मोबाइल नबनोस् लत
निबन्ध
मोबाइल नबनोस् लत
✍️ टीका आत्रेय,इटहरी
प्यारा भाइ बहिनीहरू, आज मोबाइलको कुरा गरौं ल ! यो
कुराचाहिँ सामान्य गफगाफ जस्तै हो तर यसको यही कुराकानीमा नै हामी मोबाइलका सामाजिक र मनोवैज्ञानिक असरका कुरा पनि गछौं। त्यही भएर मैले आजको विषय 'मोबाइलको लत' भनेर लिएको हो है । यो विषय सबै उमेरका मानिसहरूका लागि उत्तिकै महत्त्वपूर्ण छ अझ तपाईंहरूका लागि झन् विशेष छ ।
हामी निरन्तर विकासको चाहना राख्छौं । त्यस्तो कुरा मानवीय स्वभाव नै हो र यो जरुरी पनि छ । मानिसले गरेको विकासको एक शक्तिशाली आविष्कार हो मोबाइल । मोबाइल आफैँ त के हो र ? त्यसमा हुने मोबाइल एप्लिकेसनले मोबाइललाई विशेष बनाएको हो । यसमा आवश्यक र अनावश्यक दुबै खाले कार्यक्रमहरू हुन्छन् । हामीले सकारात्मक कार्यक्रममात्र चलाउनु पर्दछ ।
मोबाइल धेरै ठुलो शक्ति हो होइन त ? यसले यति ठुलो संसारलाई जोडेर साँघुरो बनाइसकेको छ । विश्वको पल्लो कुनामा रहनुभएका आफन्तसँग हामी घरमा नै बसी बसी भिडियोमा कुरा गरिरहेका हुन्छौं । संसारको जुनसुकै कुनामा घटेको घटना होस् , हामी क्षणभरमै थाहा पाउछौं । अहिले त मोबाइलबाट नै पनि पढाइ भइरहेको हुन्छ जसलाई 'अनलाइन शिक्षा' भनिन्छ ।
हाम्रा हजुरआमाहरू जसले पढ्न पाउनुभएन उहाँहरूसमेत मोबाइलमा आफन्तको आइडी खोजेर आफ्ना सन्तान तथा आफन्तसँग कुरा गर्ने भइसक्नुभएको छ । अहिले त मोबाइल बैकिङ सेवाले गर्दा हामी कतै टाढा जाँदा वा बजारमा सामान खिरद गर्दासमेत गोजीभरि पैसा बोकेर हिँड्नु पर्दैन । हेर्नु त कति सजिलो भएको छ हाम्रो संसार होइन त ! यी सबै कुरा हामी ठुला मान्छेभन्दा छिटो र धेरै तपाईंहरू नै जान्नुहुन्छ ।
यति धेरै फाइदा दिने मोबाइलका धेरै नै बेफाइदाहरू पनि छन् नि तपाईंले याद गर्नुभएको छ ? उमेरका हिसाबले अहिले तपाइँको धेरै कुरा सिक्ने उमेर हो । ज्ञान-विज्ञानका कुरा, खेलकुदका कुरा, समाजमा घुलमिल हुनुपर्ने कुरा, व्यवहारिक सीप, कति हो कति काम सिक्ने बेला हो नि यो तपाईंहरूको ।
आफूले जे काम गर्नुपर्ने हो त्यही कामलाई प्राथमिकता दिनुपर्छ। यो कुरा तपाईं आफैँलाई पनि थाहा छ । यति धेरै कुराहरू सिक्नका लागि त समय पनि धेरै चाहिन्छ तर हाम्रो यो अमूल्य समय मोबाइलले खायो भने !
मोबाइलमा लत बस्यो भने मोबाइलले ठुलो हानी गर्छ । धेरै मानिसहरू मोबाइलमा गेम खेल्छन् र समयको बर्बाद गर्छन् । कति त अझ जुवातास र अझ त्योभन्दा पनि डरलाग्दा पैसाको कारोबार हुने हामीले नसुनेका बाजी खेलहरू पनि खेल्छन् । कोही कोही मान्छेले त यस्तो खेल खेलेर आफ्नो भएभरको सम्पत्ति पनि सकेका छन् । यस्ता कुरा सुन्दा मात्रै पनि डर लाग्छ होइन त ।
मोबाइलको दुरूपयोग भयो भने यसले त मान्छेको अन्त्य पनि गरिदिन्छ । यस्ता उदाहरण हामीले सुन्दै आएका पनि छौँ ।कतिले अरूलाई मार्छन् कति चैं आफू नै मर्छन् । आखिर मोबाइलको लतमा के हुन्छ त्यस्तो जसको अधिक प्रयोगले समाजलाई हानी मात्रै गर्छ ? हामीले त हाम्रो समाजलाई सफा र सङ्लो पो बनाउनुपर्छ होइन र ?
हेर्नू न भाइबहिनी, म पनि मोबाइल त चलाउँछु नि चलाउन त तर सकेसम्म दुरूपयोग नगरुँ भन्ने लाग्छ । मैले पढ्नुपर्ने कति सामग्रीहरू छिटो गरी मोबाइलमा नै प्राप्त हुन्छन् । मलाई कार्यक्रममा जानुपर्ने निमन्त्रणा त्यसमै हुन्छ । नयाँ नयाँ खबर त्यसमै आइरहन्छन् । त्यतिमात्र होइन नि आफू सहभागी भएको कार्यक्रमहरूको बारेमा जानकारी पनि त्यसैमार्फत दिन सजिलो हुन्छ । त्यसैकारण म पनि यसभन्दा टाढा चैं छुइनँ तर दुरूपयोग
गरेकी छैन भन्ने मात्र हो ।
अब तपाइँलाई लाग्ला 'लत' भनेको चाहिँ के होला ? लत भनेको नि कुनै पनि कुराको नसा हो वा गरिरहुँ जस्तो लाग्ने बानी हो । आफूमा मोबाइलको लत छ कि छैन भनेर आफैँले जाँच्ने तरिका
पनि छन् । जस्तैः- तपाईं बिहानै उठेपछि मोबाइलमा के म्यासेज आयो ? वा क-कसले के के गरे ? वा अरू कुनै जिज्ञासाले मोबाइल छोइहाल्नुहुन्छ वा मोबाइल अन गर्नु हुन्छ कि हुन्न ? चिया खाएको समयमा, खाना खाएको वा खाजा खाएको समयमा एकछिन त हो नि' भनेर मोबाइल हेर्नुहुन्छ कि हेर्नुहुन्न ? गृहकार्य गर्न बसेको बेलामा अल्छी लाग्यो भन्दै मोबाइल फुत्त तान्नुहुन्छ कि तान्नुहुन्न ?अझ त्यो भन्दा बढी दिसापिसाब गर्न वा नुहाउनसमेत बाथरूम पस्दा तपाइँले मोबाइल लाने गरेको छ कि छैन ? राति गृहकार्य सकियो भन्दै रातिसम्म मोबाइलमा बस्ने गरेको छ कि छैन ? घरमा कोही पाहुना आउँदा तपाइँ पाहुनासँग कति बोल्नुहुन्छ ? त्यो बेलामा मोबाइल चलाउनु हुन्छ कि चलाउनु हुन्न ? आफू पाहुना भएर गएको ठाउँमा आफन्तहरूसँग गफ नगरी वाइफाईको पासवर्ड माग्नुभएको छ कि छैन ? बुबा आमाले 'मोबाइल नचलाऊ' भन्दा रिस उठ्छ कि उठ्दैन ? तपाइँ च्याटमा कस्ता मान्छेहरूसँग बस्नुहुन्छ ? यिनै कुराले हामी आफूमा मोबाइलको लत भए नभएको आफैँ जाँच गर्न सक्छौं । तपाइँलाई हरहमेसा मोबाइल चलाइरहुँजस्तो लाग्छ भने मोबाइलको लत लागेको रहेछ भनेर बुझ्नुपर्छ र त्यस्तो बानीबाट टाढा हुन थाल्नुपर्छ ।
मोबाइलका यस्ता लतहरूबाट हुने कतिपय बेफाइदाहरूमाथि पनि बुझिसक्यौं । यसको लतबाट हुने स्वास्थ्यसँग सम्बन्धित दीर्घकालीन असरहरू पनि धेरै छन् । हुन त म डाक्टर हाइन तर
कति कुराहरू त अनुभवबाट पनि थाहा हुँदोरहेछ । मोबाइलमा लगातार उज्यालो प्रकाश हेरिरहनाले आँखाको ज्योतिमा असर पुऱ्याउँछ, हाम्रा आँखा समयभन्दा अघि नै कमजोर हुँदै जान्छन् ।
अर्को कुरा मोबाइल त निहुरिएर हेरिन्छ नि होइन त ? त्यसो गर्दा पछाडि गर्धन र मेरूदण्डमा असर पुऱ्याउँछ । मोबाइल हेर्दा हामी आँखा कम झिम्क्याउँछौँ जसले गर्दा हाम्रो आँखाको ढक्कनमा पनि समस्या आउँछ ।
सबैभन्दा ठुलो असर त मान्छेको मानसिक स्वास्थ्यमा पुयाउँछ मोबाइलको लतले । नजानिँदो रूपले यसको लतले हामीलाई डिप्रेसनको सिकार बनाइरहेको हुन्छ । त्यसैले आजबाटै हामी मोबाइलको सदुपयोग मात्र गरौं, दुरूपयोग गर्दै नगरौं । अनि आफ्ना साथीहरू, बुबाआमा, दिदीबहिनी, दाजुभाइ सबैलाई पनि मोबाइलको लतबारे कुरा गरौँ है ।
अझै मोबाइलका कुरा त कति छन् कति नि तर यो छोटो समयमा धेरै कुरा गर्नै भ्याइएन । पछि फेरि गरौंला नि । अन्तमा मेरा कुरा राम्ररी पढ्नुभएकोमा तपाइँलाई धेरै धेरै धन्यवाद । तपाईंहरू कति ज्ञानी हुनुहुन्छ, मलाई तपाईंजस्तै ज्ञानी मान्छे मनपर्छ ।आजलाई यति नै ल |
तपाईंहरू असल भएको हेर्न चाहने दिदी, टीका आत्रेय ।
©