आमाको खोजी

डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे · असोज ११, २०८३ ११:३७ AM
Cover Image for News

आमाको खोजी
कथा
डा. कमला तामाङ
 
भाद्र दस गतेको बिहान अरू बिहानभन्दा फरक थिएन ।
पहाडको काखमा घाम बिस्तारै उक्लिँदै थियो । रातभर परेको वर्षाले बाटाघाटा भिजेका थिए । घरका छानाबाट पानीका थोपा अझै चुहिरहेका थिए । भोटेकोशी आफ्नै वेगमा बगिरहेकी थिइन् र टाढाबाट हेर्दा उनको छालमा बिहानको घाम टल्किरहेको थियो । त्रिशूली पनि पहाडका घुम्तीहरू छिचोल्दै आफ्नै यात्रामा थियो ।

नदीकिनारका बस्तीमा जीवन सामान्य थियो ।
कसैको घरमा चुलो बलिरहेको थियो । कसैको आँगनमा गाईबस्तु बाँधिँदै थिए । नानीहरू विद्यालय जाने तयारीमा थिए । महिलाहरू घरधन्दामा व्यस्त थिए । पुरुषहरू आफ्नो कामतिर निस्कने हतारमा थिए ।
त्यही बस्तीको एउटा सानो घरमा सात वर्षको आरव आमाको काखमा टाउको राखेर पल्टिरहेको थियो ।
“आरव, उठ बाबु” आमाले उसको कपाल मुसार्दै भनिन्, “विद्यालय जाने बेला भयो ।”
 आरवले आँखा खोल्दै नखोली भन्यो, “आज जाँदिनँ ।”
 “किन नि ?”
 “आज तिमीसँगै बस्छु ।”
 आमा मुसुक्क हाँसिन् ।
 “म त यहीँ हुन्छु नि । तिमी विद्यालय गएर फर्किहाल्छौ ।”
 “पक्का ?”
 “पक्का ।”
 आमाले उसको निधारमा चुम्बन गरिन् ।
 त्यो क्षण कति सामान्य थियो !
 तर जीवनका केही सामान्य क्षणहरू नै पछि गएर सबैभन्दा असामान्य स्मृति बन्छन् ।
 आरवलाई के थाहा–
त्यो बिहान आमाले दिएको आश्वासन उसको जीवनको सबैभन्दा गहिरो सम्झना बन्नेछ ।
 दिउँसो आकाशको रङ अचानक बदलियो ।
 पहाडमाथि कालो बादल मडारिन थाले । पानीको धार बाक्लिँदै गयो । केही बेरमै आकाश र धरतीबीचको दूरी नै मेटिएजस्तो भयो ।
 वर्षा रोकिएन ।

भोटेकोशीको स्वर बदलियो ।
पहिले नदी बोल्थिन्, त्यसपछि गर्जिन थालिन् ।
मानिसहरू घरबाहिर निस्केर नदीतिर हेर्न थाले ।
“पानी धेरै बढेछ !”
“सबैजना सुरक्षित ठाउँतिर जाऔँ !”
“बच्चाहरूलाई पहिला निकाल !”
एकाएक गाउँमा त्रास फैलियो ।
आरवले झ्यालबाट बाहिर हेर्दै सोध्यो, “आमा, नदी किन यति ठूलो आवाज गर्दैछ ?”
आमाले उसको हात समातिन् ।
“डराउनु पर्दैन बाबु ।”
तर आमाको आफ्नै स्वरमा भने डर मिसिएको थियो । केही क्षणपछि बाहिरबाट ठूलो आवाज आयो–
धडाम् !
घरको पछाडकिो पर्खाल भत्कियो ।
माटो, ढुङ्गा र पानी एकैपटक घरभित्र पस्यो ।
“आरव !”
आमाले छोरालाई अँगालो हालिन् ।
“मेरो हात नछोड है !”
आरवले आमाको हात दह्रिलोसँग समात्यो ।
तर प्रकृतिको त्यो उन्मत्त वेगसँग मानिसको बल कति कमजोर हुँदो रहेछ ! अर्को भीषण भेल आयो । आमाको हात फुत्कियो । आरव चिच्यायो–
 “आमा !”
 आमाको स्वर कतैबाट आयो–
 “भाग बाबु… माथितिर जा…!”
 त्यसपछि सबै आवाजहरू एकैपटक हराए ।
 जब आरवले आँखा खोल्यो, ऊ एउटा अपरिचित मानिसको काखमा थियो । उसको शरीर काँपिरहेको थियो । उसले वरिपरि हे¥यो । आमा थिइनन् । घर थिएन । आँगन थिएन । उसको संसार थिएन । उसले काखमा बोकेका मानिसलाई सोध्यो–
 “अंकल… मेरी आमा कहाँ हुनुहुन्छ ?” ती मानिस केही बोल्न सकेनन् ।
 आरवले फेरि सोध्यो–
 “मेरी आमा कहाँ हुनुहुन्छ ?” यसपटक पनि मौनता । उसले भीडतिर हेर्न थाल्यो । एकपछि अर्को अनुहार नियाल्यो ।
 “आमा !”
 उसको आवाज नदीको गर्जनमा हरायो । उसले फेरि करायो–
 “आमा !”
 तर उत्तरमा आयो केवल त्रिशूलीको गर्जन ।
 उद्धार टोली रात नपर्दै बस्तीमा आइपुगेको थियो । डोरी, लाइफ ज्याकेट, टर्च र आवश्यक सामग्रीसहित उनीहरू पानीको वेगसँग जुधिरहेका थिए । कुनै घरको छानोमा मानिस अड्किएका थिए । कुनै रूखमा वृद्धहरू सहारा खोजिरहेका थिए । कतै भग्नावशेषमुनिबाट बच्चाको रुवाइ सुनिन्थ्यो । उद्धारकर्मीहरू एकपछि अर्को जोखिम उठाउँदै अघि बढिरहेका थिए।

“पानी अझै बढ्दैछ,” एकजनाले भन्यो ।
अर्कोले उत्तर दियो, “तर त्यहाँ मानिसहरू छन् ।”
“आफ्नो ज्यानको पनि ख्याल गर ।”
“आफ्नो ज्यान बचाएर मात्र अरूको ज्यान बचाउन सकिँदैन ।” उसले डोरी कम्मरमा बाँध्यो र उर्लिरहेको पानीतिर अघि बढ्यो। त्यो दिन उनीहरूको लागि कामको दिन थिएन । त्यो दिन उनीहरूको अग्निपरीक्षा थियो ।

आरवलाई उद्धार गर्ने युवकको नाम विवेक थियो । उसले आरवलाई सुरक्षित स्थानमा पु¥याएर सोध्यो–
 “तिम्रो नाम के हो ?”
 “आरव ।”
 “बुबा कहाँ हुनुहुन्छ ?”
 आरवले टाउको हल्लायो ।
 “थाहा छैन ।”
 “आमा ?”
 आरव केही क्षण चुप लाग्यो । त्यसपछि उसको आँखाबाट आँसु झ¥यो ।
 “आमा हराउनुभयो ।”
 विवेकले उसको काँधमा हात राख्यो ।
 “हामी खोज्छौँ।”
 “साँच्चै ?”
 “साँच्चै।”
 “भेटिन्छिन् ?”
विवेकको मुखबाट तुरुन्त शब्द निस्किएन । उसले केवल यति भन्यो–
“हामी खोज्न छोड्दैनौँ ।” आरवले विवेकको हात समात्यो । सायद उसलाई त्यो हातमा आमाको हातको न्यानोपनको केही अंश भेटिएको थियो ।
रात पर्यो । अस्थायी शिविरमा मानिसहरू जम्मा भए । कसैको घर थिएन । कसैको ओत थिएन । कसैको परिवार अधुरो थियो । कुनै महिला श्रीमानको नाम पुकार्दै थिइन् । कुनै वृद्ध आफ्ना छोराहरूको खोजीमा थिए । एउटी आमाले छाती पिट्दै भनिरहेकी थिइन्–
 “मेरो छोरा कहाँ गयो ?”
 कसैले उनलाई समातेर बसायो । शिविरमा दुःखका आवाजहरू थिए । तर ती आवाजहरूभन्दा गहिरो थियो– मौनता । आरव कम्बलभित्र गुटमुटिएर बसिरहेको थियो ।
 उसले विवेकलाई सोध्यो–
 “अंकल, नदीले मेरी आमा पनि लग्यो ?”
 विवेक केहीबेर मौन रह्यो ।
 “हामीलाई थाहा छैन बाबु ।”
 “तर आमा त पौडी खेल्न जान्नुहुन्न ।” विवेकको मुटु चसक्क भयो ।

उसले आरवलाई अँगालो हाल्यो ।
“हामी फेरि खोज्छौँ ।”
“भोलि ?”
“हो ।”
“म पनि जान्छु ।”
“तिमी यतै बस ।”
“तर मलाई आमा खोज्नु छ ।”
विवेकले उसको आँखामा हेर्यो । त्यो आँखामा डरभन्दा ठूलो केही थियो–
आशा । भोलिपल्ट खोजी सुरु भयो ।
भोटेकोशी केही शान्त भएको थियो तर भग्नावशेषको संसार झन् भयावह देखिन्थ्यो । कुनै ठाउँमा घरको जग मात्र बाँकी थियो । कतै भित्तामा टाँसिएको परिवारको तस्बिर हिलोले छोपिएको थियो । कतै भाँडाकुँडा र खेलौनाहरू छरिएका थिए । विवेकले एउटा सानो रातो जुत्ता उठायो । उसले केहीबेर त्यसलाई हातमा हेरिरह्यो । कति ठूलो विनाश ! मानिसले वर्षौँ लगाएर बनाएको घर एकै निमेषमा माटो भयो ।

तर उद्धारकर्मीहरू थाकेनन् । उनीहरू ढुङ्गा पन्छाउँथे। माटो खन्थे। नाम पुकार्थे र हरेक मौनताभित्र जीवनको सम्भावना खोज्थे ।
कसैले भन्यो–
“यहाँ केही छैन ।” विवेकले टाउको हल्लायो ।
“अझै एकपटक हेरौँ ।”
“धेरै समय भइसक्यो ।”
“जब तक आशा छ, खोजी रोकिँदैन ।”
तेस्रो दिनको साँझ विवेकले एउटा भग्न घरको छेउमा रातो कपडाको टुक्रा देख्यो । उसको हात रोकियो । त्यो रङ उसलाई परिचित लाग्यो । उसले माटो पन्छायो । अलिक पर एउटा महिला अर्धचेत अवस्थामा थिइन् ।

“यहाँ मान्छे छ !” सबैजना दौडिए।
नाडी चलिरहेको थियो ।
“जीवित छिन् !” विवेकको मुटु जोडले धड्कियो। उसले महिलाको अनुहार हे¥यो । त्यसपछि उसको मनमा एउटा मात्र अनुहार आयो– आरव ।
“आरव !”
विवेक शिविरतिर दौडियो । आरव उठेर उसको अगाडी आयो ।
“के भयो अंकल ?“ विवेकले केही भनेन ।
उसले हातमा समातेको रातो कपडा आरवलाई देखायो । बालकको आँखाहरू फैलिएका थिए ।
“यो… आमाको हो !” ऊ दौडियो ।
स्ट्रेचरको छेउमा पुगेर केही क्षण स्तब्ध भएर उभियो। त्यसपछि उसको ओठ काँपे–
“आमा…?” महिलाले बिस्तारै आँखा खोलिन् । ओठहरू हल्का हल्लिए ।
“आरव…”
त्यो एउटा शब्दले तीन दिनको अन्धकार चिरिदियो। आरव आमामाथि झम्टियो ।
“आमा !”
आमाले कमजोर हातले छोरालाई अँगालिन् । दुवै रोए । वरिपरि उभिएका उद्धारकर्मीहरू पनि चुपचाप आफ्ना आँसु पुछिरहेका थिए । विवेकले अनुहार अर्कोतिर फर्कायो 

कहिलेकाहीँ उद्धारकर्मीले बचाउने जीवन केवल अर्कोको हुँदैन– त्यसले आफ्नै मानवतालाई पनि बचाइरहेको हुन्छ । तर सबै कथा आरवको जस्तो थिएन । धेरै आमाहरू फर्किएनन् । धेरै बाबुहरू कहिल्यै भेटिएनन् । धेरै बालबालिकाका आँखामा “आमा कहाँ छिन् ?” भन्ने प्रश्न सधैँका लागि बस्यो । बस्तीमा चुलो बल्न समय लाग्यो । शोकले घरहरू घेरेर बस्यो । तर जीवनको एउटा अद्भुत स्वभाव हुन्छ– ऊ रोएर पनि अगाडि बढ्छ । कसैले बाँस ल्यायो। कसैले टिन । कसैले खाद्यान्न। कसैले औषधि । कसैले आफ्नो घरमा ठाउँ दिए ।

उद्धारकर्मीहरू पनि फर्किए । यसपटक उनीहरू हातमा डोरी मात्र लिएर आएका थिएनन् । उनीहरूसँग नक्सा थियो, औजार थिए, योजना थिया र सबैभन्दा ठूलो कुरा, फेरि उठ्ने विश्वास थियो ।
महिनौँपछि बस्ती फेरि बिस्तारै बदलिन थाल्यो । भग्नावशेष पन्छिए। नयाँ घरका जग खनिए । बच्चाहरूले फेरि विद्यालय जान थाले। आँगनमा फेरि तुलसी रोपियो । कुनै घरबाट बिहानको धुवाँ उठ्न थाल्यो र एउटा दिन आरव पनि हातमा सानो खुर्पी लिएर नयाँ घरको जग खन्न आमालाई सघाउँदै थियो ।
 उसले अचानक सोध्यो–
 “आमा !”
 “के भयो ?”
 “हाम्रो घर फेरि बन्छ नि ?”
 “बन्छ ।”
 “ठूलो बनाउने ?”
 “ठूलो ।”
 “नदीले फेरि बगायो भने ?”
आमा केही क्षण मौन भइन् । उनले छोराको टाउकोमा हात राखिन् ।
“नदीलाई रोक्न सकिँदैन बाबु । तर हामीले आफूलाई तयार पार्न सक्छौँ । घर ढल्यो भने फेरि बनाउन सक्छौँ । जीवनमा दुःख आयो भने फेरि उठ्न सक्छौँ ।”
 आरवले माटोको एक मुट्ठी उठायो ।
 “म पनि बनाउँछु ।” आमाले मुस्कुराइन् ।
 “तिमीले घर मात्र होइन, भविष्य बनाउनुपर्छ ।”
 वर्षौँपछि आरव ठूलो भयो । उसले आफ्नो गाउँ छोडेन । उसले विपत्तिमा उद्धार गर्ने काम सिक्यो । एक दिन उसले नयाँ पुस्ताका युवाहरूलाई तालिम दिँदै गर्दा भोटेकोशीको किनारमा उभिएर नदीतिर हे¥यो । नदी शान्त थिइन् । तर उसलाई त्यो शान्त सतहभित्र भाद्र दसको गर्जन अझै सुनिन्थ्यो । उसले आँखाहरू बन्द ग¥यो ।

एउटा सानो बालकको आवाज फेरि उसको मनमा गुञ्जियो–
“आमा कहाँ छिन् ?”
उसले आँखा खोल्यो । अगाडि नयाँ घरहरू थिए। विद्यालय थियो । बालबालिकाको हाँसो थियो । नदीमाथि नयाँ पुल बन्दै थियो । उसले मुस्कुराउँदै भन्यो– “आमा यहीँ छिन् ।” साथीहरूले आश्चर्य मान्दै उसलाई हेरे ।
 आरवले नदीतिर देखायो ।
 “जहाँ कसैले डुबिरहेको हात समाउँछिन्, जहाँ कसैले अपरिचितका लागि आफ्नो ज्यान जोखिममा राख्छ, जहाँ भग्न घरबाट फेरि एउटा घर उठ्छ, जहाँ आँसुबाट आशा जन्मिन्छ– आमा त्यहीँ छिन् ।”

भोटेकोशी बगिरहेकी थिइन् । त्रिशूली पनि । समय पनि बगिरहेको थियो । तर मानिसले एउटा कुरा सिकिसकेको थियो– नदीले घर बगाउन सक्छ तर घर बनाउने सपना बगाउन सक्दैन । बाढीले जीवनलाई घाइते बनाउन सक्छ तर बाँच्ने इच्छाशक्तिलाई हराउन सक्दैन । र, मृत्युले कति नै अँध्यारो फैलाए पनि– कुनै न कुनै किनारमा मानवताको एउटा हात अझै बढिरहेकै हुन्छ । त्यही हात समातेर मानिस फेरि उठ्छ । फेरि हिँड्छ । फेरि घर बनाउँछ । फेरि सपना देख्छ । किनकि जीवनलाई जति ठूलो भेलले बगाउन खोजे पनि मानिसभित्रको आशा कहिल्यै बग्दैन ।

                        ©                           मिरिक, दार्जीलिङ,भारत ।(चित्र-हिम्मत नेम्बाङ)

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गाता च्यातिएको पुस्तक
गाता च्यातिएको पुस्तक
दिलिप घिमिरे - मङ्गलबार ५ नोभेम्बर २०२४
पार्वतीको व्रतकथा–शंकरको व्यथा
पार्वतीको व्रतकथा–शंकरको व्यथा
कृष्ण सुवेदी 'निराकार' पोष्ट - खगिन्द्रा खुसी - बुधबार ४ सेप्टेम्बर २०२४
कर्माको पहिलो स्कुल
कर्माको पहिलो स्कुल
मिश्र वैजयन्ती पोष्ट-दिलिप घिमिरे - बिहिबार २२ अगष्ट २०२४
बालकथ- शत्रु
बालकथ- शत्रु
नन्दलाल आचार्य पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १३ अगष्ट २०२४