काठमाडौंमा ‘गजल मुशायरा २०८३’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पित
झापा,२८ कार्तिक / गजलको सिर्जना, वाचन र गायनलाई एउटै मञ्चमा प्रस्तुत गर्दै काठमाडौंमा ‘गजल मुशायरा २०८३’ सम्पन्न भएको छ।
मुशायरा परिवारको आयोजनामा चलचित्र विकास बोर्ड, चलचित्र मार्ग, चाबहिलमा शनिबार सम्पन्न कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका गजलकार, साहित्यकार तथा कलाकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आँचल कुमार शर्मा, कल्पना कल्पित, कृष्णप्रसाद अर्याल, कृष्ण कश्यप, जिज्ञासु सम, जय गौडेल, जे सागर, रूपक, बाबु त्रिपाठी, भरत पौडेल, लोकेन्द्र बजगाईं, लेख कार्की, राज भण्डारी, विमला दाहाल, शीतल कादम्बिनी, शिशिर बड्का, सञ्जिता थापा र सबिन एकतारेले आफ्ना गजल तथा सिर्जना वाचन गरेका थिए।
कार्यक्रमको सञ्चालन तथा वाचन पवन गौतम र जितेन्द्र मल्लले गरेका थिए। सोही अवसरमा मुशायरा परिवारका संस्थापकसमेत रहेका युवा गजलकार, कवि तथा कथाकार जितेन्द्र मल्लको एकल गजलसङ्ग्रह ‘शाजिक’ लोकार्पण गरिएको थियो।
अस्ट्रेलियामा रहेर विगत करिब १२ वर्षदेखि नेपाली साहित्य, विशेषतः गजलको सिर्जना, वाचन र प्रवर्द्धनमा सक्रिय मल्लले प्रवासमा नेपाली गजलको विस्तारका लागि निरन्तर योगदान दिँदै आएका छन्। मुशायरा परिवारमार्फत अस्ट्रेलियाका विभिन्न राज्य र सहरमा गजलसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएका उनको ‘शाजिक’ गजलसङ्ग्रहको लोकार्पणले यसपटकको मुशायरालाई थप विशेष बनाएको थियो।
गजललाई वाचन र गायनका माध्यमबाट श्रोता तथा दर्शकमाझ पुर्याउँदै नेपाली गजलको सिर्जना र प्रस्तुतिको परम्परालाई अघि बढाउने उद्देश्यले आयोजित मुशायराले विभिन्न क्षेत्रका स्रष्टालाई एउटै मञ्चमा जोडेको थियो।