स्रष्टा पदयात्रा नेपालको वार्षिकोत्सब २०८३ तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न
झापा १४ बैशाख/जोरपाटीमा स्रष्टा पदयात्रा नेपालको वार्षिकोत्सब-२०८३ तथा पुस्तक लोकार्पण कार्यक्रम आइतबार सम्पन्न भएको छ।
स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरिको अध्यक्षता एवम् गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्य रहेको थियो।भैरव स्मृति भवन,नयाँ वस्तीमा आयोजित कार्यक्रमको विशेष अतिथि उपप्रमुख सान्नानी लामा हुनुहुन्थ्यो ।
अध्यक्षबाट नगरप्रमुखलाई दोसल्ला र मायाको चिनो प्रदान गरेर सम्मान अर्पण गरेपछि अध्यक्षले स्रष्टा पदयात्रामा गरिल्याएका र अब गर्न सकिने कामहरूबारे जानकारी दिनुभयो।२०७३ साल मङ्सिरदेखि क्रियाशील स्रष्टा पदयात्रा नेपालले अहिलेसम्म अनेक ठाउँहरू भ्रमण गरेको र अब वाग्मती सभ्यताबारे अध्ययन गर्न वाग्द्वारदेखि कटुवाल दहसम्मको भ्रमण लगायतका आगामी योजनाका कार्यक्रमहरूबारे बताउँदै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुभयो।
यसपछि स्रष्टा पदयात्राका सदस्यहरू तथा यसमा विशेष भूमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरूलाई सम्मान तथा मायाको चिनो अर्पण गरिएको थियो।जसमा जय छाङ्छा,लीलाराज दाहाल माधवलाल श्रेष्ठ,शशी थापा पण्डित,लीलाराज दाहाल,उद्धव रायमाझी,महेन्द्र चालिसे,रुबी सत्याल,खोलाघरे साहिँलो,सान्नानी लामा हुनुहुन्थ्यो।
कार्यक्रममा स्रष्टा पदयात्रीहरूद्वारा लिखित खोजमूलक पुस्तक `धार्मिक पर्यटनको केन्द्र गोकर्णेश्वर´विमोचन गरिएको थियो ।
मन्तव्यको क्रममा-गोविन्द घिमिरे वेदमणिले- पदयात्राको क्रममा छोटा रचना वाचन गर्नु उचित हुने,तत्काल लेखन र स्थलगत लेखन गर्न सके कवित्त्वको विकास हुने सल्लाह दिनुभयो।
प्रमुख अतिथि रिसालले प्रकाशित पुस्तक एउटा इतिहास बन्छ,अभिलेख बन्छ भन्दै गोकर्णेश्वर मन्दिरको पुनर्निर्माण,अन्य मन्दिरहरूको समेत जीर्णोद्धारको प्रसङ्ग ल्याउनुभयो र यो पुस्तकमा अनुसन्धानात्मक लेख लेखेर गोकर्णेश्वर नपालाई चिनाउनुहुने सबै स्रष्टालाई हार्दिक धन्यवाद दिनुभयो।
महासचिव गङ्गाप्रसाद भेटवालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।