गजल लेखन सम्बन्धी सामान्य जानकारी - खगिन्द्रा खुसी

Admin · मंसिर २, २०८३ १०:२० AM
Cover Image for News

पछिल्लो समय गजल नेपाली साहित्यमा सर्वाधिक रुचाइएको विधाको रूपमा अगाडि बढिरहेको छ । नयाँ पुस्ताले साहित्यमा लाग्ने माध्यम गजललाई बनाइरहेका छन् । यो लेख्न सजिलो भएर होइन यसको चर्को प्रभावका कारण गजल लेख्न र गजलमा जम्न चाहन्छन् युवापुस्ता । साहित्यका अन्य विधाहरु जस्तै गजलका पनि निश्चिt नियम संरचना र लयहरु छन् । यिनै तत्वहरुले गजललाई आकार दिन्छन् र मिठासपूर्ण बनाउँछन् । त्यसैले गजल लेखनका लागि आवश्यक पर्ने तत्वहरुबारे सामान्य जानकारी लिएर आएकी छु । गजलका विषयमा यो जानकारी पूर्ण हुँदैन तर गजल लेख्न र जान्नका लागि भोक जगाउने कुरा भने पक्का हुनेछ ।  

​गजलका प्रमुख अङ्गहरू 

१.सेर : गजलका प्रत्येक दुई हरफको जोडी अर्थात दुई पङ्तीलाई 'सेर' भनिन्छ। हुन त गजलमा दोहोरी पनि खेल्ने गरेको पाइन्छ । गजलमा खण्डकाव्य पनि लेखिएका छन् तर सामान्य तया एउटा गजलमा कम्तिमा ५ देखि ७ सेर हुनुलाई उपयुक्त मानिन्छ । 

​२.मतला: गजलको सुरुवातमा आउने दुई हरफ वा पहिलो सेरलाई 'मतला' भनिन्छ। अरबी भाषाको मतला शब्दको अर्थ नै थालनी वा सुरुवात भन्ने हुन्छ । मतलाले गजलको सुरुवात गर्छ । 

३.मकता : अरबी भाषाको मकता शब्दको अर्थ समापन गर्नु भन्ने हुन्छ । गजललाई समापन गर्ने अर्थात गजलको अन्तिम सेरलाई मकता भनिन्छ । मकतामा गजलकारले आफ्नो नाम वा उपनाम उल्लेख गर्ने गर्छन् जसलाई तखल्लुस भनिन्छ । ​

​४.बहर: लयात्मक गजललाई बहर भनिन्छ । बहर भनेको शास्त्रीय नियममा रहेर लेखिएको गजल हो ।  फारसी गजलका शास्त्रीय नियम र नेपालीहरुले लेख्ने कतिपय छन्दका नियम उस्तै छन् । त्यसैले नेपाली गजलकारहरुले छन्दका नियममा रहेर पनि गजल/बहर लेख्ने गरेका छन् । 

५. रदिफ: गजलका पङ्क्तिहरूको अन्त्यमा काफिया भन्दा पछि आउने समान शब्द वा वाक्यांश हो रदिफ, जुन परिवर्तन हुँदैन (जस्ताको तस्तै दोहोरिन्छ)। 

६.​काफिया : रदिफभन्दा अगाडि आउने मिल्दोजुल्दो ध्वनि वा तुकबन्दी भएका शब्दहरू हुन् । काफियाका पूर्ण, आंशिक, एकाक्षरी, मिलित र मिश्रित गरी विभिन्न प्रकार रहेका छन् ।

७.मिसरा - गजलका प्रत्येक हरफ वा पङ्तीलाई मिसरा भनिन्छ । 

८.मिसरा ए उला- गलका सबै सेरहरुको पहिलो हरफ वा पङ्तीलाई मिसरा ए उला भनिन्छ । उला भनेको भावको उठान हो ।  

९.मिसरा ए सानी- गजलका सबै सेरहरुको दोस्रो हरफ वा पङ्तीलाई मिसरा ए सानी भनिन्छ । सानी भनेको भावको समापन हो । 

गजल मुख्यतया यिनै तत्वहरुमा केन्द्रित भएर लेखिने गरिन्छ । अब गजल लेख्ने चरणबद्ध तरिका पनि हेरौँ -  

​१. विषय वा भाव छान्ने: सबैभन्दा पहिला गजल प्रेम, विछोड, देशप्रेम, सामाजिक यथार्थ वा विसंगति तथा कुन विषयमा लेख्ने हो? त्यो कुरा पक्का गर्ने । 

२. रदिफ र काफिया छान्ने : गजल लेख्नुभन्दा अगाडि गजलको काफिया र रदिफ के राख्ने ? त्यो पक्का गर्ने । काफिया र रदिफका सम्भावित शब्दहरुको सूची तयार पार्ने । यी शब्दहरु छनोटमा ध्यान दिनु राम्रो हुन्छ । मिठो, सुललित र मिठासपूर्ण भएमा गजल/बहर पनि मिठो हुन्छ । 

​३. मतला लेख्ने : आफ्नो गजलको पहिलो सेर (मतला)बाट सुरु गर्नुहोस् । मतला जति आकर्षक र गहिरो हुन्छ, गजल त्यति नै प्रभावकारी हुन्छ । ​

४. बहर (लय) मिलाउने: गजलका सबै शेरहरूको नाप वा लय एउटै हुनुपर्छ । पहिलो पङ्क्तिको जति लम्बाइ र स्वरको उचाइ छ, दोस्रो पङ्क्तिको पनि उस्तै हुनुपर्छ अर्थात यति, गति र मात्रा मिलेको हुनुपर्छ । 

​५. मकता लेखेर अन्त्य गर्ने : अन्तिम सेरमा आफ्नो नाम वा उपनाम राखेर गजललाई निष्कर्ष दिन सकिन्छ । ​

गजलका प्रत्येक शेर आफैंमा पूर्ण र स्वतन्त्र अर्थ बोकेको हुनुपर्छ (अर्थात् एउटा शेरको भाव अर्को शेरसँग जोडिनै पर्छ भन्ने छैन)। ​गजल लेख्नेले जान्नैपर्ने अर्को कुरा शब्दहरूलाई जबर्जस्ती मिलाउनुभन्दा स्वाभाविक लय र प्रवाहमयता (Flow) मा ध्यान दिनु राम्रो हुन्छ । ​सुरुमा शब्दहरू नमिल्न सक्छन्, तर निरन्तर पुराना गजलहरू पढेर र अभ्यास गरेर यसमा पोख्त बन्न सकिन्छ । ​

अझ स्पष्ट हुन गजलका तत्वहरु सहित देखाइएको तलको गजल हेर्नुहोस्-

ट्यागहरू:
गजल literature svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गजल
गजल
✍️ राज लम्साल 'यात्री' , पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १७ नोभेम्बर २०२६
गजल - पुरु लम्साल
गजल - पुरु लम्साल
पुरु लम्साल - मङ्गलबार १७ नोभेम्बर २०२६
गजल - श्रेष्ठ प्रिया पत्थर
गजल - श्रेष्ठ प्रिया पत्थर
श्रेष्ठ प्रिया पत्थर - मङ्गलबार १३ अक्टोबर २०२६