बेलायतमा कवि नरेश काङमाङ राईको एकल कविता वाचन सम्पन्न हुने

Admin · कार्तिक ३०, २०८३ ७:३८ PM
Cover Image for News

२९ कात्तिक, झापा । बेलायतमा कवि नरेश काङमाङ राईको एकल कविता वाचन सम्पन्न हुने भएको छ । इकोच अफ पर्वतको आयोजनामा हुन गइरहेको कविता वाचन कार्यक्रम २२ नोभेम्बर २०२६, आइतबार गोडिन्टन भिलेज हल, लाउडन वे, आशफोर्ड, केन्टमा सम्पन्न हुने भएको हो । स्थानीय समय अनुसार दिनको १३ बजेबाट सुरु हुने कार्यक्रममा वीरचन्द्र(वीसी)राईले गीटार बजाएर कवि राईको कविता वाचनलाई सङ्गीतमय बनाउन सहयोग गर्नुहुनेछ । कवि राईले इलामको फिक्कल बजार, झापाको दमक र भिल्लभिल, धरान, भरोल सुनसरी, धनकुटा, भोजपुर बजार र पाल्तेपानी, दिक्तेल तथा काठमाडौं लगायतका स्थानमा एघार पटक एकल कविता वाचन कार्यक्रम सम्पन्न गरिसक्नु भएको छ । १२ औँ एकल कविता वाचनका लागि बेलायतमा तयारी भइरहेको कुरा आयोजक संस्थाले जनाएको छ । 

आयोजक ‘इकोच अफ पर्वत’ ले बेलायतमा रहने सम्पूर्ण साहित्यप्रेमी, गोर्खा परिवार, पूर्वसैनिक, विद्यार्थी तथा आदरणीय महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पार्न हार्दिक अनुरोध गरेको छ।

टेम्के मैयुङ गाउँपालिका, नागी ४, भोजपुरमा जन्मिनुभएका कवि राई सन् २००० मा बेलायती सेनामा भर्ना हुनुभयो र सन् २०१२ मा अवकाश लिनुभयो। सेनाको अनुशासन, युद्धको कठोर यथार्थ र प्रवासको एक्लोपनले उहाँको कलमलाई अझ धारिलो बनायो। उहाँले २०४५ सालदेखि नै लेखन थाले पनि बन्दुकको छेउमा उभिएर भोगेकै जीवन नै उहाँका कविताहरूको मुख्य ऊर्जा बनेको छ ।

कविता संग्रहहरू: आँशुको दोभान (२०६१) संयुक्त कविता संग्रह आनन्द रानाहॅछासँग, अनुहारमा लुकाइएका चोटहरू (२०६२), पप्पी फूल (२०७४), तेप्सायु (२०७८)
 कथा र उपन्यास: युद्ध बोकेको सिताङ – युद्ध उपन्यास (२०६८), खुकुरीको धारमा लाहुरेको युद्ध कथा र व्यथाहरू (२०७१), एघार नोभेम्बर – कथा संग्रह (२०७६)  इतिहास र संस्कृति: फियरलेस वरियर (सन् २०१५, ओलम्पिया युके), साखुङवारा किरात राई २२ भाषीहरूको जन्मदेखि मृत्यु संस्कार (२०७७), पानी पतिया गोर्खा सैनिकको इतिहास (२०८१), जस्ता दश कृतिहरु प्रकाशित गरिसक्नु भएका कवि राईको विशेष गरी ‘पानी पतिया गोर्खा सैनिकको इतिहास’ ले गोर्खा सैनिकको गौरवशाली तर ओझेलमा परेको इतिहासलाई दस्तावेजमा कैद गर्दै एउटा जातिको आत्मकथा रूपमा तयार भएको कृति हो । 

कवि विमल गुरुङ कृति पुरस्कार (२०७८), नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रज्ञा अन्तर्राष्ट्रिय पुरस्कार (२०८२), मनमाया बान्तवा स्मृति प्रतिष्ठानद्वारा स्रष्टा सम्मान पुरस्कार (२०८१), उर्वरा फाउण्डेशनद्वारा सम्मान (२०७८), त्रि-चन्द्र मल्टिपल क्याम्पसद्वारा मानार्थ सदस्यता तथा सम्मान (२०१६), अन्नपूर्ण बाररा मा.वि. सम्मान (२०८०) जस्ता विशिष्ट सम्मान र पुरस्कारहरू प्राप्त गरिसक्नु भएका कवि राइले  लेखनका साथै नेपाली साहित्य र संस्थाहरूको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । उहाँ पहिचान पुरस्कार (संस्थापक, २०१५), भोजपुर प्रतिभा प्रतिष्ठान (संस्थापक सचिव, २००८), युद्ध साहित्य पुरस्कार (संस्थापक मध्ये एक, २०२१), कृष्ण बहादुर काङमाङ राई स्मृति प्रतिष्ठान (संस्थापक सचिव, २०८३), नव प्रतिभा युवा क्लब नागी फुटबल ग्राउण्ड (निर्माण अभियन्ता, २००९) तथा प्रतिभा प्रतिष्ठान बेलायतका संस्थापक सचिव भएर साहित्यिक संस्थाहरुमा तथा सीमाहीन बिम्बहरू, ग्रीनविचका प्रतिध्वनीहरू, युद्धमा हराएको प्रेम, गोर्खा वार पोयम (युके), युद्ध साहित्य र सिद्धान्त, गोर्खा सत्याग्रह, गुरिल्ला गर्ल, गोर्खा गन लगायत कृतिहरु सम्पादन र ‘ग्रीनवीच टाईम्स’ म्यागाजिन (२०१२-२०१४) को कार्यकारी सम्पादक भएर सम्दानका क्षेत्रमा समेत योगदान दिनुभएको छ । 

 

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।