स्रष्टा सन्तोषी पाण्डेको ‘सुमेरण’ कविताकृति लोकार्पण
झापा ८ बैशाख/स्रष्टा सन्तोषी पाण्डेको पहिलो कविताकृति ‘सुमेरण’ सोमबार लोकार्पण गरिएको छ ।
साहित्यिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा मञ्चासिन विशिष्ट व्यक्तिहरूबाट सामूहिक रूपमा कविताकृतिको लोकार्पण गरिएको हो।कार्यक्रम समालोचक प्रमोद प्रधान,शारदा मासिकका सम्पादक कवि विमल भौकाजी,कवि सन्तोषीकी माताश्री देउसदा पाण्डे,दाजु पवनजङ्ग पाण्डे, भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुली लगायतको मञ्चमा उपस्थिति रहेको थियो।
कृति सार्वजनिक गर्दै साहित्यकार प्रमोद प्रधानले साहित्य र संस्कृतिलाई जोगाउनै पनि नयाँ पुस्ता साहित्यिक क्षेत्रमा जोडिँदै जानुपर्ने बताए ।
उनले कवि सन्तोषीलाई नेपाली साहित्यमा प्रवेश गरेकोमा बधाई दिँदै कविका कविताहरूमा अनुभूतिको तीव्रता रहेको उल्लेख गरे।प्रधानले भने, “पाण्डे सम्भावना भएकी कवि हुन्।उनको पहिलो पाइला हो।तथापि,उनले अझै साधना गर्दै जानुपर्छ ।”
कृतिका सम्पादक विमल भौकाजीले कवि सन्तोषीका कविताहरूले छोएकोले नै उनको कृतिसम्पादनको जिम्मेवारी आफूले लिएको बताए ।
सभाका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कृति सम्पादनलाई महत्वकासाथ हेरिनुपर्नेमा जोड दिँदै कुनै पनि कृतिको राम्रो सम्पादन भएमा विश्व बजारमा जानसक्ने विश्वास व्यक्त गरे ।
कृतिकार पाण्डेले आफ्नो लेखनकर्मबारे बताउँदै पुस्तकमा समेटिएका कविता आफ्नो जीवनका भावना र अनुभूतिहरू भएको उल्लेख गरिन् ।
कविताकृतिका प्रकाशक भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुलीले आफ्नो शुभकामना मन्तव्यमा पहिलो कृति भए पनि पठनीय भएकोले प्रकाशन गरिएको बताउँदै प्रकाशनको जिम्मेवारी पाएकोमा आभार प्रकट गर्दै धन्यवाद दिएका थिए।
अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको सो कार्यक्रम सुभाषचन्द्र पौडेल 'भीमफेदीया'ले सञ्चालन गरेका थिए।