दसैँ फेरि आयो

✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे · कार्तिक ९, २०८३ ६:५९ PM
Cover Image for News

कथा
 दसैँ फेरि आयो

डा. कमला तामाङ 

घरको आँगनमा मखमली र सयपत्री फुलेका थिए। बजारमा मानिसहरूको भीड़ थियो। पसलहरू रङ्गीचङ्गी बत्तीले झिलिमिली थिए। गाउँभरि चाँड़पर्वको रौनक छाएको थियो। तर उसको मनभित्र भने एउटा अनौठो सन्नाटा थियो।
 झ्यालबाट बाहिर हेर्दै ऊ एक्लै टोलाइरहेकी थिई। कुनै बेला यही दसैँ उसका लागि संसारकै सबैभन्दा सुन्दर चाँड़ हुन्थ्यो। दसैँ आउनुभन्दा धेरै दिन अघिदेखि घरमा चहलपहल सुरु हुन्थ्यो। आमाले घर लिपपोत गर्थिन्। भान्साबाट मीठामीठा परिकारको बास्ना आउँथ्यो। बुबा बजारबाट उसका लागि नयाँ लुगा र रातो टीका किनेर ल्याउनुहुन्थ्यो। 

'मेरी छोरीलाई यसपालि कस्तो रङको लुगा मन पर्छ ?'
 बुबाको यो प्रश्न सुन्नासाथ ऊ खुसीले उफ्रिन्थी।
 'रातो ! मलाई रातो रङकै लुगा चाहिन्छ !' 

आमा हाँस्दै भन्नुहुन्थ्यो, 'हेर न, यसको रोजाइ पनि कस्तो ! रातो लुगा, रातै टीका, रातै चुरा !'
 'मेरी छोरीलाई जे मन पर्छ, त्यही ल्याइदिन्छु,' बुबा गर्वसाथ भन्नुहुन्थ्यो।
 त्यतिबेला घर सानो थियो, तर खुसी अटिनसक्नु ठूलो थियो। 

दसैँको दिन बिहानै आमाले नुहाइधुवाइ गरेर उसको कपाल कोरिदिनुहुन्थ्यो। निधारभरि रातो टीका लगाइदिँदै कानमा बिस्तारै भन्नुहुन्थ्यो, 'मेरी छोरीको निधार सधैँ यसरी नै रातो र उज्यालो रहोस्। जीवनमा कहिल्यै दुःख नपरोस्।'
 ऊ आमाको काखमा लुटपुटिन्थी। 

बुबा छेउमै बसेर मुस्कुराउनुहुन्थ्यो।
 'आमाको आशीर्वाद पाएपछि मेरी छोरीलाई केको डर !' 

त्यो घरमा हाँसो थियो, माया थियो, गुनासो थियो, झगड़ा थियो। तर सबैभन्दा ठूलो कुरा, त्यहाँ आमा-बुबा हुनुहुन्थ्यो। 

समय बित्दै गयो। छोरी हुर्की। आफ्नो घरजम गरी। जिम्मेवारीका लामा बाटाहरूमा हिँड़्न थाली। तर हरेक चाँड़पर्वमा माइती फर्किने उसको मनको चाहना कहिल्यै घटेन। 

आमा-बुबा छउन्जेल माइती केवल एउटा घर थिएन, त्यो उसको संसार थियो।
 तर एक दिन त्यो संसार भत्कियो। 

पहिले बुबा जानुभयो। 

बुबाको पार्थिव शरीर आँगनमा राखिएको थियो। घरभरि आफन्तहरूको भीड़ थियो। सबैका आँखामा आँसु थिए। ऊ बुबाको चिसिँदै गएको हात समातेर रोइरहेकी थिई। 

'बुबा, एकपटक बोल्नुस् न! तपाईंलाई भेट्न म अझै धेरैपटक आउन बाँकी छ। तपाईंले मेरा लागि अझै कति कुरा गर्न बाँकी छ!' 

तर बुबा मौन रहनुभयो।
 त्यस दिनदेखि दसैँको रौनकमा एउटा आवाज हरायो। केही वर्षपछि आमाले पनि संसार छाड़्नुभयो। 

आमाको अन्तिम क्षणमा ऊ आमाको सिरानीनिर बसेकी थिई। आमाले काँपिरहेको हातले उसको गाला मुसार्न खोज्नुभयो। ओंठहरू थरथराए, तर शब्द निस्केनन्। 

उसले आमाको हात दुवै हातले समातेर छातीमा टाँसी।
 'आमा, मलाई छाडे़र नजानुस्। म अझै पनि तपाईंकी सानी छोरी नै त हुँ। मलाई अझै तपाईंको काख चाहिन्छ।'
 आमाको आँखाको कुनाबाट एउटा थोपा आँसु झर्‍यो। त्यही अन्तिम आँसु थियो कि सायद छोरीको जीवनमा बाँकी रहेको बालापनको अन्तिम बूँद।
 आमाले आँखा चिम्लिनुभयो।
 त्यस दिन उसको माइतीघरको ढोका उस्तै थियो, आँगन उस्तै थियो, तुलसीको मठ उस्तै थियो। तर त्यहाँ उसलाई पर्खेर बस्ने कोही थिएन। 

वर्षहरू बिते।
 फेरि दसैँ आयो। फेरि तिहार आयो। फेरि घरघरमा दियो बल्न थाले। दिदीबहिनीहरू दसैँका लागि माइती जाने तयारी गर्न थाले। सामाजिक सञ्जालमा रातो टीका, जमरा र हाँसिरहेका परिवारका तस्बिरहरू देखिन थाले। 

ऊ पनि मुस्कुराएको अनुहार बनाउँथी। अरूलाई शुभकामना दिन्थी। आफ्ना सन्तानका लागि मिठा परिकार बनाउँथी। घरको पूजाकोठामा दियो बाल्थी।
 तर ऐना अगाड़ि उभिँदा उसको नजर अनायासै आफ्नै निधारमा पुग्थ्यो। 

त्यहाँ सिउँदोको सिन्दूर थियो, आँखामा गाजल थियो, ओंठमा मुस्कान थियो। तर आमाको हातले लगाइदिने त्यो रातो टीका थिएन। 

कति वर्ष भइसकेछ!
 आमाले अन्तिमपटक टीका लगाइदिएको दिनदेखि उसको निधारमा त्यो ममताको स्पर्श परेको थिएन।
 उसले दराज खोली। पुरानो रुमालभित्र आमाले वर्षौँअघि राखिदिनुभएको सानो रातो टीकाको डब्बा थियो। डब्बाको रङ उड़िसकेको थियो। भित्र अलिकति टीका अझै बाँकी थियो। 

उसले काँपिरहेको हातले डब्बा खोली।
 टीकालाई औँलामा लिई।
 तर निधारमा लगाउन सकिन।
 आँसुका दुई थोपा डब्बाभित्रै खसे। 

'आमा! तपाईं हुँदा हरेक वर्ष मेरो निधार रातो हुन्थ्यो। तपाईंले लगाइदिनुभएको टीकाले मेरो भाग्य चम्किन्छ भन्ने लाग्थ्यो। आज सबैथोक छ, आमा - घर छ, परिवार छ, सन्तान छन्, चाँडपर्व छन्। तर मेरो निधार किन यति खाली लाग्छ ?' 

उसको आवाज आफ्नै छातीभित्र ठोक्किएर फर्कियो।
 त्यसैबेला फोनको घण्टी बज्यो।
 उताबाट भाइको आवाज आयो, 'दिदी, दसैँमा घर आउँछ्यौ नि ?' 

ऊ केहीबेर मौन रही। 

'कुन घर, भाइ ?'
 'हाम्रो त्यही पुरानो घर नि!'
 उसको घाँटी अवरुद्ध भयो। 

'घर त छ भाइ, तर अब त्यहाँ आमा छैनन्, बुबा हुनुहुन्न। म जाँदा कसले ढोकाबाट हेरेर भन्छ
 • मेरी छोरी आई ? कसले भान्साबाट निस्केर मलाई अँगालो हाल्छ ? कसले मेरो निधारमा टीका लगाएर दीर्घायुको आशीर्वाद दिन्छ ?' 

उताबाट पनि सन्नाटा छायो।
 केहीबेरपछि भाइ रुँदै बोल्यो, 'दिदी, मलाई पनि त्यही घर घरजस्तो लाग्न छाडे़को छ। पहिले तिमी आउँदा आँगनै उज्यालो हुन्थ्यो। अहिले हामी दुवै जना जाँदा पनि घर सुनसान लाग्छ।'
 दिदीले फोन छातीमा टाँसी। 

त्यो रात दिदी र भाइ दुवै आ-आफ्ना घरमा रोइरहे। भोलिपल्ट बिहान ऊ एक्लै माइती पुगी। 

आँगनमा पाइला टेक्नेबित्तिकै उसका खुट्टा रोकिए। कुनै बेला आमाले रोप्नुभएको सयपत्रीको बोट अझै फुलेको थियो। बुबाले बनाइदिनुभएको काठको बेन्च पनि त्यहीँ थियो। भित्तामा झुन्डिएका पुराना तस्बिरमा आमा-बुबा मुस्कुराइरहनुभएको थियो। 

ऊ तस्बिरको अगाड़ि गएर उभी। 

'बुबा, आमा ! हेर्नुस् न, म आएँ। तपाईंहरूकी छोरी आएँ। यसपालि पनि रातो लुगा लगाएर आएकी छु। तपाईंहरूलाई मन पर्ने मिठाई पनि ल्याएकी छु। तर तपाईंहरू किन बोल्नुहुन्न ?' 

उसले तस्बिरको धुलो पुछी।
 त्यसपछि आमाको पुरानो चौकीमा बसेर धेरै बेर रोइरही।
 साँझ पर्दै थियो। घर फर्किनुअघि उसले आमाको तस्बिरमा रहेको रातो टीकालाई बिस्तारै छोई र आफ्नै निधारमा लगाई। 

ऐनामा हेर्दा उसको निधार रातो थियो।
 तर त्यो रातो रङसँगै आँसु पनि बगिरहेका थिए।
 'आमा, आज आफ्नै हातले टीका लगाएँ। तर तपाईंको हातको न्यानोपन कहाँबाट ल्याऊँ ? बुबाको आशीर्वाद कहाँ खोजूँ ?' 

उसले तस्बिरलाई निधारमा टाँसी।
 त्यो दिन उसले एउटा कुरा बुझी - मानिस ठूलो हुँदैमा आमा-बुबाको अभाव सहन सक्ने हुँदैन रहेछ। आफ्नै सन्तानका लागि संसार बन्न सक्ने मान्छे पनि आमा-बुबाको सम्झनामा फेरि सानो बच्चा बनेर रुन सक्दो रहेछ। 

चाँड़पर्व हरेक वर्ष फर्किएर आउँछन्। नयाँ लुगा फेरिन्छन्, घरका रङ फेरिन्छन्, समय फेरिन्छ। तर आमा-बुबाले लगाइदिएको एउटा टीका, निधारमा राखिदिएको एउटा हात र 'मेरी छोरी' भनेर बोलाएको एउटा स्वर कहिल्यै फर्केर आउँदैन। 

त्यसैले आज पनि दसैँ आउँदा ऊ सबैलाई टीका लगाइदिन्छे, सबैलाई आशीर्वाद दिन्छे, सबैका निधार रातो बनाइदिन्छे।
 तर राति ऐनामा आफ्नो निधार हेर्दा उसको मनले एउटै प्रश्न गर्छ - 

'आमा-बुबा हुँदा हरेक वर्ष रातो हुने मेरो निधार, उहाँहरू गएपछि किन सधैँ खाली रह्यो ?'
 र त्यस प्रश्नको उत्तरमा उसका आँखाबाट फेरि दुई थोपा आँसु झर्छन्।
 किनकि केही रिक्तता निधारमा देखिँदैनन्, तर जीवनभरि मनमा बोकेर हिँड़्नुपर्छ। 

आमा-बुबा गुमाएपछि सन्तान अनाथ उमेरले हुँदैन, मनले हुन्छ। 

मिरिक, दार्जीलिङ
 भारत

ट्यागहरू:
कथा साहित्य ##
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
आमाको खोजी
आमाको खोजी
डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - आइतबार २७ सेप्टेम्बर २०२६
गाता च्यातिएको पुस्तक
गाता च्यातिएको पुस्तक
दिलिप घिमिरे - मङ्गलबार ५ नोभेम्बर २०२४
पार्वतीको व्रतकथा–शंकरको व्यथा
पार्वतीको व्रतकथा–शंकरको व्यथा
कृष्ण सुवेदी 'निराकार' पोष्ट - खगिन्द्रा खुसी - बुधबार ४ सेप्टेम्बर २०२४
कर्माको पहिलो स्कुल
कर्माको पहिलो स्कुल
मिश्र वैजयन्ती पोष्ट-दिलिप घिमिरे - बिहिबार २२ अगष्ट २०२४