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् ।

यो पुस्तक मुलुकभरि प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।

ट्यागहरू:
सहित्य कविता literature nepalisahitya Viplop Pratik Viplob
टिप्पणीहरू
User
Tanka Sitoula
एक महिना अगाडि

नेपाली कवि विप्लव प्रतीक ज्युलाइ हाइकु संग्रह निकाल्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना छ। वहाँको हाइकु संग्रहले पाठकवर्गबाट राम्रो आदर पाओस् भन्ने चाहना छ।

सम्बन्धित पोस्टहरू
क्यानडामा स्वीकारोक्ति डिस्कोर्स हुँदै
क्यानडामा स्वीकारोक्ति डिस्कोर्स हुँदै
खगिन्द्रा खुसी - बिहिबार १२ सेप्टेम्बर २०२४
सालिकलाई साक्षी राखेर गजलवाचन
सालिकलाई साक्षी राखेर गजलवाचन
दिलिप घिमिरे - बुधबार ११ सेप्टेम्बर २०२४