साहित्य चौतारीले खेल्य दक्षिणारहित द्यौसी
२४, कात्तिक झापा । साहित्य चौतारी झापाले दक्षिणाारहित द्यौसी खेलेको छ । वि.सं २०५८ देखि चौतारीले प्रत्येक वर्षको तिहारमा संस्कार र संस्कृति मनाउँदै यसरी नै दक्षिणाारहित द्यौसी खेल्दै आएको छ ।
गोबर्दन पूजाको दिन बिर्तामोड मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसरमा दक्षिणारहित सामुहिक सडक देउसी खेलिँदै आएको परम्परालाई निरन्तरता दिँदै यस पटक पनि बिर्तामोड स्थित साहित्य चौतारीको काव्य प्राङ्गणबाट दक्षिणारहित सामुहिक सडक देउसी शुरू गरेर बिर्तामोड नगर परिक्रमा गरिएको अध्यक्ष श्रेष्ठले बताए। साहित्य चौतारी बिर्तामोड झापा नेपालले यस वर्ष २६ औं सामूहिक दक्षिणारहित सडक देउसी, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ , लोकगीत सम्राट एलपी जोशीको ९० औं जन्म जयन्ती, संस्थापक/सल्लाहकार सरोज ओलीको दोस्रो स्मृतिदिवस,नेपाल सम्वत ११४७ शुभारम्भ र म्ह् पूजा तथा तिहार समेतको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता, सप्तॠषि गुरुकुलम् सत्यधामका संस्थापक अध्यक्ष आचार्य होमनाथ खनालको प्रमुख आतिथ्य तङसंस्थाका अभिनन्दित ब्यक्तित्व बरिष्ठ गायक तथा संगीतकार डा.टीका भण्डारीको बिशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले स्वागतसहित साहित्य चौतारीको स्वागत गान प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि खनालले व्यानर पढेर दीप प्रज्वलन गरी सप्तॠषि गुरुकुलम् सत्यधामका बटुकहरूले स्वस्ती बाचनसहित उद्घाटन गरेको कार्यक्रममा प्रमुख अतिथी खनाल, विशेष अतिथि भण्डारीले ‘देउसिरे’ भट्याएर दक्षिणारहित देउसी भैलो कार्यक्रमको शुभारम्भ गरेका थिए । नेपाली मौलिक भेषभूषा र नौमती बाजागाजासहित साहित्य चौतारी झापाका अध्यक्ष श्रेष्ठसहित पदाधिकारी, प्रमुख अतिथि खनाल, बिशेष अतिथि भण्डारी , आर्ट स्टुडियो महिला नौमती बाजा समूह, होटल हिकोला हेरिटेज परिवार, विभिन्न संस्थाका पदाधिकारी , सञ्चारकर्मी लगायतको टोलीले बिर्तामोड नगर परिक्रमा गरेको थियो। कार्यक्रममा साहित्यकार लीलाप्रसाद अधिकारीले संस्थाको रजत कृति विशेषाङ्कको चर्चा गरेका थिए । कार्यक्रममा विशेष अतिथि भण्डारी, निवर्तमान अध्यक्ष हस्त परियार, सप्तक संगीत विद्यालयका संस्थापक सरोज वत्सलगायतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृति गीत प्रस्तुत गरेका थिए भने संस्थाका सल्लाहकार लोकगायक अनिरुद्र ओलीले लोकगीत सम्राट एलपी जोशीको स्मृतिमा गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि खनालले तिहारको विविध पक्ष र यसको महत्वबारे प्रकाश पारेका थिए।
कार्यक्रमका विशेष अतिथि भण्डारीले साहित्य चौतारी झापाले दक्षिणारहित सामूहिक सडक देउसी खेलेर मौलिक संस्कृतिको जर्गेना गरेको बताउँदै यसलाई निरन्तरता दिँदै झापाभर सञ्चालन गर्नुपर्ने जनाए। कार्यक्रममा संस्थाका सल्लाहकार हरिनारायण भट्टराईले लक्ष्मीप्रसाद देवकोटा सम्बन्धी कविता र पंडित प्रकाश गौतमलगायतले तिहार सम्वन्धी कविता प्रस्तुत गरेका थिए।
मानार्थ सल्लाहकार लोकनाथ पौड्याल सहित अन्य महानुभावले देउसी भट्याएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए