आरुबारीमा ९९ औँ विकल जयन्ती सम्पन्न
२६ कात्तिक, झापा । रमेश विकल साहित्य प्रतिष्ठानको प्राङ्गण आरुबारीमा ९९ औँ विकल जयन्ती आयोजना गरिएको छ ।
विकल चोक, आरुबारीमा अवस्थित रमेश विकलको अर्ध कदको प्रतिमामा माल्यार्पण लगत्तै रमेश विकल साहित्य प्रतिष्ठान भवन पुगेर संक्षिप्त स्मृति सभाको आयोजना सम्पन्न भएको थियो ।
सभाको प्रमुख अतिथिका हैसियतमा बोल्दै गोकर्णेश्वर नगर पालिकाका नगर प्रमुख दिपक कुमार रिसालले लेखकले समाज केलाउँछ, कृति छोड्छ, सरकारले ती सम्पत्तिहरूलाई अभिलेखीकरण गर्न सघाउँछ भन्दै विकलको योगदान तथा उहाँसँगको निकटता बारे चर्चा गर्नु भयो ।
काठमाडौँ उत्तर पूर्वी भेगका साहित्यकार, प्राध्यापक, समाजसेवी तथा स्थानीयको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाले विकलका ५२ कृति र छरिएका फुटकर रचनाहरू समेत समेटेर रमेश विकल समग्र खण्ड अन्तर्गत ७ खण्डमा सम्पूर्ण कृति र रचनाको एकीकृत अभिलेखीकरण गर्ने महत्त्वाकाङ्क्षी योजनाको अन्तिम ग्रन्थमा पुगेको समेत जानकारी दिनुभयो ।
महाकवि लक्ष्मी प्रसाद देवकोटा र रमेश विकलको तस्बिरमा माल्यार्पण गर्दै शुरु भएको उक्त सभाका प्रमुख वक्ता भाषा आयोगका सदस्य मातृका पोखरेलले समाजका भुइँमान्छे र तिनीहरूका उत्पीडनलाई केन्द्र बिन्दुमा राखेर प्रगतिशील लेखनमा विशिष्ट उँचाइ कायम गर्न रमेश विकल सफल रहनुभएको बताउनु भयो । साथै प्रगतिशील लेखक सङ्घले यस वर्षबाट शक्ति लम्सालको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट कीर्तिशेष विकललाई अर्पण गरिन लागेको समाचार समेत अवगत गराउनु भयो ।
कात्तिक २४ गते मङ्गलबार सम्पन्न भएको उक्त कार्यक्रमका सभापति रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्यले विकलसँगको कला क्षेत्रको सामीप्य, उक्त प्रतिष्ठानको संस्थापना कालदेखिको योगदान र विकलका बहु प्रतिभाको स्मरण गर्दै उपस्थित सम्पूर्ण समुदायलाई आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष शाम्बकुमार चालिसे र सञ्चालन आलोक चालिसेको रहेको थियो ।