झापा नाटक घरमा ‘बसाइँ’ नाटकको सिजन–२ सुरु हुने
दर्शकको माग र विद्यालयहरूको अग्रिम बुकिङपछि झापा नाटक घरमा ‘बसाइँ’ नाटकको सिजन–२ पनि सुरु हुने भएको छ ।
बहुजातीय सांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण सहयोगार्थ क्षितिज नाट्य प्रतिष्ठान नेपालद्वारा निर्मित झापा नाटक घरमा मञ्चन भइरहेको चर्चित नाटक ‘बसाइँ’ दर्शकको उत्साहजनक सहभागिता र मागका कारण पुनः मंसिर ७ देखि मञ्चन हुने भएको हो ।

क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा नाटकका निर्माण परिकल्पनाकार माधव कल्पितले दर्शकको उल्लेखनीय उपस्थिति, विद्यालयहरूको चासो र अग्रिम बुकिङका कारण पुनः मञ्चन गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार नाटकमार्फत झापा नाटक घर निर्माण तथा बहुजातीय सांस्कृतिक संग्रहालय स्थापनाको अभियानलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


नाटक अवलोकनका लागि आम दर्शकलाई २०० रुपैयाँ र विद्यार्थीलाई १०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। हालसम्म १५ वटा विद्यालयले नाटक अवलोकनका लागि अग्रिम बुकिङ गरिसकेको अध्यक्ष कल्पितले जानकारी दिनुभयो।
झापा नाटक घरलाई पूर्णता दिने तथा बहुजातीय सांस्कृतिक संग्रहालय निर्माण गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको यस अभियानमा नाटक ‘बसाइँ’ केवल मनोरञ्जनको माध्यम मात्र नभई कला, साहित्य, संस्कृति र सामाजिक रूपान्तरणको साझा अभियानसमेत बनेको छ।
मञ्चन अवधि : मंसिर ७ देखि १६ गतेसम्म
स्थान : झापा नाटक घर, झापा।