तिमी बदलिएपछि

सुष्मा दाहाल पोष्ट - खगिन्द्रा खुसी · कार्तिक ४, २०८१ ७:५६ AM
Cover Image for News

 तिमी बदलिएपछि 
यस्तो लाग्छ ,
बिर्सियो सगरमाथाले पनि
आफ्नै शिर माथिको आकाश !
मृत सागरले पनि भुल्यो आफ्नो गहिराइ
उच्च हिमालका चुलीहरू
मुर्झाउँन थाले  खिन्न मन लिएर
सन्ध्याकालीन रंगिन बादलहरूले 
हराउँन थाले आफ्ना रंग
तिमी बिनाका हरेक  बिहानहरू
ओइलाउन थाले शिशिर यामका 
कोमल  कुसुम पत्रहरु जस्तै ।

तिमी बदलिएपछि 
जूनको उज्यालो पनि 
धूमिल धूमिल टीठलाग्दो  लाग्छ 
रातका ताराहरू गहिरो मौनता बोकेर
सुस्ताइरहे जस्तो लाग्छ
चिसो बतासले कानमा फुसफुसाउँदै
भनेजस्तो लाग्छ ;
कसैको पर्खाइमा आफ्नै अन्त्य हुने 
कस्तो कहर दियो तिमीलाई नियतिले ।

तिमी बदलिएपछि
फूलहरू बगैंचामा सुवास नछर्दै 
ओइलाउने 
बहाना खोजिरहेछन् 
र पातहरूले पनि हरियालीलाई 
परित्याग गरि उजाडपन अंगाले झैं देख्छु 
लाग्छ नदीहरूका तेज बहावमा 
थकान मिसिएको छ
उस्तै थकित छन् छाल र किनाराहरु पनि   ।

तिमी बदलिएपछि
चराहरूले  हराएकाछन् आफ्ना 
प्रिय गीतहरु
बेखबर छन् प्रेयसीका प्रेमिल सम्झनाहरु
भुलेकाछन् आफ्नै बसेरा पनि 
लाग्छ निलो आकाश पनि लतपतिएकोछ
अनिश्चितता र विश्मयका उदास रंगहरुले
धर्तीका सुन्दर छटाहरुमा छाएकोछ 
निराशाको अँध्यारो ।

तिमी बदलिएपछि 
गुमाउँन थालेकाछन् मेरा हरेक 
शब्दहरूले गहिरो हृदयस्पर्शी अर्थ
कविताहरू बिस्मृतिका पानामा
थचक्क  थन्किएकाछन् चुपचाप 
मौनताले पिरोलेकोछ,सन्नाटा छाएकोछ चारैतिर 
समेट्नै नसक्ने गरि भौँतारिएको छ
मेरो मनको बाटो
तिम्रै सम्झनाहरूको भूलभुलैयामा
हरघडी बिचरण गरिरहेछन् मेरा सपना 
हराइरहेछ्न् मेरा विपनाहरु ।

तिमी बदलिएपछि 
बिहान उर्जा लिएर खुलेको छैन क्षितिज 
हरेक रातिहरु  दुःस्वप्नजस्तै बनेकाछन्
मानौं कि म उभिएको धर्ती भासिंदैछ अचानक 
बढेको बढ्यै छ तिमी र मबीचको
दुरीको फासला दिन दुगुना रात चौगुना ।

तर, 
तिमी बदलिए पनि 
यो मन बदलिन मान्दैन किन हो
तिम्रो प्रतीक्षामा  प्रेम दीपहरु  
जलाइरहन्छु भन्छ अविराम
तिमीलाई नौलो गन्तव्यमा  कुनै 
असहजता मिले
यिनै प्रदिप्त प्रेम दीपले बाटो देखाउँनेछन्
र त म  हिजो भन्दा आज अझै भरोसा गर्छु 
अझै प्रेम गर्छु बदलिएको तिमी र तिम्रो प्रतिबद्धतालाई।
सुष्मा दाहाल ✍️

ट्यागहरू:
सहित्य कविता literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
यो देशलाई सुधारूँ
यो देशलाई सुधारूँ
छन्दमणि त्रिपाठी पोष्ट-खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४
बुवाको पुकार
बुवाको पुकार
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १८ अक्टोबर २०२४
दशैैं विशेष कविता
दशैैं विशेष कविता
पोष्ट खगिन्द्रा खुसी - शनिबार १२ अक्टोबर २०२४
नारीहरूप्रति
नारीहरूप्रति
खोलाघरे साहिँलो पोष्ट खगिन्द्रा खुसी - शुक्रबार ११ अक्टोबर २०२४