विक्रमवीर थापाको ‘बङ्गलादेशको युद्धदेखि गोर्खाल्याण्डको आन्दोलनसम्म’ कृति विमोचन
झापा ८ भाद्र/साहित्यकार विक्रमवीर थापाको ‘बङ्गलादेशको युद्धदेखि गोर्खाल्याण्डको आन्दोलनसम्म’ कृति विमोचन आइतबार विमोचन गरिएको छ।
सन् १८८६ मा स्थापना भएको Shillong Gorkha Association ले आफ्नो १४०औँ स्थापना दिवसमा ऐतिहासिक कृतिको विमोचन सहित विशेष समारोहका साथ मनाएको छ।
वरिष्ठ साहित्यकार तथा साहित्य अकादमी पुरस्कारबाट सम्मानित विक्रमवीर थापाज्यू द्वारा लिखित ऐतिहासिक कृति ‘बङ्गलादेशको युद्धदेखि गोर्खाल्याण्डको आन्दोलनसम्म’ को औपचारिक विमोचन गरिएको हो।
बङ्गलादेशको युद्धदेखि गोर्खाल्याण्ड आन्दोलनसम्मका विभिन्न ऐतिहासिक घटनाक्रम, संघर्ष, स्मृति र गोर्खा समुदायसँग जोडिएका विषयवस्तुलाई समेटिएको यस कृतिलाई गोर्खा समाजको इतिहास र समकालीन चेतनाबीचको महत्वपूर्ण दस्तावेजका रूपमा लिन सकिन्छ।
इतिहास केवल पानामा लेखेर मात्र सुरक्षित हुँदैन; त्यसलाई पढ्ने, बुझ्ने, आत्मसात् गर्ने र नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। Shillong Gorkha Association ले आफ्नो १४०औँ स्थापना दिवसको ऐतिहासिक अवसरमा यस महत्वपूर्ण कृतिको विमोचनमार्फत इतिहास संरक्षण र पुस्तान्तरणप्रतिको आफ्नो जिम्मेवारीबोध प्रस्तुत गरेको छ।
साहित्यकार विक्रमवीर थापाको यस सिर्जनालाई पाठकमाझ पुर्याउनु केवल एउटा पुस्तक प्रकाशन गर्नु मात्र नभई गोर्खा समाजको इतिहास, संघर्ष, स्मृति र अस्मितासँग सम्बन्धित महत्वपूर्ण सामग्रीलाई अभिलेखीकरण गर्ने प्रयाससमेत हो। यो कृतिले वर्तमान पुस्तालाई आफ्नो विगत बुझ्न र भावी पुस्तालाई आफ्नो इतिहाससँग जोडिन महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गर्न सकिन्छ।