तीन विधाका तीन कृति एकैसाथ : पुरन याक्खाको सिर्जनात्मक उपलब्धि
झापा, २८ कात्तिक/ नेपाली साहित्यमा लामो समयदेखि निरन्तर सक्रिय वरिष्ठ साहित्यकार पुरन याक्खाले कविता, गीत र गजल विधाका तीन कृति एकैसाथ पाठकमाझ ल्याएका छन्।
भानु साझा पुस्तकालय, सुन्दरहरैँचा, मोरङको आयोजनामा शनिबार आयोजित कार्यक्रममा याक्खाका ‘चर्किएको सिसाभित्र’ कवितासङ्ग्रह, ‘तिमीबिनाको जिन्दगी’ गीतिसङ्ग्रह र ‘पलाँसको फूल’ गजलसङ्ग्रह विमोचन भएका हुन्।
साहित्यमा एउटा कृति प्रकाशन गर्नसमेत स्रष्टाहरूले लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थामा एकैपटक तीन फरक विधाका कृति सार्वजनिक गर्नु याक्खाको सिर्जनात्मक सक्रियता र निरन्तर साधनाको उल्लेखनीय उपलब्धि हो। लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका उनले यस विमोचनमार्फत आफ्नो बहुविधागत सिर्जनायात्रालाई थप विस्तार गरेका छन्।
पुस्तकालयका उपाध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मनु मञ्जिल थिए। कार्यक्रममा झापा, मोरङ, सुनसरीलगायत विभिन्न स्थानबाट आएका साहित्यकार तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।
त्यसैगरी, ‘तिमीबिनाको जिन्दगी’ गीतिसङ्ग्रहको समीक्षा गायक तथा सङ्गीतकार जेबी थुलुङले गरेका थिए। सङ्ग्रहका गीतहरू गायकद्वय दुर्गा पराजुली र किरण टी. लिम्बूले प्रस्तुत गरेका थिए। गजलसङ्ग्रह ‘पलाँसको फूल’ माथि चर्चित गजलकार विवश बलिभद्र कोइरालाले समीक्षात्मक टिप्पणी गरेका थिए।
कार्यक्रममा कवि बम देवान, हेमसागर पोखरेल र राजकुमार तामाङले शुभकामना मन्तव्य व्यक्त गर्दै याक्खाको सिर्जनात्मक योगदानको प्रशंसा गरेका थिए।
भानु साझा पुस्तकालयका अध्यक्षसमेत रहेका याक्खाका यसअघि ‘गर्भभित्र’ कवितासङ्ग्रह र ‘झुपडी’ कथासङ्ग्रह प्रकाशित छन्। यसरी उनका प्रकाशित कृतिहरू कविता, कथा, गीत र गजल गरी चार साहित्यिक विधामा फैलिएका छन्। निरन्तरको लेखन, सिर्जना र प्रकाशनमार्फत साहित्यिक यात्रालाई अघि बढाइरहेका याक्खाका तीन नयाँ कृतिको एकसाथ विमोचनले उनको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई थप उजागर गरेको छ।
कार्यक्रममा सहभागी साहित्यकार तथा साहित्यप्रेमीहरूले याक्खालाई बधाई दिँदै आगामी सिर्जनायात्राका लागि शुभकामना व्यक्त गरेका थिए।